घटना कैलालीमा, मुचुल्का कोहलपुरको «

घटना कैलालीमा, मुचुल्का कोहलपुरको

बाँके-जिल्ला अदालत बाँकेमा दर्ता भएको वैवाहिक बलात्कारको मुद्दामा प्रहरीले घटनास्थल परिवर्तन गरी फसाउन खोजेको आरोप लागेको छ । वैवाहिक बलात्कार, कुटपिट र अंङ्गभंगसम्बन्धी एक मुद्दामा प्रहरीले झुठो मुचुल्का तयार गरी घटनास्थल नै परिवर्तन गरेको हो ।
पीडित परिवारले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी कैलालीमा भएको भनिएको घटनालाई प्रहरीले बाँकेको कोहलपुरमा भएको नक्कली मुचुल्का तयार पारी निर्दोश छोरालाई फसाउन खोजेको भन्दै बुवा रेशम बहादुर मल्लले आपत्ति जनाएका हुन् । “घटनावारे बुझ्न प्रहरी अहिलेसम्म पनि हाम्रो घरमा पुगेको छैन,” उनले भने, “तर, कैलालीमा भएको भनिएको घटनालाई कोहलपुरमा हाम्रो घरमा भएको भनी झुठो मुचुल्का तयार पारीएको छ ।”
उनका अनुसार घरपरिवारलाई थाहै नदिएर भागेर विवाह गरेका छोरा बुहारी कैलाली धनगढी–१३ स्थित राजपुरमा कपडा पसल गरेर बस्दै आएका थिए । अघिल्लो पतिलाई त्यागेर बसेकी महिलालाई छोराले लिएपछि आफूहरूले नराम्रो मानेको र सोही कारणले बिहे गरेदेखि हालसम्म घरमा कहिल्यै उनीहरू आएका थिएनन् । उनले भने, “छोराको भनाइअनुसार धनगढी–१३ स्थित राजपुरमा बुहारी छतबाट खसेर चोटपटक लागेपछि छोराले से ज ९४६ नम्वरको हाइसमा रिजर्भ गरी औषधी उपचारका लागि निसर्ग अस्पताल धनगढी ल्याएका थिए ।” त्यहाँ सन्चो नभएपछि थप उपचारका लागि वेस्र्टन अस्पताल नेपालगञ्जमा ल्याएर उपचार गरेको थियो । उक्त कुरा अस्पतालको पर्चा लगायत कागजातवाट पनी थाहा हुने पीडितका बुवा मल्लले बताए ।
तर, गत असार १३ गते बुहारीले इलाका प्रहरी कार्यालय, कोहलपुरमा वैवाहिक बलात्कार र कुटपिट अङ्गभंगको जाहेरी दिइन् । वैशाख ८ गतेको धनगढीमा भएको भनिएको घटनाको ६५ दिनपछि श्रीमानविरुद्ध जाहेरी दिएको देखिन्छ । “जाहेरी १३ गते दिएपनि प्रहरीले असार ९ गते कोहलपुरस्थित हाम्रो घरको घटनास्थल मुचुल्का गराएको रहेछ,” बुवा रेशमले भने, “त्यो दिन हामी घरमै छौ, प्रहरी यहाँ नआएरै झुटा बारदातस्थल कायम गरेको छ ।” त्यसको लागि साक्षी राख्दा घरनजिकैका छिमेकीलाई राख्नुपर्नेमा घरभन्दा टाढाका व्यक्तिलाई राखिएको उनको भनाइ छ ।
सो मुद्दामा जिल्ला अदालत बाँकेले साउन १५ गते थुनछेकको आदेश दिई छोरालाई कारागार पठाएको उनले बताए । अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै बुवाले आदेश बदर गरी तारेखमा राखी पाउँ भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा निवेदन दर्ता गरेको बताए ।
पत्रकार सम्मेलनमा उनले धनगढीमा राजपुरस्थित कोठाको छतबाट बुहारी खसेको विषयलाई लिएर जाहेरीवाला र इलाका प्रहरी कार्यालय कोहलपुरको मिलेमतोमा झुठा बारदातस्थल देखाई आफ्नो निर्दोष छोरालाई फसाउने अन्यायपूर्ण प्रपञ्च रचेकोले न्यायका लागि सहयोग गर्न आग्रह गरेका छन् । यो घटनासँग सम्बन्धित सत्यतथ्य उपचार गरेको अस्पतालको कागजात, गाडी रिजर्भ गरेको बिल भरपाई आफूसँग सुरक्षित रहेकोले सत्यतथ्य अनुसन्धान गर्न उनले सरोकारवालाहरुसँग माग गरेका छन् । उनले निर्दोश व्यक्तिलाई झुटो विवरण बनाई जबरजस्ती फसाउन खोज्ने प्रहरीलाई कारबाहीको मागका लागि समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्