Logo

मुग्लिन–पोखरा सडकको भौतिक प्रगति १८.५ प्रतिशत

फाइल तस्बिर ।

काठमाडौं– मुग्लिन–पोखरा सडक विस्तार तथा स्तरोन्नति निर्माण सुरु भएको दुई वर्षमा भौतिक प्रगति १८.५ प्रतिशत र वित्तीय प्रगति ९.७ प्रतिशत रहेको छ । आयोजना सन् २०२१ को अप्रिलबाट सुरु भएको थियो । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सरकारले सडक विभाग मातहतको आयोजना निर्देशनालय (एडीबी)बाट निर्माण गरिरहेको छ ।

एडीबीको सहयोगमा सासेकअन्तर्गत मुग्लिन– पोखरा राजमार्ग सुधार आयोजनामार्फत ८०.३३ किलोमिटर सडक स्तरोन्नति दुई वर्षअगाडि सुरु गरेको थियो । मुग्लिन–पोखरा राजमार्गअन्तर्गत हाल निर्माणाधीन आबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा काम गरिएको छ । सडक विभागले हाल सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० अनुसार पूर्वी खण्डमा आँबु खैरेनीदेखि तनहुँकै जामुनेसम्म ४१.४५ किलोमिटर सडक छ भने पश्चिम खण्डमा तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्म ३८.८८ किलोमिटर सडक छ ।

०७९/८० मा १० किमि कालोपत्रे, २१ वटा पुल निर्माण र २ सय १० वटा कल्भर्ट निर्माण लक्ष्य रहे पनि प्रगतितर्फ १.६ किमि कालोपत्रे, १४ वटा पुल निर्माण र १ सय ३२ वटा कल्भर्ट निर्माण सम्पन्न

आयोजनाको म्याद सेप्टेम्बर २०२५ सम्म छ । आयोजनाको ८ पुल निर्माणाधीन, कालोपत्रेका लागि ५ किमि बेस निर्माण सम्पन्न भएको छ । बाँकी अवधिमा ७९ किमि कालोपत्रे, १५१ कल्भर्ट र १७ वटा पुल निर्माण गर्नुपर्नेछ । पूर्वी खण्डको योजना २०२१ अप्रिल २५ मा सुरु भएको हो भने २०२४ अप्रिल १४ मा निर्माण सक्ने लक्ष्य राखिएको छ । त्यस्तै पश्चिम खण्ड योजनाको सुरु २०२१ अगस्ट २९ मा भएको र २०२४ अगस्ट २८ मा सक्ने लक्ष्य रहेको छ ।

सेतीनदी र मादी नदीमा निर्माण हुने पुल तथा दुवै सडक खण्ड ३ वर्ष (सेप्टेम्बर २०२२– सेप्टेम्बर २०२५) निर्माण सम्पन्न गर्ने लक्ष्य छ । दुवै खण्ड र पुल गरी करिब १५ अर्ब २७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । आर्थिक वर्षमा ०७९÷८० मा १० किमि कालोपत्रे, २१ वटा पुल निर्माण र २१० वटा कल्र्भट निर्माण गर्ने लक्ष्य राखिएकोमा सो अवधिमा प्रगति भने १.६ किलोमिटरमात्रै कालोपत्रे भएको छ ।

उक्त अवधिमा १४ पुल र १३२ कल्भर्ट निर्माण सम्पन्न भएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ६२ करोड ९९ लाख विनियोजन भएकोमा २ अर्ब २५ करोड ७६ लाख खर्च भएको प्रगति विवरणमा उल्लेख छ ।
चालू आवका लागि मुग्लिन पोखरा सडका आयोजनाको पूर्वी खण्डका लागि ३ अर्ब १० करोड ५८ लाख १५ हजार रुपैयाँ र पश्चिम खण्डका लागि २ अर्ब ५ करोड ५७ लाख २५ हजार बजेट विनियोजन गरिएको छ ।

आव ०८०/८१ मा ७९ किलोमिटर सडक कालोपत्रे गर्ने, १ सय ५१ वटा कल्भर्ट निर्माण गर्ने र १७ वटा पुल निर्माण गर्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजनाको कार्यान्वयनमा देखिएको समस्यामा निर्माण व्यवसायीको स्रोत तथा साधन परिचालनमा ढिलाइ तथा कमजोर व्यवस्थापनका कारण आयोजनाले गति लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्