विश्वास ढकाल बने बेस्ट म्यानेजर अफ दि इयर

युवा उद्यमी विश्वास ढकाल यस वर्षको बेस्ट म्यानेजर अफ दि इयर भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट ढकाललाई प्रदान गरेको हो । म्यानले हरेक वर्ष बेस्ट म्यानेजर अफ दि इयर अवार्ड दिने गर्छ ।
ढकालको नेतृत्वमा सन् २००४ देखि एफवान सफ्टले सूचना प्रविधिको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको भन्दै म्यानले पछिल्लो पाँच वर्षयता एफवान सफ्टले मोबाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम, डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे ई–सेवामार्फत वित्तीय सेवा प्रविधि भिœयाउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएको पनि जनाएको छ । हाल एफवान सफ्टमा २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।
यस्तै, म्यानले प्रदान गर्ने आउटस्टान्डिङ म्यानेजर अवार्ड यस वर्ष नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राप्त गरेकी छिन् । नेपाल व्यवस्थापन संघको ३७औं वार्षिक साधारणसभाको अवसरमा उनीहरूलाई पुरस्कृत गरिएको थियो । साभारण सभामा आफनो मन्तव्य राख्दै भावि प्रधानमन्त्रीका रूपमा हेरिएका केपी शर्मा ओलिले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौं न त भन्ने समय नरहेको बताए । लगानीको निमित्त विभिन्न ढोका चाहनुपर्ने बाध्यताका कारण नेपालका लगानीकर्ता अन्यन्त्र पलायन भएका हुनाले अब त्यस्ता गुनासा आउन नदिने पनि बताए ।
ओलीले अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको भन्दै नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आर्थिक संरचना र संगठनको निर्माण, पूर्वाधार क्षेत्रमा गुणस्तर, जिम्मेवारीप्रति निष्ठा, विज्ञताको प्रयोग र निजी क्षेत्रबाट आवश्यक सहयोग भएमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कुनै चुनौती खडा हुन नसक्ने बताए भने पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालको आर्थिक र सामाजिक धरातललाई विश्लेषण गर्दा ज्यादै चिन्तित र निकै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए ।
यस्तै, नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट र उपाध्यक्ष राजेन्द्र पण्डितले संघीयता कार्यान्वयनसँगै सबै किसिमको व्यवस्थापन गर्न सहज हुने धारणा व्यक्त गरेका थिए ।