Logo

नयाँ पुस्ता र वेद

आफ्नो मन, वचन र कर्म आफूले छानेको व्यवसायको सफलताका लागि एकीकृत र समर्पित बन्नेछन् ।

विकसित मुलुकहरूमा स्कुलस्तरको दस जोड दुई शिक्षा प्राप्त गरिसकेपछि रोजगारीको अभाव रहेमा मात्र उच्च शिक्षा विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ । तर, नेपालजस्ता अविकसित र अल्पविकसित मुलुकहरूमा रोजगारी प्राप्तिका लागि उच्च शिक्षामा होमिने प्रवृत्ति देखिन्छ ।

नेपालका गाउँघरमै रहेर अध्ययन–अध्यापन गर्ने हाम्रा बालबच्चाहरू नेपालको भविष्यका कर्णधार हुन् । जबसम्म हामी संसारमै प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र प्रविधिको पहुँच उनीहरूसँग पु-याउन सक्दैनौं तबसम्म मुलुक सर्वाङ्गीण विकाससहित अघि बढ्नेछैन ।
दुनियाँमा विज्ञानले मारेको आश्चर्यजनक फड्कोसहित धनी र गरिब राष्ट्रबीचको विज्ञान र प्रविधिमा रहेको पहुँच र ज्ञानको दूरीले कुनै एक मुलुकमा रहेका बच्चाहरूलाई अर्को मुलुकमा रहेका बच्चाको भन्दा ज्ञान र सीपमा सहज पहुँच मिलिरहेको छ । ज्ञान र सीपमा सहज पहुँच पुग्दैमा विकसित मुलुकमा हुर्केका बच्चाहरू अविकसित मुलुकमा हुर्के–बढेका बच्चाहरूभन्दा धेरै तृष्णा र कामयावी बनिरहेको अवस्था भने छैन ।
विकसित मुलुकहरूमा स्कुलस्तरको दस जोड दुई शिक्षा प्राप्त गरिसकेपछि रोजगारीको अभाव रहेमा मात्र उच्च शिक्षा विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ । तर, नेपालजस्ता अविकसित र अल्पविकसित मुलुकहरूमा रोजगारी प्राप्तिका लागि उच्च शिक्षामा होमिने प्रवृत्ति देखिन्छ । सबै विकसित, अर्धविकसित र अविकसित मुलुकहरूमा रहेका सैद्धान्तिक प्रकृतिका उच्च शिक्षा, प्राविधिक शिक्षा र प्राविधिक तालिम दिने संस्थाहरू अबको नयाँ पुस्तालाई स्वरोजगारीको अवसर जुटाउनका लागि जरुरी रहेको प्राविधिक ज्ञान र सीप उपलब्ध गराउन असमर्थ बनिरहेका छन् ।
आज विश्वकै उत्कृष्ट दाबी गरिने तालिम केन्द्रहरू पश्चिमी मोडलका छन् । ज्ञान सिकाउने ती केन्द्रहरूले बजार प्रतिस्पर्धाले व्यवसाय उत्कृष्ट बन्छ भन्ने अवधारणा आत्मासात् गरेका छन् । स्वरोजगार योजना सुरु गर्न बुद्धिको आवश्यकता हुन्छ । तालिम केन्द्रमा धेरै थरीका ज्ञान प्राप्त गरिरहेका विद्यार्थीहरू अनुभवको अवसरबाट प्राप्त हुने बुद्धिको विकास हुने अवसरबाट भने प्रायः वञ्चित बनिरहेका भेटिन्छन् ।
आजको बजार हेरेर शिक्षण संस्थाहरूले उपलब्ध गराउँदै आएको रोजगारीमूलक जनशक्ति उत्पादन कार्यक्रमका उपजहरू बजारमा उपलब्ध कृत्रिम बुद्धिमत्तायुक्त रोबोटहरूसँग प्रतिस्पर्धामा उत्रन नसकेर बेरोजगार बनिरहेका छन् । एआई, बिग डाटा र रोबोटका कारण आज उपलब्ध धेरै काम भविष्यमा मेसिनहरूले गर्नेछन् । विकसित नयाँ टेक्नोलोजीले धेरै सफल व्यक्तिहरू र चाखलाग्दा रोजगारीका अवसरहरू सिर्जना हुनेछन् ।
वल्र्ड इकोनोमिक फोरमले सन् २०१७ तिर सार्वजनिक गरेको प्रतिवेदनले हाल संसारभर प्राथमिक तहमा पढिरहेका केटाकेटीमध्ये ६५ प्रतिशतले हाल बजारमा उपलब्ध नै नभएका क्षेत्रहरूमा रोजगारी गर्नेछन् भनी यकिन गरिदिएको छ । आजको १० वर्षपछाडि हामीले हाल स्कुलहरूमा पढाइरहेका बच्चाहरू के काम गर्नेछन् भन्ने संसारलाई नै अन्दाज नभइसकेको अवस्थामा कस्तो शिक्षा उनीहरूका लागि जरुरी छ भन्ने उत्तर विज्ञानसँग छैन । स्कुलहरूसँग ‘यो शिक्षा त कसो काम नलाग्ला र ?’ भनी हचुवाको पाठ्यक्रम पढाउनुको विकल्प छैन ।
एकातर्फ हार्वर्ड विश्वविद्यालयजस्ता तालिम केन्द्रहरू छन् । विशाल तथा बृहत् वस्तु वा सेवा उत्पादनको काममा आउने प्रकृतिका बृहत्तर ज्ञान भएका जनशक्ति पैदा गरिरहेको छ । परिवर्तित बजार माग पूर्ति गर्न सक्षम बजारमा उपलब्ध रहने भोलिका इनोभेटिब उद्योगहरू कस्टम डिजाइनमा आधारित उच्च प्रभावकरिता दिने ससाना उद्यमका क्लस्टरका रूपमा रहनेछन् । जसरी रकेटको इन्जिनजडित ट्र्याक्टरले निश्चित दुर्घटना निम्त्याउँछ त्यस्तै बृहत्तर ज्ञान भएका जनशक्तिबाट ससाना उद्यमका क्लस्टर सञ्चालन हुने अवस्था रहन्न ।
अन्य विश्वविद्यालय र तालिम केन्द्रका उत्पादनहरू बजारका हिजोका सीप, ज्ञान र प्रविधिबारे जानकार त हुनेछन्, तर तत्कालीन बजारको माग पूर्ति गर्ने व्यवसायिक बुद्धिमत्तासमेतमा निपुण रहेको र रहनेमा शङ्का गर्ने ठाउँ छ ।
हार्वर्ड, येलजस्ता युनिभर्सिटीहरूले धेरै मानिसको सफलताको कथा देखाएर आफ्ना विद्यार्थीहरूलाई कसरी सफल हुने भन्ने तालिमहरू दिन थालेको निकै धेरै भयो । अर्काको सफलताको कथाबाट विद्यार्थीहरू सजिलै सफल हुने अनुमान उद्यमशील जीवनका आधारभूत कठिनभन्दा कठिन चुनौतीहरू पार गर्ने कडी बन्न सकेन । अर्काको असफलता र असफलताले सिकाएको अनुभूति नसंघालिएको शिक्षण प्याकेजले संसारमा उथलपुथल दिने शिश्यहरू दिन सकेन ।
कुनै पनि काम जब सुरु गर्नुहुन्छ तब पहिलो दिनको प्रथम चोटिबाटै त्रुटिरहित पूर्णतासहित गर भन्नेहरू सिद्धान्तमा मात्र आकर्षक बने । गल्ती गर्ने भएर नै हामी मानिस भएका हौं । जीवनमा गरिएका गल्तीहरूबाट सफल हुने तरिका र आत्मविश्वास प्राप्त हुन्छ । गल्ती गर्न हैन, गल्तीबाट सिक्न नसकेर पुनः त्यही गल्ती दोहो-याउने मूर्खताबाट बच भन्ने मन्त्र बोकेकाहरूले बजारमा खलबलीपूर्ण सफलताको नतिजा दिन सफल बने ।
परम्परागत रूपका वस्तु वा सेवाको बिक्रीको नियतले स्थापित गरिएका व्यवसायहरू बदलिँदो बजार मागअनुरूप आफूलाई बदल्दै स्थायी रूपमा व्यवसाय सञ्चालन गर्ने नियतमा व्यवसायहरूबाट विस्थापित बने । बिक्री प्रवद्र्धनमार्फत वस्तु वा सेवाको बजारीकरण सिकाउने शिक्षा पद्धति व्यवसाय प्रवद्र्धनका लागि आपसी विश्वास, आत्मीयता र भावनात्मक सम्बन्ध विकासमा गर्नुपर्ने विचारको स्कुल बोकेका शिक्षा पद्धतिका सामु पुड्को साबित भए ।
भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । भोलिको हाम्रो पुस्ताको रोजाइ यकिन नै गरिरहन नसक्दा पनि के हुनेछ भन्ने लगभग सङ्केत भने हामीलाई प्राप्त छ । स्कुलमा रमाउने हाम्रो आउँदो पुस्ता आजको कागज र सिद्धान्तमा सीमित हुने ज्ञानमा जकडिएको तालिम प्रविधिमा अल्झिने र रमाउने छैनन् । आफ्नो मन, वचन र कर्म आफूले छानेको व्यवसायको सफलताका लागि एकीकृत र समर्पित बन्नेछन् ।
नयाँ युग कृत्रिम बुद्धिमत्ताको युग हँुदै छ । त्यो युग जहाँ मानिसको पहुँचमा पुगेका सम्पूर्ण गुणहरूबाट प्राप्त गर्न सकिने फाइदाहरू मेसिनको प्रयोगबाट समाजले लिन सक्नेछ । नयाँ युग जहाँ कसैले अर्काले भन्दा चाँडो नयाँ सिद्धान्त वा प्रविधि पढ्ने वा हेर्ने अवसर पाएकै भरमा अर्कोभन्दा बुद्धिमान वा ज्ञानी कहलिने अवस्था रहनेछैन ।
न कुनै विद्यालय वा विश्वविद्यालयमा पुगेर अध्ययन गर्ने अनुकूलता मिलेकै भरमा पढेको मानिस विद्वान् वा बौद्धिक र अनुकूलता नमिलेको व्यक्ति अज्ञानी वा अबुझ हुने अवस्था कायमै रहिरहनेछ । पब्लिक डोमेनमा रहेका किताबी, कागजी, इन्टरनेट र विज्ञानको ज्ञानलाई मेसिनको सहयोगमा सजिलै मानिसको दिमाग र जरुरत हुने स्मार्ट डिभाइसहरूलाई सहजै उपलब्ध हुने युग हुनेछ, भोलिको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नयाँ युग ।
प्रत्येक नयाँ प्रविधिले नयाँ सामाजिक समस्याहरू र अरू बढी मानवीय गुणको जरुरत हुने प्रकृतिका मानव जनशक्तिको माग गर्नेछ । एआई युगको मानिसको जीवन शैली कम समय काम गर्ने र धेरै समय हिँडडुल र भ्रमणमा खर्चिने प्रकारको हुनेछ ।
सबैको हित, स्वस्थ प्रतिस्पर्धाको संस्कृति र स्व–अस्तित्वको स्वीकार्यता समेटिएको नीतिगत अवधारणाभित्र रहेर अर्काको असफलताबाट सिकेर दीर्घकालीन सफलताको सिद्धान्त पहिलाइनेछ । सुरुमा नौलो क्षेत्रमा असफलता हात लाग्नेछ । हरेक असफलता नयाँ उद्यम सिर्जना गर्ने व्यावसायिक उत्कृष्टता भित्र्याउने कडी बन्नेछ । विज्ञानका ज्ञानका उपलब्धिहरू एआईभित्र अटाउनेछन् । रोजगारीमूलक मानवीय बुद्धिका लागि वेदजस्ता ज्ञानको सहयोग लिइनेछ ।
(लेखक क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन् ।)

प्रतिक्रिया दिनुहोस्