नेपालमा राजस्व परिचालन र खर्चको प्रवृत्ति «

नेपालमा राजस्व परिचालन र खर्चको प्रवृत्ति

विकासको तह मापन गर्ने प्रयोजनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९० देखि मानव विकास सूचकांकलाई आधारका रूपमा प्रयोग गर्दै आएको छ ।

राजस्वको आकार र यसको कुशलतापूर्वक गरिने खर्चले मुलुकको विकासलाई डो-याउने गर्छ । विकास एउटा यस्तो प्रक्रिया हो जसले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्वाधार, वातावरण र जनसांख्यिकीय पक्षका विविध आयममा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको हुन्छ । समग्रमा विकासले रोजगारी सिर्जना गरी जनताको आयआर्जनमा वृद्धि ल्याई खर्च गर्ने क्षमता बढाई उनीहरूको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सहयोग गर्छ ।
नेपाल सरकारको कुल वार्षिक बजेट मुख्यतः तीनवटा शीर्षकहरू जस्तै चालू, पुँजीगत र वित्तीय व्यवस्थाअन्तर्गत खर्च हँुदै आएको छ भने उक्त खर्च बेहोर्ने स्रोतका रूपमा कर र गैरकर राजस्व, वैदेशिक अनुदान र अन्य स्रोतजस्तै गत वर्षको बेरुजु रकम र मूल धनको लगानी फिर्ता रहेका छन् । महालेखा नियन्त्रणको कार्यालयले तयार गरेको एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४ अनुसार चालू खर्चअन्तर्गत पदाधिकारी तथा कर्मचारीहरूको तलब, सञ्चय कोष रकम र वार्षिक ग्रेड वृद्धि, मालसामान सेवा जस्तै पानी, बिजुली, इन्धन आदिको उपयोग, मर्मत–सम्भार, बिमा, तालिम तथा गोष्ठी, अनुगमन, मूल्यांकन, भ्रमण आदि आन्तरिक तथा वैदेशिक ऋणको ब्याज भुक्तानी सेवा–शुल्क तथा बैंक कमिशन, सार्वजनिक तथा सामाजिक संघ–संस्थाहरूलाई सहायता, प्रदेश, स्थानीय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई दिइने अनुदान, असहाय, अपांग, विधवा वा राज्यले दायित्व बेहोर्ने निर्णय गरेका व्यक्तिहरूलाई प्रदान गरिने आर्थिक सहायता वा अनुदान, बिरामीहरूका लागि दिइने खाना खर्च, बन्दीहरूका लागि दिइने खाना, सिधा, कपडा र अन्य सहुलियत, छात्रवृत्ति, सामाजिक सहायता, औषधि खरिद, सेवानिवृत्त सुविधाहरू तथा उपदान, घर, जग्गा तथा मेसिन औजारहरूको भाडा, फिर्ता खर्च र भैपरी चालू खर्च आदि पर्छन् ।
त्यसैगरी पुँजीगत खर्चअन्तर्गत भवन खरिद तथा निर्माण, निर्मित संरचनाको सुधार खर्च, फर्निचर तथा फिक्चर्स, सवारी साधन तथा मेसिन औजार, पशुधन तथा वागवानी विकास खर्च, कम्प्युटर सफ्टवेयर खरिद एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति, सुरक्षा उपकरण खरिद, सडक तथा पुलनिर्माण, रेलमार्ग तथा हवाई मैदान निर्माण, विद्युत् संरचना निर्माण, सिँचाइ, खानेपानी तथा सरसफाइ संरचना निर्माण, वन तथा वातावरण, अन्य सार्वजनिक निर्माण, पुँजीगत अनुसन्धान तथा परामर्श, मुद्राको संरक्षणमा प्रयुक्त सुन, अन्तर्राष्ट्रिय मुद्राकोष तथा अन्य संस्थामा प्राप्त गरेको स्पेसियल ड्रइङ राइट्सको मौद्रिक मूल्य, निष्कासित नेपाली मुद्रा, सञ्चित वैदेशिक मुद्रा, खुद ऋण लगानी, संस्थामा सेयर लगानी आदि पर्छन् ।
आ.व. ०७०-७१ को कुल राजस्वमा कर राजस्वको योगदान ७१.८१ प्रतिशत, गैरकर राजस्व १०.१५ प्रतिशत, वैदेशिक अनुदान १०.०४ प्रतिशत, अघिल्लो आर्थिक वर्षको बेरुजु १.४५ प्रतिशत र बजेट न्यूनता ६.५४ प्रतिशत रहेको पाइन्छ । त्यसैगरी आ.व. ०७४-७५ को कुल राजस्वमा कर राजस्वको योगदान ६०.६६ प्रतिशत, गैरकर राजस्व ६.१८ प्रतिशत, वैदेशिक अनुदान ३.९० प्रतिशत, अघिल्लो आर्थिक वर्षको बचत तथा बेरुजु ०.५१ प्रतिशत र बजेट न्यूनता २८.७५ प्रतिशत रहेको छ । यस तथ्यबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कुल राजस्वमा कर राजस्वको योगदान घट्दोे दरमा छ भने हरेक वर्ष घाटा बजेट बट्दो दरमा रहेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४-७५ मा कार्यात्मक वर्गीकरणको खर्च विवरण अनुसार कुल खर्च रु. १० खर्ब ८४ अर्ब ६८ करोड २० लाखमध्ये सबैभन्दा बढी सामान्य सार्वजनिक सेवामा रु. ४ खर्व ३ अर्ब ६२ करोड ८१ लाख (३७.१ प्रतिशत) र आर्थिक मामिला अन्तरगत रु. ३ खर्ब ८८ अर्ब ९२ करोड ९९ लाख (३५.९ प्रतिशत) खर्च भएको छ । यसैगरी सार्वजनिक शान्ति सुरक्षामा ५ प्रतिशत, आवास तथा सामुदायिक सुविधामा ४.७ प्रतिशत, रक्षामा ४.४ प्रतिशत, शिक्षामा ४.२ प्रतिशत, सामाजिक सुरक्षामा ३.६ प्रतिशत, स्वास्थ्यमा ३.३ प्रतिशत, वातावरण संरक्षणमा १.२ प्रतिशत र मनोरञ्जन, संस्कृति तथा धर्ममा ०.५ प्रतिशत खर्च भएको देखिन्छ ।
नेपालको वार्षिक कुल खर्चमा पुँजीगत र वित्तीय व्यवस्थाको तुलनामा चालू खर्च अधिक रहेको छ । आ.व. ०७०-७१ मा कुल खर्च रु. ४ खर्ब ३५ अर्ब ५ करोड ५२ लाखमध्ये चालु खर्च रु. ३ खर्ब ३ अर्ब ५३ करोड १७ लाख (६९.७७ प्रतिशत), पुँजीगत खर्च रु. ६६ अर्ब ६९ करोड ४७ लाख (१५.३३ प्रतिशत) र वित्तीय व्यवस्थामा रु. ६४ अर्ब ८२ करोड ५८ लाख (१४.९० प्रतिशत) रहेको थियो । आ.व. २०७४-७५ मा कुल खर्च रु. १० खर्ब ८७ अर्ब २७ करोड ९८ लाखमध्ये चालू खर्च रु. ६ खर्ब ९६ अर्ब ९१ करोड ९५ लाख (६४.१० प्रतिशत), पुँजीगत खर्च रु. २ खर्ब ७० अर्ब ७१ करोड ३६ लाख (२४.९० प्रतिशत) र वित्तीय व्यवस्थामा रु. १ खर्ब १९ अर्ब ६४ करोड ६६ लाख (११ प्रतिशत) रहेको छ ।

राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेका कारण मुलुकमा अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरू सन्तोषजनक रहेको र ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान आ.व. ०७५-७६ को आर्थिक सर्वेक्षणले गरेको छ । साथै, आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको र प्रतिव्यक्ति आय रु. १ लाख १७ हजार ४ सय ५५ (अमेरिकी डलर १ हजार ३४) पुग्ने अनुमान नेपाल सरकारले गरेको छ ।
मुलुकको सन्तुलित विकासका लागि चालू खर्च र पुँजीगत खर्च दुवैको उत्तिकै महŒव रहन्छ । चालू खर्चअन्तरगत प्रशासनिक खर्चलाई व्यवस्थित र आवश्यकताको आधारमा खर्च गर्ने र पुँजीगत खर्चलाई बढी प्रभावकारी रूपमा समयमै खर्च गरी विकास–निर्माणलाई गति दिन सके जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सहज हुने हुँदा यसतर्फ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बढी जिम्मेवार भएर काम गर्ने बेला आएको छ । चालू खर्चअन्तर्गत पनि प्रदेश र स्थानीय तहले प्राप्त गर्ने अनुदान रकमको प्रभावकारी कार्यान्वयनसँग देशको विकास जोडिएकाले वित्तीय हस्तान्तरण अन्तर्गत जति सक्यो अधिक बजेट तल्लातहहरूमा पु-याउन सके विकासले निरन्तरता पाउन सक्ने देखिन्छ ।
त्यसैगरी पुँजीगत खर्चअन्तरगत सवारी साधन र सुरक्षा उपकरण खरिदमा भन्दा उत्पादन र रोजगारी वृद्धिमा सहयोग पुग्ने मेसिन औजार, सडक तथा पुल निर्माण, रेलमार्ग तथा हवाई मैदान निर्माण, विद्युत् संरचना निर्माण, सिँचाइ, खानेपानी तथा सरसफाइ संरचना निर्माण, वन तथा वातावरण, अन्य सम्भाव्य सार्वजनिक निर्माणका क्षेत्रमा लगानी वृद्धि गर्न सके विकासको अनुभूति जनस्तरमा हुनेछ ।
अन्त्यमा, विकासको तह मापन गर्ने प्रयोजनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९० देखि मानव विकास सूचकांकलाई आधारका रूपमा प्रयोग गर्दै आएको छ । तसर्थ मानव विकास सूचकांकमा सुधार ल्याउनसमेत स्वास्थ्य, शिक्षा र आर्थिक क्रियाकलापलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने गतिविधिमा बजेटको प्रभावकारी कार्यान्वयन हुनु आवश्यक छ । तसर्थ खर्च गर्ने निकायहरूले उपलब्ध स्रोतबाट बढीभन्दा बढी जिम्मेवारीबोधका साथ जनताको हितमा काम गर्न सके मात्र वार्षिक बजेटबाट लक्ष्य हासिल गर्न सहज हुन्छ ।
(लेखक वित्तीय विकेन्द्रीकरणविद् हुन् ।)

प्रतिक्रिया दिनुहोस्