स्वास्थ्य परीक्षण प्रमाणपत्र अब ३८ रुपैयाँमै «

स्वास्थ्य परीक्षण प्रमाणपत्र अब ३८ रुपैयाँमै

दाङ– अब नागरिकले ३८ रुपैयाँमा नै स्वास्थ्य परीक्षण निरोगिता प्रमाणपत्र पाउने भएका छन् । यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरले भदौ ७ गते (आज)देखि लागू हुनेगरी यस प्रकारको सेवा प्रदान गर्ने तयारी गरेको हो ।

धेरैले ६/७ सयदेखि न्यूनतम तीन सयसम्म तिर्नुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए । सवारीचालक अनुमतिपत्र प्राप्त तथा चालक अनुमतिपत्र बनाउनु परेमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाणपत्र आवश्यक पर्छ ।

सो निरोगिताको प्रमाणपत्र लिएवापत धेरैले तीन सय रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो । डाक्टर बिनै यातायात व्यवस्था कार्यालय बाहिर निरोगिताको प्रमाणपत्र बनाएर सवारी चालक अनुमतिपत्र नयाँ तथा पुरानो लिनका लागि सेवाग्राही जाने गरेका थिए । अब भने भदौ ७ गते (आज आइतबार)देखि सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षणसम्बन्धी सेवावापत ३८ रुपैयाँ दस्तुर लिई कार्यालयबाटै उपलब्ध भएकाले कोठा नं. १३ बाट स्वास्थ्य परीक्षणसम्बन्धी सेवा दिइने भएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गरेर यस्तो जानकारी दिएको हो । ‘धेरै रकम तिरेर सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाण लिएको भन्ने गुनासो आयो, त्यसलाई मध्यनजर गर्दै अबदेखि कार्यालय परिसरमै एकजना नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अब प्रमाणपत्र दिनु हुनेछ,’ कार्यालय प्रमुख गौतमले भने ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरले यसका लागि सार्वजनिक सूचना आह्वान गरी निरोगिताको प्रमाण पत्रका लागि प्रस्तावना मागसमेत गरेको थियो । जसमा पाँचजना डाक्टरले प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये अब एकजना डाक्टरलाई छनोट गरेको गौतमले बताए । ‘म पनि यहाँ भरखरै आएको हो पहिलो काम यसरी नै सुरुवात गरेका छौं यहाँ हुने अन्य कुरालाई पनि विस्तारै सुधार गर्दै जाने छौं,’ प्रमुख गौतमले भने ।

उनले अब कार्यालय परिसरमै डाक्टर बस्ने र डाक्टरले नै प्रमाणपत्रमा हस्ताक्षर गरी निरोगिताको प्रमाणपत्र दिने बताए । ‘९/१० रुपैयाँमा पनि हामीहरूले सेवा दिन सक्छौं भन्ने पनि आएको थियो तर सबै कुरा मिलाएर हामीहरूले यस्तो सुरुवात गरेका हौं,’ गौतमले भने । उनले अब योसँगै अन्य जनगुनासालाई पनि विस्तारै सम्बोधन गर्ने बताए । यसअघि डाक्टरहरूले हस्ताक्षर गरेर प्रमाणपत्र स्टेसनमा छोडने र त्यसवापत ६/७ सयसमेत लिने गरेको गुनासो नागरिकले गर्दै आएका थिए ।

योसँगै अब सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा बढी रकम लिने गरेको गुनासो आएको भन्दै त्यसलाई पनि सुधार गर्ने उनले बताए । ‘सवारीचालक अनुमतिपत्र परीक्षाको दिन पनि धेरै रकम लियर गाडी भाडामा लगाएको भन्ने गुनासो छ अब त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा हामीहरू छौं, प्रमुख गौतमले भने । उनले सबै कुरा विस्तारै व्यवस्थित गर्ने उल्लेख गरे । ‘सबै कुरा एकै पटक हल हुँदैन धेरै गुनासा आएका छन् मैले पनि बुभ्mदै छु सबै कुरा विस्तारै समाधान हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्