स्मार्टफोन ट्रेन्ड : क्यामरामै जोड «

स्मार्टफोन ट्रेन्ड : क्यामरामै जोड

कुनै बेला फेसनको रुपमा लिइने स्मार्टफोन अहिले आवश्यकता बनिसकेको छ । यद्यपि आवश्यकता र विलासिताको बीचमा स्मार्टफोन उत्पादनको बजार अगाडि बढिरहेको छ । प्रविधिको विकासको केन्द्रीय प्राथमिकतामा स्मार्टफोनले लिने स्थान भने प्राथमिकताको पहिलो लाइनमै छ । विश्व बजारमा विकसित सूचना प्रविधिको हिरो नै भने पनि हुन्छ, स्मार्टफोनलाई । फिचर फोनबाट स्मार्टफोन र स्मार्टफोनबाट फ्ल्यागशीप तथा प्रिमियम फोनसम्म विकास भइरहँदा स्मार्टफोनमा सबैभन्दा खोजिएको र प्राथमिकता दिएको विषयको केन्द्रमा भने क्यामरा नै देखिएको छ ।
सन् २०१९ का सुरुदेखि विश्वका स्मार्टफोन निर्माता ब्रान्डहरूले नयाँ नयाँ सिरिजका उत्पादनहरू बजारमा ल्याएका छन् भने थप ल्याउनका लागि पाइलाइनमा छन् । यो वर्षकै ट्रेन्ड हेर्ने हो भने स्मार्टफोनको ¥याम, स्टोरेज क्षमता, ब्याट्रि, डिजाइन, कलर र स्क्रीन रिज्योलुसनमा थप सुधारिएका फोनहरू सार्वजनिक भइसकेका छन् । सार्वजनिक भइसकेका र चलेका प्रमुख ब्राण्डहरूले अबका दिनमा बजारमा ल्याउने फोनहरूसमेतको सूचनाहरू हेर्दा आगामी दिनमा अरु फिचरसँगै क्यामरालाई प्राथमिकता दिइएको पाइन्छ । यसो त कलर, डिजाइन, स्क्रीन क्वालिटी र क्यामरा प्लेसमेन्ट लगाएतका विषयमा पनि स्मार्टफोन उत्पादकमा अझै प्रतिस्पर्धा चलिरहको देखिन्छ नै । सबै फिचरहरूमा क्यामरा फिचर नै किन र कसरी प्राथमिकतामा राखिएको छ भन्ने विषयलाई यो सामग्रीमा समेट्न खोजिएको छ ।
बजारमा आइसकेका र आउन तयारी अवस्थामा भनिएका स्मार्टफोनहरूले स्मार्टफोनमा क्यामरा प्लेसमेन्टको डिजाइनको ट्रेन्ड करिब करिब स्थापित गरिसकेको देखिन्छ । जस अनुसार रियर क्यामरामा तीन वटा क्यामरा राख्ने विषय धेरै कम्पनीको प्राथमिकतामा परेको पाइन्छ भने तीन क्यामरा प्लेसमेन्टमा ठाडो र चारकुनै दुई वटा मोडेल स्थापित भएका छन् । कम्पनी अनुसार कसैको बीचमा र कसैको बाँयातिर क्यामरा सेटअप राखिएका छन् ।
हालै सार्वजनिक भएको सामसङको नोट १० सिरिजका रियर क्यामराको प्लेसमेन्ट ह्वावेको पी ३० सिरिजसँग धेरै मिल्दो देखिन्छ भने एप्पलको अक्टोबारमा बजारमा ल्याइँदै गरेको आइफोनका सिरिजहरूमा रहेको स्मार्टफोन १० सिरिजमा रहेको क्यामरा प्लेसमेन्ट यसअघि नै बजारमा चर्चा कमाइसकेको ह्वावेकै मेट २० प्रोसँग मिल्दो छ । फ्रन्ट क्यामरामा नोच र पपअपको ट्रेन्ड छ । विश्वमा सबैभन्दा चलेका स्मार्टफोन निर्माताले जस्तो डिजाइन ल्याउँछन् त्यस्तैको प्रभावमा मिड र इन्ट्री लेभलका स्मार्टफोनका डिजाइनहरू आउने गर्छन् ।
विगतका वर्षहरूमा एप्पल र सामसङले ल्याउने स्मार्टफोनका डिजाइन अरुका लागि ट्रेन्ड सेटर बन्ने गरेका थिए भने गएको दुई वर्ष यता चिनियाँ स्मार्टफोन कम्पनीले पनि ट्रेन्ड सेटरको काम गरिरहेको देखिन्छ । अन्य फिचरमा अरु ब्रान्ड अगाडि रहे पनि ह्वावेको मेट र पी सिरिजका पछिल्ला स्मार्टफोन क्यामरा क्वालिटी र डिजाइन दुबैमा सामसङ र एप्पल भन्दा एक कदम अगाडि देखिएको छ ।
फ्ल्यागशीप तथा प्रिमियम सिरिजमा उत्कृष्ट क्यामरा फोन उत्पादन गर्नेमा ह्वावे, सामसङ, एप्पल, सोनी, गुगल पिक्सेल र वनप्लस सेभेन प्रो प्रमुख छन् भने यीसँगै वनप्लस, भीभो, ओपो, साओमी, रियलमी लगाएतका स्मार्टफोनहरूले पनि फ्ल्यागशीपदेखि इन्ट्रि लेभलसम्म उत्कृष्ट क्यामरा क्वालीटी रहेका फोनहरू दिँदै आएका छन् । उत्कृष्ट ब्राण्डका एक भन्दा बढी मोडेललाई उत्कृष्ट फोनका रुपमा लिन सकिने देखिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सामग्रीमा आधारित भएर तथा नेपाली बजारको अवलोकनसमतेबाट पछिल्लो क्यामरा फोन ट्रेन्डलाई यहाँ प्रस्तुत गर्न खोजिएको छः

ह्वावे पी ३० प्रो र मेट २० प्रो
चर्चित टेक साइट टेक राडारले ह्वावे पी ३० प्रोको रिभ्यु गर्दै हालसम्म बजारमा आएकामध्ये उत्कृष्ट क्यामरा फोनको सूचीमा पहिलो नम्बरमा राखेको छ । ह्वावेले पी ३० सिरिजमा पी ३० प्रो, पी ३० र पी ३० लाइन गरि तीन वटा मोडेल विश्व बजारमा ल्याएको छ । जसमध्ये सबैभन्दा उत्कृष्ट पी ३० प्रो नै देखिन्छ । यसै वर्षको मार्चमा सार्वजनिक गरिएको यो फोनमा त्रिपल क्यामरा सेटअप छ । पी ३० प्रोमा अपरचर एफ १.६, एफ २.२ र एफ ३.४ सहितको ४०, २० र ८ मेगापिक्सेलको वाइड लेन्स, अल्ट्रा वाइड र टेली लेन्सको साथमा आइओएस फिचर दिइएको छ ।
यो फोनलाई एसएलआर क्यामराको विकल्पको रुपमा लिन सकिने दाबी कम्पनीको छ । ३२ मेगापिक्सेल फ्रन्ट क्यामरा रहेको यो फोनमा ४२००० एमएएचको ब्याट्रि छ । लो लाइट फिचर, उत्कृष्ट क्यामरा सेन्सरको साथमा ५० एक्स डिजिटल जुम रहेको यो फोनले स्मार्टफोन उद्योगमा क्यामरा सेटअपमा नयाँ मापदण्ड सुरुवात गरको छ । नेपाली बजारमा पी ३० प्रोको मूल्य एक लाख १९ हजार रहेको छ । पी ३० प्रोमा भएको धेरैजसो फिचर रहेको पी ३० को मूल्य ८५ हजार रहेको छ ।
ह्वावेको मेट २० प्रो पनि उत्कृष्ट क्यामरा फोनमध्येमा पर्छ । यद्यपी पी ३० को नजिकको प्रतिस्पर्धी भने पिक्सेल ३ सिरिजलाई लिन सकिन्छ । नोभेम्बरमा सार्वजनिक भएको मेट २० प्रोमा रियर क्यामरा चारकुने सेपमा छ भने यसलाई विश्वका प्रविधि साइटहरूले उत्कृष्ट क्लीयर (भिजिवल) क्यामराफोनका रुपमा चित्रण गरका छन् । मेट २० प्रोमा आइओएस फिचर सहितको ४०, २० र ८ मेगापिक्सेलको रियर क्यामरा र २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेका छन् । वाइट, अल्ट्रा वाइड र ३ एक्स टेलिफोटो लेन्स जडित यो फोनमा सेकेन्डभरमा फोटो लो लाइटमा फोटो खिच्न सक्ने क्षमता छ । फोटोग्राफीका लागि यो फोनलाई पनि उत्कृष्ट मानिएको छ ।

गुगल पिक्सेल ३ र पिक्सेल ३ एक्सएल
स्मार्टफोनमा चौथो संस्करणको तयारी गरिरहेको गुगलको स्मार्टफोन बजारमा छ्ुट्टै उपस्थिति छ । कम्पनीको एन्ड्रोइड अपरेटिङ सिस्टम विश्वभरका ८५ प्रतिशत मोबाइलमा प्रयोग भइरहेको अवस्थाको फाइदा लिँदै स्मार्टफोन बजारमा आएको गुगलको पिक्सेललाई क्यामराको हिसाबले सफल फोन मानिन्छ । ह्वावेका मोडेल पी ३० प्रोको नजिक नजिकको गुणस्तर रहेको गुगलका पिक्सेल ३ सिरिज यसअघि एक नम्बर क्यामरा फोनमा दरिन्थे । ओरिजिनल एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको पिक्सेल फोनलाई फोटोको कलर कम्बिनेसनमा पी ३० प्रो भन्दा पनि उत्कृष्ट मानिन्छ ।
आफ्नै एआई रहेको कम्पनीको सफ्टवेयर पक्ष बलियो भएको र त्यसको उत्कृष्ट फिचरको प्रयोग पिक्सेलमा गरको पाइन्छ । गत वर्षको नोभेम्बरमा आएका दुवै फोनमा एफ १.८ अपरचरसहितको १२.२ मेगापिक्सेलको सिंगल रियर क्यामरा छ भने ८÷८ मेगापिक्सेलका डिउल रियर क्यामरा रहको छ । सेल्फी र प्रकृति फोटोग्राफीको लागि पिक्सेलको फोटो फिचर गज्जब मानिन्छ । यद्यपि पी ३० सिरिजको जस्तो वाइड र टेली लेन्स भने पिक्सेलमा छैनन् ।
पिक्सेल फोनका क्यामराका लागि नजिकका प्रतिस्पर्धी एप्पलका एक्स एस म्याक्स, सामसङ ग्यालेक्सी नोट नाइट र ह्वावे पी २० प्रो रहेको टेक राडारको रिभ्यु अनुभव छ । एचडिआर क्वालीटी, नाइट मोडसहित उत्कृष्ट सेल्फी यसको मुख्य विशेषता हो ।

सामसङ ग्यालेक्सी एस १० प्लस र नोट १०
सामसङको गत मार्चमा बजारमा आएको ग्यालेक्सी एस १० प्लस र हालै मात्र सार्वजनिक भएको नोट १० दुबै स्मार्टफोन ठूलो डिस्प्ले भएका उत्कृष्ट क्यामरा फोनमा पर्छन् । अपरचर एफ १.५, एफ २.४ र एफ २.२ रहेका १२, १२ र १६ मेगापिक्सेलका तीन वटा क्यामरा सेटप रहेको ग्यालेक्सी एस प्लसमा १२३ डिग्री अल्ट्रा वाइड क्यामरा हुनु उत्कृष्ट पक्ष हो । लो लाइटमा राम्रो फोटो खिच्नेमा सामसङका क्यामराहरू उत्कृष्ट छन् । हालै सार्वजनिक गरिएको नोट १० को क्यामरा सेटप र केही मात्रामा कलर पनि मिल्दोजुल्दो देखिन्छ ।
तर यसको क्यामरा फिचर आफ्नै विशेषताको छ । अपरचर एफ २.२ जडिट १६ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, एफ १.५ देखि २.४ सम्मको १२ मेगाक्सिेल वाइड लेन्स, एफ २.१ अपरचर सहितको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स त्रिपल रियर क्यामरा सेटप रहेको नोट १० मा अपरचर एफ २.२ सहितको १० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसअघि बजारमा आएको नोट नाइन पनि उत्कृष्ट क्यामराफोनको सूचीमा छ । १२-१२ मेगापिक्सेलको रियिर डिउल क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहको छ ।

आइफोन एक्सएस र एक्सएस म्याक्स
स्मार्टफोनको ट्रेन्ड सेटरमा आइफोन पुरानो बादशाह नै हो । विश्वकै महँगो ब्रान्ड एप्पलका आइफोनहरू क्षमताका हिसाबले अरु फोन भन्दा कमजोर देखिन्छन् तर आफ्नै अपरेटिङ सिस्टम र हार्डवेयर पनि सकेसम्म आफ्नै प्रयोग गर्ने गर्छ । त्यसैले पनि आइफोनको उत्कृष्टताको राज अहिलेसम्म आइफोनसँगै छ । आइफोनको आइफोन सिक्सयताका फोनहरू क्यामराका दृष्टिकोणले उत्कृष्ट मध्येमा पर्छन् । गुगल पिक्सेल र ह्वावेका फोन नआएको अवस्थामा आइफोनका फोनले नै क्यामरामा पनि लिड गर्ने गरेका थिए । हाल यसका प्रतिस्पर्धी थपिएपछि कतिपय उत्कृष्टताको मापदण्डमा पछि परको जस्तो देखिन्छ । खासगरी क्यामरामा ।
गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएका आइफोनका दुबै मोडेलमा १२ मेगापिक्सेलको डिउल क्यामरा र ७ मेगाक्सिेलको फ्रन्ट क्यामरा छन् । एफ १.८ र एmप २.४ अपरचर रहेका डिउल क्यामराले खिच्ने फोटा भने गज्जबका हुन्छन् । खासगरी आइफोनको स्क्रीन रिज्योलुसनसमेत उत्कृष्ट हुँदै आएकाले आइफोनका फोटा आइफोनमै हेर्दा सबैभन्दा उत्कृष्ट लाग्छन् । तर, जुम, वाइड र मेगापिक्सेलको हिसाबले भने एन्ड्रोइड फोनले आइफोनलाई पछि पार्न थालेका देखिन्छ । यद्यपि आउँदो अक्टोबरमा आउने तीन वटा आइफोनका नयाँ मोडेलले भने क्यामरा लगाएतका फिचर अपग्रेड गरेर आउनेछन् ।

सोनी, वनप्लसदेखि भीभो, ओपो र साओमीसम्म
प्रिमियम सिरिजमा ह्वावे, एप्पल र सामसङका पछिल्ला दर्जन बढी मोडेलका स्मार्टफोन उत्कृष्ट फोनहरूमा पर्छन् । तर, यी बाहेक सोनीका पछिल्ला सिरिज, वनप्लसको वनप्लस सेभेन प्रो र अघिका सिरिजहरू फ्ल्यागशीपमा उत्कृष्ट क्यामरा फोनमा पर्छन् । फ्ल्यागशीप सिरिज र मिड रेन्जमा स्मार्टफोन बजारमा ल्याउँदै आएका भीभो, ओपो र साओमी लगाएत स्मार्टफोनहरूले क्यामरामा जोड दिएर उत्पादन बजारमा ल्याइरहेका छन् । साओमीले नोट सेभेन प्रोमा प्रयोग गरेको ४८ मेगापिक्सेल क्यामराले भारत र नेपालमा पनि उपभोक्ताको मन जितेको देखिन्छ ।
साओमीले हालै मात्र १०० मेगापिक्सेलको फोन ल्याउने घोषणा पनि गरेको छ । यस्तै अर्को चिनियाँ ब्राण्ड रियलमीले पनि इन्ट्री र मिड रेन्जमा बढी मेगापिक्सेलको क्यामरा ल्याउने फोनको चिनारी बनाउँदैछ । यद्यपी क्यामराको मेगापिक्सेलले मात्र उत्कृष्ट फोटो खिच्ने होइन । क्यारमाको पिक्चर डेन्सीटी, अपरचर र लेन्स टाइप जस्ता अन्य फिचरले पनि क्यामराको गुणस्तर निर्धारण गर्ने हुन्छ । जे जसो भए पनि नेपाली बजारमा १५ हजारदेखि डेढ लाखसम्ममा स्मार्टफोनमा उत्कृष्ट फिचर छानेर क्यामरा फोन किन्न पाउने अप्सन छ ।

प्रतिक्रिया दिनुहोस्