कृषि कर्मबाटै ७८ वर्षीय तामाङको वार्षिक आम्दानी १५ लाख

(रौतामाई) उदयपुर– जिल्लाको रौतामाई गाउँपालिका–७ सिरेटारका ७८ वर्षीय जीतुहर्क तामाङको वार्षिक आम्दानी १५ लाख रुपैयाँ छ । तरकारी, बाख्रापालन र फलफूलखेती गर्ने तामाङको कामप्रतिको लगाव र जाँगर देखेर गाँउका सबै छक्क पर्छन् । हरेक दिन बिहान ४ बजे उठेर आर्थिक उपार्जनमा लाग्ने तामाङकै प्रेरणाका कारण सिरेटारका तीन दर्जन बढी युवा व्यावसायिक कृषिमा लागेका छन् ।
‘धन कमाउने रहर गरेरमात्र हुन्न,’ उनी भन्छन्, ‘त्यसका लागि सबैभन्दा पहिले व्यक्तिमा आत्मविश्वास हुनुपर्छ ।’ आत्मविश्वासका साथ लगनशील भएर काममा लाग्ने हो भने कोही पनि असफल नहुने उनको भनाइ छ । तामाङका घरमा यतिबेला सय माउबाख्रा छन् । टाट्नामा २३ वटा खसी छन् । १२ रोपनी जमिनमा काउली, मुला, टमाटर, खुर्सानीलगायतको तरकारी फलेको छ । ‘गत वर्ष २० वटा खसी तीन लाख ६३ हजार रुपैयाँमा काठमाडौंका व्यापारीलाई दिएँ,’ तरकारीबारी देखाउँदै तामाङले भने, ‘४० वटा बोका बिउका लागि बिक्री गर्दा एक लाख २० हजार आम्दानी भयो, अब २२/२३ वटा खसी बेच्ने बेला भएको छ ।’
चार लाख रुपैयाँ बराबरको लिची र आँप भर्खरैमात्र बिक्री गरेका तामाङले वार्षिक करिब चार लाख रुपैयाँ बराबरको कोबी, आलु, काँक्रा, खोर्सानीलगायतका तरकारी बिक्री गर्ने गरेका छन् । ११ वर्षअघि श्रीमतीको निधन भएपछि उनी साँइलो छोरा रामसँग बस्दै आएका छन् । तरकारी खेती र बाख्राको हेरचाह गर्नका लागि स्थानीय दुई पुरुषलाई मासिक तलब दिएर काममा लगाएका छन् । सानैदेखि बाबुको मिहिनेत र लगनशिलता देखेका तामाङका छोरा पनि व्यापार व्यवसायमा लागेका छन् ।
‘बाबुआमाले गरेको देखेर छोराछोरीले सिक्दा रहेछन्,’ उनले भने, ‘सबैजना व्यापार व्यवसायमा लागेकाले मनमा सन्तोष छ ।’ पञ्चायतकालमा दुई पटक र बहुदल आएपछि एक पटक गाविसको अध्यक्षसमेत भएका तामाङले प्रधानपञ्च हुँदा आफैंले तरकारीको भारी बोकेर बेच्न लगेको सुनाए । ‘प्रधानपञ्चजस्तो मान्छे भारी बोक्छ भन्थे,’ उनले भने, ‘तर मलाई कहिल्यै लाज लागेन ।’ काम गर्न लजाउने मानिसले जीवनमा आर्थिक प्रगति गर्न नसक्ने उनको अनुभव छ । आर्थिक उन्नतिसँगै तामाङ समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । हाल उनी आफ्नै सक्रियतामा गाउँमा स्थापना भएको तामाङ भाषाको पाठशालाका अध्यक्ष छन् ।
मुर्कुचीबजारमा क्याम्पस स्थापना गर्ने र उच्च मावि सञ्चालन गर्ने कार्यमा समेत उनको महत्वपूर्ण योगदान छ । आफू जन्मिएको तत्कालीन नामेटार गाविसमा विद्यालय स्थापना गर्न तामाङले ६ रोपनी जमिन दान गरेका छन् । जसको हालको मूल्य १५ लाखको हाराहारी पर्छ । ‘उहाँ सम्पूर्ण गाउँलेकै प्रेरणाको स्रोत हुनुहुन्छ,’ स्थानीय भरत थापाले भने, ‘हरेक युवाले उहाँको मिहिनेतको अनुसरण गर्ने हो भने पैसा कमाउन विदेशिनु पर्दैन ।’ मिहिनेती र लगनशील भएर नै तामाङ आर्थिक फड्को मार्न सफल भएको थापाले बताए ।