अझै बन्न सकेन सबस्टेसन «

अझै बन्न सकेन सबस्टेसन

तेह्रथुम-जिल्लाको आठराईमा निर्माणाधीन सबस्टेसनको काम एक वर्षदेखि अलपत्र परेको छ । नेपाल विद्युत् प्राधिरकणको ३३ केभीए प्रसारण लाइनको काम छोडेर ठेकेदार बीचैमा हिँडेपछि सबस्टेसनको काम अलपत्र परेको हो ।
तीन वर्ष अघिदेखि निर्माण थालिएको सबस्टेसनको काम गत वर्षको साउन महिनादेखि स्थगित भएको छ । आठराई संक्रान्ति बजारनजिकै रहेको सबस्टेसन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एटुजेठ इन्सा इन्जिनियरिङले नेपालमा रहेको मल्ल कन्ट्रक्सनलाई पेटी ठेक्कामा काम दिइएको बताइएको छ । सबस्टेसनका लागि घेराबार र एउटा भवनको पिल्लरमात्र तयार भएको छ ।
पेटी ठेक्कामा काम थालेको मल्ल कन्ट्रक्सनले बीचैमा काम छोडेपछि सबस्टेसन समयमा निर्माण नहुने देखिन्छ । आठराईमा ११ केभीए विद्युत् लाइन विस्तार भए पनि सबै घरमा केन्द्रीय प्रसारणलाइन पुग्न सकेको छैन । एक वर्षदेखि सबस्टेसनको काम अलपत्र भए पनि अहिलेसम्म कसैले ध्यान नदिएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्ति बजारका अध्यक्ष प्रेम पौडेलले बताए ।
सबस्टेस्न निर्माणका लागि संक्रान्ति बजारका स्थानीय केवलीप्रसाद मैनालीको परिवारले ९ रोपनी जग्गा नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएका थिए । पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरीप् निर्माण थालिएको सबस्टेसनको काम छोडेर ठेकेदार हिँडेपछि आठराईले उज्यालो पाउने र सर्वसाधारणको रोजगारीका सम्भावना हराउने भन्दै जग्गादाता परिवारका सदस्य कमल मैनालीले दुःखेसो व्यक्त गरे ।
जिल्लाको दुर्गम क्षेत्रमा रहेको आठराई विद्युतीय क्षेत्रमा निकै पछि छ । आठराई संक्रान्ति बजारसहित आसपासका केही गाउँमा मात्र विद्युत् पुगेको छ । ३३ केभीए विद्युत प्रसारणलाइन निर्माण र विस्तारले गति नलिनु समग्र आठराईवासीको समस्या भएकाले आपूm चिन्तित रहेको स्थानीय याममणि बरालले बताए ।
नेपाल विद्युत् प्राधिरकणअन्तर्गत प्रणाली सुदृढीकरण आयोजनाका अनुसार सबस्टेसन निर्माण र लाइन विस्तारका लागि १० देखि १५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । प्रणाली सुदृढीकरण आयोजनासँग एटुजेठ इन्सा इन्जिनियरिङ कम्पनीको सबस्टेसन निर्माणसम्बन्धी सम्झौताको समय सकिन अब तीन महिनामात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्