Logo

बाँदरको पिरले रित्तिँदै गाउँ, बाँझिँदै खेतीयोग्य जमिन

तेह्रथुम– छथर गाउँपालिका–२ बाहुनबारीका डम्बर कार्कीले करिब १० वर्ष पहिले ५० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेका थिए । आफूले लगाएको अन्नबाली कार्कीले नजिकैको शुक्रबारे र सन्सारे बजारमा बिक्री गरी राम्रै आम्दानी लिन्थे । कामा लगाइएका खेतलालाई पनि अन्न दिन्थे तर, अहिले १० रोपनी क्षेत्रफलमा मात्रै खेती लगाउँछन् त्यो पनि बाँदरबाट जोगाउन हरेक दिन हैरानी खेप्नु पर्छ ।

उनीजस्तै शेरबहादुर कार्कीले पनि अहिले घरनजिकैको जमिनमा मात्रै बाली लगाएका छन् । डम्बरबहादुरजस्तै शेरबहादुरले पनि बाँदर धपाउँदैमा दिन बिताउनु परेको छ । २० रोपनी क्षेत्रफलमा बाली लगाएका लालबहादुर लिम्बुलाई यतिबेला बाँदर धपाउनु उनको दैनिकी नै बनेको छ ।

उनी भन्छन्, ‘बाँदरले लगाएको बाली नष्ट गरेर हामीलाई बसीखान दिएको छैन । अर्काे सालदेखि खेती नलगाउने विचार गरेको छु । हाम्रो श्रम र मेहनत त परै राखौं खेतलाको ज्याला नि उठ्दैन । हाम्रो समस्या स्थानीय सरकारले कहिल्यै बुझेन, उनले भने, ‘स्थानीय सरकार आएको पनी ६/७ वर्ष बितिसक्यो हामीजस्ता किसानको समस्यालाई कसैले हेरेन ।’

उनीहरूजस्तै यस गाउँका स्थानीयको दैनिकी भनेकै बाँदर धपाउनु बनेको छ । बाँदरको पीरले यहाँ रहेका खेतीयोग्य जमिन बाँझिएर जंगल बन्दै गएका छन । बाँदरकै पीरले स्थानीय पोष्टबहादुर थापा, भक्तबहादुर कार्की, भीमबहादुर थापा, वाशुदेव भट्टराई लगायतका दर्जन बढी बसाइँ सरेर अन्यत्र गइसकेका छन् । बस्ती पातलिँदै जाँदा जंगलले ढाक्दै गएपछि यसक्षेत्रमा बाँदर आंतक बढ्दै गएको छ ।

यहाँका टारी खेतदेखि फाँटिला टार यतिबेला झोरझाडी जंगलझै बनेका छन् । यसक्षेत्रका स्थानीय कहिले प्राकृतिक प्रकोप त कहिले वन्यजन्तुको समस्याले पीडित बन्दै आएका छन् । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले विगतदेखि नै बाँदर नियन्त्रणका लागि प्रयास गरिरहेको बताए पनि अझैसम्म कुनै प्रयास नगरेको स्थानीयबासीले गुनासो गरेका छन । गाउँपालिका अध्यक्ष लिम्बुले बाँदर नियन्त्रणका लागि अध्ययन गरिरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्