कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग «

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

काठमाडौं– हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले प्रदान गरेको उक्त रकम अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न र अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने बताइएको छ । अस्पतालमा आयोजित एक समारोहमा उक्त रकम प्रदान गर्ने सहमति भएको छ । सो समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर राणाले अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई प्रतिबद्धता पत्र प्रदान गरेका थिए ।

सो अवसरमा अस्पतालका निर्देशक डा. युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहलगायत बैंकका र अस्पतालका अन्य कर्मचारीको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतमा पनि सहयोग गर्दै आएको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्