Logo

चिनी मिलको लापरबाहीले सयौं बिघा धान नष्ट

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डस्ट्रिजले केमिकलयुक्त फोहोर पानी नालामा नलगाई किसानको खेतमा लगाइदिँदा झन्डै दुई सय बिघा जमिनको धानखेती नष्ट भएको छ । उक्त उद्योगको लापरबाहीले पुनर्वास नगरपालिका–२, ५, ६ र ७ क्षेत्रका स्थानीय किसानको सिमरीखोला वारिपारि रहेका खेतको धानखेती नष्ट भएपछि स्थानीय किसान मर्कामा परेका छन् ।

स्थानीय किसान रमेश जोशी उद्योगको लापरबाहीका कारण गत असारमा लगाएर असोजमा फल्ने धान जरैदेखि नै सखाप भएको बताउँछन् । उनले भने, ‘आफ्नो दैनिक जीवनयापन चलाउन र आफ्नो घरपरिवारका लागि केही आय आर्जनमा पनि सहयोग पुग्ने धानखेतमा चिनीमिलको केमिकलयुक्त फोहोर पानीले गर्दा किसानको सबै धान साउन भदौमै नष्ट भएपछि अहिले किसान विचल्ली परेका छन् ।’

भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डस्ट्रिजले भने केमिकलयुक्त फोहोर पानी नालामा नलगाएको दाबी गरेको छ । भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डस्ट्रिजका मेकानिकल इन्जिनियर पदाराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोर पानी नलगाएको बताए । उनले भने, ‘हाम्रो उद्योगबाट निस्किएको फोहोर पानी यतै व्यवस्थापन हुन्छ, सिमरी खोलामा पुल निर्माणकार्य हुँदा पानी थुनिएकाले आएको गन्धले धानखेती नष्ट भएको होला ।’

तर उद्योग सञ्चालनको बेला फोहोर पानी खोलामा बगेर जाने पाण्डेले स्वीकार गरे । चिनी मिलले केमिकलयुक्त फोहोर पानी सिमरी नालामा बगाएपछि धानखेती पूर्ण रूपमा नष्ट भएको उक्त क्षेत्रका कृषकले बताउँछन् । त्यसैगरी पुनर्वास नगरपालिका–५, सिमरीका स्थानीय किसान नवीन रानाले चिनीमिलले केमिकलयुक्त फोहोर पानी नालामा लगाएका कारण नै उक्त धानखेती नष्ट भएको बताए ।

उनले भने, ‘चिनीमिलले आफ्नो उद्योगबाट निस्किने फोहोर पानी नालामा लगायो, जुन नालाको पानी सीधै किसानको धानखेतीमा पुगेर बाली नै नष्ट भएको छ । उक्त क्षतिको पूर्ति अब कसले बेहोर्छ ?’ यति मात्र नभई चिनीमिलको प्रदूषणले गर्दा उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयमा छालासम्बन्धी रोग लागिरहेको बताएका छन् । स्थानीय राधिका चौधरीले उद्योगले फोहोर पानी बेलाबेलामा नालामा बगाउँदा धानखेती नष्ट भएको बताइन् ।

उनले भनिन्, ‘यसबारेमा पटक–पटक स्थानीय सरकारलाई जानकारी गराउँदा पनि हाम्रो समस्याको कुनै सुनुवाइ भएन ।’ पुनर्वास नगरपालिका–७ का वडाध्यक्ष मूलचन्द्र रानाले उद्योगकै लापरबाहीले किसान मारमा परेको बताए । पटक–पटक गैरकानुनी रूपमा उद्योगको फोहोर पानी नालामा नबगाउन हामीले आग्रह गर्छौं, तर सञ्चालक मान्दैन । समाधानका लागि पालिकाले नै कानुनी रूपमा लाग्नु पर्ने भएको वडाध्यक्ष रानाले बताए ।

त्यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झन्डै ५०/६० जना किसानको दुई सय बिघा हाराहारीको जमिनको धानखेती नष्ट भएको बताए । उनले भने, ‘गत साउन २१ गते प्राविधिक टोलीसहित उक्त क्षेत्रमा अध्ययन पनि गरेका छौं उक्त क्षेत्रबाट धान र माटोको नमुनासमेत ल्यायौं, के कारणले धानखेती नष्ट भएको हो परीक्षणका लागि ल्याबमा पठाएका छौँ ।’ फोहोर पानीका कारण धानखेती नष्ट भएको किसानको जनगुनासोअनुरूप कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै कारण पत्ता लगाउने काममा जुटेको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्