चिनियाँ पर्यटक वृद्धि कायमै रहला ? «

चिनियाँ पर्यटक वृद्धि कायमै रहला ?

फाइल तस्बिर ।

सन् २०१९ को डिसेम्बर अन्तिममा विश्वभरि महामारीको रूपमा पैmलिएको कोभिड–१९ पछि विश्वका अधिकांश देशले आफ्नो देश भ्रमणमा विदेशीहरूलाई रोक लगाएका थिए । फलस्वरूप लगभग एक वर्ष विश्व पर्यटन बजारमा सन्नाटा छायो । त्यसको परिणामस्वरूप सन् २०१९ को तुलनामा सन् २०२० मा ७५ देखि ८० प्रतिशतले पर्यटक आगमन दर घट्यो । चिनियाँ पर्यटक त सन् २०२० मा २० मिलियन मात्रै विश्व भ्रमणमा निक्लेका थिए ।

जे होस्, नेपालमा कोरोनापछिको चिनियाँ पर्यटकको आगमन दर हेर्दा सन् २०२० मा १९ हजार २ सय ५७ जना, सन् २०२१ मा ६ हजार १ सय ९८ जना र सन् २०२२ मा ९ हजार ५ सय ९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । तर, सन् २०२३ मा चाहिँ बितेको सात महिनामै नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकको संख्या २५ हजार ८ सय १० पुगेको छ । यो लेखमा सन् २०२३ को सात महिनामा मासिक रूपमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको विवरण उल्लेख गरिएको छ ।

सोअनुसार जनवरीमा १ हजार ४ सय ३६, फेब्रुअरीमा २ हजार २ सय ६६, मार्चमा २ हजार ६ सय ३५, अप्रिलमा ४ हजार ७ सय ७०, मेमा ४ हजार ६ सय ६७, जुनमा ४ हजार ३ सय ४३ र जुलाईमा ५ हजार ६ सय ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२३ को बाँकी पाँच महिनामा चिनियाँ पर्यटकको नेपाल आगमन दर कस्तो होला त ? अनुमान मात्रै गर्न सकिने कुरो भयो । यसै भन्न सकिने स्थिति छैन ।

हुन त सन् २०१९ मा मात्रै १ सय ५५ मिलियन चिनियाँहरू पर्यटक भई विश्वका विभिन्न देशमा भ्रमण गर्न निक्लेका थिए । त्यस्तै नेपालमा पनि सो वर्ष १ लाख ६९ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । ऊ बेलादेखि साधारण अवस्था रहेको भए आजको दिनमा आइपुग्दा नेपालमा चिनियाँ पर्यटकको वार्षिक आगमन साढे तीन–चार लाखभन्दा माथि पुगेको हुन्थ्यो कि ? जे भए तापनि सन् २०२३ मा विश्व घुम्न निक्लने चिनियाँ पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसको पुष्टि विदेश भ्रमणमा जाने चिनियाँ पर्यटक सम्बन्धमा अध्ययन गर्ने एक स्वतन्त्र संस्था ‘चाइनिज आउटबाउन्ड टुरिज्म रिसर्च’ (कोटरी) ले गरेको हो । कोटरीले गरेको अनुमानअनुसार सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पर्यटक विश्वका विभिन्न देशको भ्रमण गर्न निक्लनेछन् । त्यसैले सन् २०२३ देखि विश्वमा फेरि चिनियाँ पर्यटकको दबदबा बढ्दै जानेछ ।

यसरी ‘नोभेल कोरोना भाइरस’ले महामारीको रूप लिनुअघि अर्थात् सन् २०१९ सम्म चिनियाँ पर्यटकको विश्वभरि नै दबदबा रहेको थियो । खासमा विश्वमा धेरै घुम्न निक्लने पर्यटकको संख्या र विश्वकै धेरै खर्च गर्ने पर्यटक दुवै क्षेत्रमा चिनियाँ पर्यटक एक नम्बरमा रहने गरेका थिए । लगभग तीन वर्षपछि अर्थात् सन् २०२३ सुरु भएलगत्तै फेरि विश्वभरि नै पर्यटनले लय समात्ने आशा गरिएको छ । त्यसमा पनि लगभग तीन वर्षसम्म कतै पनि घुम्न जान नपाएका चिनियाँ पर्यटकको भ्रमणले विश्वका धेरै देशको अर्थतन्त्रलाई भरथेग गर्ने आशा गरिएको छ ।

यसको एउटै मात्र कारण भनेको सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गरेको छ । जसलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) भनेर चिन्ने गरिन्छ । कोरोना महामारीपछिको लगभग तीन वर्षपछि चीन सरकारले त्यसरी दुई चरणमा आफ्ना देशका नागरिकलाई समूहमा विदेश घुम्न जाने अनुमति अर्थात् ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) दिएकाले गर्दा अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा एकतर्फी दबदबा रहने देखिन्छ ।

चीन सरकारले पहिलो र दोस्रो चरण गरेर जम्मा ६० वटा देशमा मात्रै आफ्ना नागरिकका लागि ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ जारी गरेको छ । बिस्तारै चीन सरकारले अन्य देशका लागि पनि आफ्ना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिनका लागि ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ दिने नै छ । गत २७ जनवरीका दिन आफ्नो देशका नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० वटा देशलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ दिँदा त्यो सूचीमा नेपाल परेको थिएन ।

यसरी चीन सरकारले पहिलो चरणमा आफ्नो देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जानका लागि दिएको अनुमति अर्थात् ‘एडिएस’ मा परेका २० वटा देशको सूचीमा नेपाल नपरे तापनि दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूचीमा परेको थियो । त्यसैले नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो पैमानामा बढ्ने आशा जगाएको छ । भलै यो बीचको समयमा अनेक कारणले गर्दा चिनियाँ पर्यटक सोचेजसरी नेपाल भ्रमणमा आएनन् । तर, आगामी दिनमा अहिलेको भन्दा चार–पाँच गुणा बढीले चिनियाँ पर्यटकको नेपाल आगमन हुने आशा गर्न सकिन्छ ।

यसरी हेर्दा पछिल्लो पटक चीन सरकारले आफ्नो देशका नागरिकलाई दुई चरणमा गरेर विश्वका विभिन्न देशमा समूहमा भ्रमण गर्न जान अनुमति दिएको ४०+२० वटा देशमा नेपाललाई पनि पारेकोमा त्यसका लागि हामीले चीन सरकारलाई धन्यवाद दिनुपर्छ । साथै, पछिल्लो पटक ‘कोटरी’ले सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पयर्टक विश्व भ्रमण गर्न निक्लने जुन प्रक्षेपण गरेको छ, ती चिनियाँ पर्यटक कहाँ जालान् ?

सबै देशका सरकार प्रमुख, पर्यटन व्यवसायी र पर्यटनविद्हरूको नजर चिनियाँ पर्यटकमाथि परेको देखिन्छ । त्यसैले हामीले पनि सन् २०२३ मा विश्व भ्रमण गर्न निक्लने १ सय १० मिलियन चिनियाँ पर्यटकमध्ये ०.१ प्रतिशत चिनियाँ पर्यटकलाई मात्रै पनि नेपाल भ्रमण गर्नका लागि आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि ठूलो उपलब्धि हुने थियो !

प्रतिक्रिया दिनुहोस्