गुणस्तरीय पर्यटन : भुटानबाट सिकौं «

गुणस्तरीय पर्यटन : भुटानबाट सिकौं

नेपालभन्दा सानो देश भए पनि भुटानबाट हामीले गुणस्तरीय पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । त्यसो त नेपालजस्तै हिमाली र भूपरिवेष्टित देश हो भुटान पनि । तर, पर्यटक भित्र्याउने र पर्यटन नीति बनाउने सन्दर्भमा भन्ने हो भनेचाहिँ नेपाल र भुटानको नीतिमा आकाश–जमिनको फरक देखिन्छ । किनभने भुटान सरकारले केवल संख्या बढाउनकै लागि भनेर जसलाई पायो त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वार्ती प्रवेश गराएको देखिँदैन । यसरी हेर्दा नेपालले जस्तो गुणस्तरमा भन्दा पनि संख्यामा ध्यान निदएर संख्या थोरै होस् तर आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटक धेरै खर्च गर्न सक्ने लक्जरी-डिलक्स नै हुन् भन्नेमा ध्यान दिएको देखिन्छ ।
भुटान सरकारको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्दा के प्रस्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक २ सय अमेरिकी डलर खर्च गर्नैपर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ र पिक गरेर दुई सिजनमा विभाजन गरेर पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि अफ सिजन (जनवरी, फेब्रुअरी, जुन, जुलाई, अगस्ट र डिसेम्बर) मा भुटान घुम्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने पिक सिजन (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) मा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । विदेशी पर्यटकहरू भुटानमा रहँदा तीनतारे होटलमा बस्नुपर्छ । चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यसरी बस्न चाहने विदेशी पर्यटकहरूले अतिरिक्त प्रिमियम तिर्नुपर्ने भनी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ, साथै यसरी भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीन जनाको गु्रप हुनैपर्ने नियम पनि भुटान सरकारले बनाएको छ ।
अझ भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक २ सय र २ सय ५० अमेरिकी डलर (सिजनअनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले ट्रेकिङ-ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वस्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । हुन त भुटान भ्रमणमा आउने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय र २ सय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरूको खानेपिनेको खर्चसमेत भुटान रहुन्जेल (व्यक्तिगत आवश्यकताबाहेक) ट्रेकिङ-ट्राभल कम्पनीले बेहोर्छ । त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । जस्तो कि पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै बाँकी सम्पूर्ण खर्च निःशुल्क, पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट, विद्यालय-विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको भए डेली प्याकेजमा २५ प्रतिशत छुटलगायतको विभिन्न छुट र अफरहरू लागू गरेको देखिन्छ ।
उता भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८.७६ प्रतिशत ट्राभल-टुर अपरेटरमार्फत बुक भएर आउने गरेको देखिन्छ भने भुटान आएका पर्यटकमध्ये ८३.८४ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । भुटान जान चाहने विदेशी पर्यटकहरूलाई भुटान सरकारले प्रतिव्यक्ति सिजनमा २ सय ५० अमेरिकी डलर र अफसिजनमा २ सय अमेरिकी डलर खर्च गर्नैपर्ने नियम लागू गर्दा पनि सन् २०१८ मा मात्रै २ लाख ७४ हजार ९७ जना विदेशी पर्यटकले भुटानको भ्रमण गरेको टीसीबीको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसरी हेर्दा गुणस्तरीय विदेशी भित्र्याउनका लागि पर्यटन नीति बनाउने सन्दर्भमा कहाँ भुटान, कहाँ नेपाल ? आकाश–जमिनकै फरक रहेको देखिन्छ । फेरि अर्को अचम्म के भने पर्यटकीय सिजनमा २ सय ५० अमेरिकी डलर र अफ सिजनमा २ सय अमेरिकी डलर दैनिक खर्च तोकिएको भए पनि लगभग ६० प्रतिशत भारतीय पर्यटकहरू भुटान गएको टीबीसीको तथ्यांकले देखाउँछ ।
—निनाम कुलुङ ‘मंगले’

 

प्रतिक्रिया दिनुहोस्