अपराधमा धरौटीको चलखेलले पीडितलाई न्याय हुँदैन «

अपराधमा धरौटीको चलखेलले पीडितलाई न्याय हुँदैन

आजको संसार विचित्रको छ । यही संसारमा खर्बौं मानिसको बसोबास छ । यही बसोबासभित्र धेरै प्रकारका व्यक्तित्व भएका मानिसहरूको सञ्जाल छ, समाज छ । यही समाजभित्र सबै राम्रा व्यक्तित्व छन् भनेर विश्वास गर्ने जमाना भने विल्कुलै फरक छ । अपराधको विषयमा कुरा गर्नुपर्दा अपराध धेरै किसिमको हुन्छ ।
चोरी–डकैती, हत्या–हिंसा, चेलीबेटी बेचबिखन, बलात्कार, भ्रष्टाचार, ठगी–धन्दालगायत धेरै किसिमका अपराध जघन्य अपराधभित्र पर्छन् । यस्ता अपराधमा संलग्न अपराधीहरूलाई राज्यले कस्तो कारबाहीको व्यवस्था गरेको छ त ? मानिसको हत्या भएमा जन्म कैद; चोरी–डकैती गरेमा बिगो जरिवानासहित केही समय जेल; बलात्कारजस्तो अपराधमा १० देखि १५ वर्षसम्म जेल, भ्रष्टाचारमा बिगो जरिवानासहित केही भ्रष्टाचारको मुद्दा हेरेर जेलको सजाय हुन्छ । कानुनमा यस्तै कुराहरू लेखिएको हुन्छ ।
तर आममानिस तथा सरकारका प्रतिनिधिहरूले के बुझ्नु जरुरी छ भने अपराध गर्ने जो–कोही होस्, चाहे ठूलो अपराध होस् या सानो, आखिर अपराध नै हो । हो, यस्ता अपराधलाई किन धरौटीमा छाड्ने प्रचलन बढेको हो ? कैद भुक्तान नै गर्नुपर्ने होइन र ? धरौटीमा छाड्ने प्रचलनले अपराध कम हुने होइन, झन् मौलाउँछ । धेरै अपराधीहरूले सोच्ने पनि यही हो । आज धरौटीमा रिहा हुन्छ, फेरि पटक–पटक अपराध हुन्छ । अपराध बढ्छ । त्यसैले सर्वप्रथम अपराधीहरूलाई धरौटीमा छाड्ने प्रचलन बन्द गरियोस् ।
हामी धेरैजसो भ्रष्टाचार, बलात्कार, हत्या–हिंसा र चोरी–डकैतीका अपराध भएको सुन्छौं । अहिले अन्धविश्वास, बालविवाह, बहुविवाहजस्ता पनि अपराध नै पर्छन् । यिनीहरूको नियन्त्रण गर्नु त छँदै छ, तर धरौटीका कारणले धेरै अपराध मौलाएको पो देखिन्छ ।
केही समय अपराध निर्मूल हुन्छ, फेरि पछि दोहोरिन्छ । हदैसम्मको कडा कानुनको व्यवस्था हुनु जरुरी छ, जसले अपराध गर्न नसकोस् । हाम्रो देशमा मात्र दैनिक रूपमा धेरै नै अपराध भइरहेकै हुन्छन् । केही मिलेमतोमा अपराधी छाडिन्छन्, केही समाजमै ढाकछोप हुन्छन् त केही झन् जब सञ्चारमाध्यममा प्रकाशन तथा सम्प्रेषित हुन्छन्, अनि मात्र सार्वजनिक हुन्छन् ।
पीडितले न्याय पाउन धेरै संघर्ष गरिरहनुपर्ने देखिन्छ । अन्त्यमा अपराधी पक्रिइन्छ र केही धरौटी वा थोरै समयको जेल भुक्तानले अपराधी उम्कन्छन् । के यसरी पीडितले न्याय पाएको अनुभूति हुन्छ त ? कति अपराध त अझै पनि सार्वजनिक हुन सकेका छैनन् । अपराधी को हो भनेर पत्ता लगाउनसमेत सकेको छैन ।
३३ किलो सुन काण्डको अपराधी कहाँ गयो ? निर्मला बलात्कारपछि हत्याकाण्ड मुद्दाको अपराधी कहाँ गयो ? बोक्सीको आरोपमा मलमूत्र खुवाउने, कुटपिट गर्ने, छाउपडी प्रथामा हाम्रा छोरी चेलीबेटीको जीवन मरणात्मक अवस्थामा पु-याउने अपराधी कहाँ छन् ? किन अपराध निर्मूल हुन सक्दैन ? जबसम्म अपराधीहरूलाई कडा कानुनको दायरामा ल्याइँदैन तबसम्मसमाजमा अपराध मौलाइरहन्छ । अपराध मौलाउनुको मुख्य कारण अपराधी धरौटीमा रिहा हुनु पनि हो । त्यसैले अब धरौटीमा रिहा हुने कार्य बन्द गरिनुपर्छ । काराबासको सजाय हुनुपर्छ । तब मात्र अपराध नियन्त्रणमा केही सहयोग हुन्छ ।
श्री ३ चन्द्रशमशेरले भनेका थिए, “जो–कोही भ्रष्टाचार गर्छन् अनि भ्रष्टाचार गरेको प्रमाण भेटिन्छ । मकहाँ उजुरी लिएर आउनु पर्दैन, सीधै काटिदिए हुन्छ ।” देश संघीयतामा गएको अहिलेको परिवेशमा यस्तो गर्न त मिल्दैन, तर भ्रष्टाचारीहरूलाई कडा कानुनको दायरामा ल्याउनु भने जरुरी हुन्छ । भ्रष्टाचारीहरू पनि धरौटीमा रिहा हुने हुँदा झन् धेरै भ्रष्टाचार मौलाएको देखिन्छ ।
अपराधीहरूलाई धरौटीमा छाड्ने कार्य बन्द गरे पक्कै अपराध निर्मूल हुन सक्छ । भ्रष्टाचारले नै देश निर्माण कार्यमा बाधा उत्पन्न हुन्छ । यसको अन्त्य हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्