जनकपुर राजधानी कायम गर्ने विषय पेचिलो बन्दै «

जनकपुर राजधानी कायम गर्ने विषय पेचिलो बन्दै

प्रदेश–२ को राजधानी र नामाकरणमा सकस

वीरगन्ज-प्रदेश नं. २ मा सरकार बनेको १८ महिना भइसक्दा पनि अहिलेसम्म प्रदेशको नामाकरण र राजधानीको विषय टुंगो लाग्न सकेको छैन । २०७४ फागुन १६ र ०७५ साउन ९ गते गरी दुईपटक प्रदेश नं. २ मा मुख्यमन्त्री लगायत मन्त्री र राज्यमन्त्री गरी १३ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको छ ।
१०७ जना प्रदेशसभा सदस्यहरू छन् । तर, प्रदेशको राजधानी र नामाकरणमा भने अहिलेसम्म कसैको प्राथामिकतामा परेको छैन । प्रदेशको नीति निर्माणका लागि चुनिएर गएका प्रदेशसभा सदस्यहरू राजनीतिक दल र कार्यकर्ताको स्वार्थमा मात्रै व्यस्त हुँदा प्रदेशसभाबाट अहिलेसम्म प्रदेशको राजधानी र नाम टुंगो लाग्न नसकेको हो । सात वटा प्रदेशको टुंगो लागेपछि जनकपुरलाई अस्थायी मुकाम तोकेर अभ्यास गरिएको प्रादेशिक संरचनामा स्थायी राजधानी र नामका लागि भने अहिलेसम्म प्रदेशसभा बैठकमा विषयले प्रवेश पाउन सकेको छैन ।
केही दिन यता भने राजधानी बनाउने दुईतिहाई सहमति नजिक रहेको र आइतबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने अभिव्यक्ति प्रदेश २ का जिम्मेवार व्यक्तिहरूले सञ्चारमाध्यमहरूमा दिएपछि जनकपुरलाई प्रदेश २ को स्थायीय राजधानी बनाउने विषय थप पेचिलो बन्दै गएको छ । प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै आन्दोलन गरेकाहरूले वीरगन्जलाई राजधानी नबनाए बारा पर्साबाट मुख्यमन्त्री, सभामुख र मन्त्री बनेकाहरूले राजीनामा दिनुपर्ने माग नै गर्न थालेपछि राजधानीको मुद्दा थप पेचिलो बन्दै गएको हो । वीरगन्जलाई प्रदेशको राजधानी नबनाउने षड्यन्त्रले नै बारा र पर्सामा मुख्यमन्त्री, सभामुख र मन्त्री पदको लोभ दिएर जनकपुरलाई राजधानी बनाउन खोजेको भन्दै जनकपुरलाई राजधानी बनाउने षड्यन्त्रको भागीदार नबन्न आग्रह गर्दै राजीनामाको माग आएको हो ।
वीरगन्ज राजधानी संघर्ष समितिका सदस्य एवं नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले जनकपुरलाई राजधानी बनाउने षड्यन्त्र भए पर्सा र बाराबाट मुख्यमन्त्री, सभामुख र मन्त्री भएकाहरूले राजीनामा दिएर वीरगन्जलाई राजधानी बनाउने आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । नेता सिंहले वीरगन्जलाई राजधानी बनाउन नसके पदमा बसिरहनुको औचित्य पनि समाप्त हुने बताए । उनले वीरगन्जलाई राजधानी बनाउन असहयोग गरे त्यसको जवाफ यहाँका जनताले दिने चेतावनी दिए ।
वीरगन्जलाई प्रदेशको राजधानी बनाउँछु भनेर जनतालाई आश्वासन देखाएर उनीहरूले दिएको मतले नै जितेर गएका नेताहरू अहिले वीरगन्जलाई राजधानी बनाउनुपर्ने मागमा उदासिन देखिएको बताउँदै जनपुरलाई राजधानी बनाउने निर्णय भए त्यसको सशक्त विरोध गर्ने बताए । उनले राजधानी र नामाकरणको विषयमा टुंगो लगाउन आइतबारदेखि छलफल शुरु हुने जानकारी पाएको बताउँदै जनकपुरलाई नै राजधानी कायम गरे त्यसको सशक्त विरोध गर्ने र जस्तोसुकै आन्दोलनका लागि पनि आपूm तयार रहेको बताए ।
संघीय संरचना निर्माणका क्रममा सात प्रदेशमा विभाजन गरिएपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनकपुरलाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । त्यस समयमा गृहमन्त्री विमलेन्द्र निधि थिए । राजधानी बनाउन नेपाली कांग्रेसकै प्रभावशाली नेता विमलेन्द्र निधिको भूमिका रहेको छ नि ! भन्ने प्रश्नमा महासमिति सदस्य समेत रहेका नेता सिंहले निर्वाचनमा हारेको मान्छेले जनताको भावना जित्नलाई त्यसो गरेको हुनसक्ने तर राजधानी बनाउन पाउने अधिकार भने उहाँमा नरहेको टिप्पणी गरे ।
राजधानी टुंगो लगाउने जिम्मा प्रदेशसभालाई मात्रै रहेकोले प्रदेशसभामा बारा, पर्सा र रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्यहरू जुनसुकै पार्टीको भएपनि एकजुट हुन आवश्यक रहेको औंल्याए । वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले जनकपुरलाई नै राजधानी बनाउन प्रदेशसभा संसदमा सहमति जुटेको हो भने त्यस्को घोर विरोध गर्ने बताएका छन् । पूर्व मन्त्री समेत रहेका मन्त्री चौधरीले वीरगन्ज प्रदेशको राजधानीका लागि उपयुक्त स्थान भएकोले वीरगन्ज नै राजधानी हुनुपर्छ भन्ने आपूmहरूको अडान कायम रहेको बताए । उनले पूर्वका मैथलीभाषी सांसदहरू र मधेसवादी भनाउँदा पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र महतो जनकपुरमा नै राजधानी बनाउनुपर्छ भन्ने पक्षमा देखिएको भन्दै मधेसी जनतालाई उनीहरूले धोका दिएको आरोप लगाए ।
उनले भने, “मधेस आन्दोलनको नाममा ६ महिना वीरगन्ज नाका बन्द गराएर सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति वीरगन्जले व्यहोरेको छ । तर राजधानी भने जनकपुर बनाउने हो भने पर्साका जनतालाई धोका हुन्छ ।” संघीयताको सीमांकनमा आपूm चुरे सहितको २ नम्बर प्रदेशको पक्षमा पहिलेदेखि नै लागेको र त्यसको खाका समेत तयार गरेर बुझाएको जानकारी दिँदै पूर्व मन्त्री चौधरीले तत्कालिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता राजेन्द्र महतोको नश्लवादी चिन्तनले मधेसमा चुरेलाई मिसाउन नहुने तर्क गरेर मधेसलाई आठ जिल्लामा मात्रै सीमित बनाएको बताए ।
पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्मको भागलाई समग्र मधेस बनाउने अभियानबाट पछि हटेर ८ जिल्लामा मात्रै सीमित गरेर मधेसी जनतालाई नै भ्रममा राखेको नेता सुरेन्द्र चौधरीको भनाइ थियो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाकी प्रदेशसभा सदस्य बेची लुंगेलीले राजधानीको विषयमा छलफल चल्नु राम्रो भएपनि यसमा उपयुक्त स्थानमा नै राजधानी बनाउनुपर्ने बताइन् । उनले जनकपुर र वीरगन्जको सम्भावना र महत्व उत्तिकै भएपनि सबैको लागि मान्य हुने स्थानलाई नै राजधानी बनाउँदा उपयुक्त हुने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्