औद्योगिक क्षेत्रमै दैनिक १५ पटक विद्युत् कटौती «

औद्योगिक क्षेत्रमै दैनिक १५ पटक विद्युत् कटौती

मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने–जाने गर्दा उद्योगीहरू हैरान भएका छन् । सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरू अघोषित विद्युत् कटौतीले झनै निराश बनेका छन् ।
“हाम्रो समस्या कहाँ पोखौं ?” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिर प्रश्न गर्छन्, “समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ ?” विद्युत् कटौतीले हैरान भएपछि संगठनले विद्युत् प्राधिकरणका प्रमुखसहित उद्योगी व्यवसायीसँग छलफलसमेत गरेको छ । अध्यक्ष घिमिरेले नेपाल विद्युत् प्राधिकरणको औद्योगिक लोडसेडिङले मेनरोड र ट्रिपिङको कारण उद्योगी÷व्यवसायी आक्रान्त भएको गुनासो पोखे । “बारम्बार विद्युत् अवरुद्ध हुँदा एकातर्फ उत्पादनमा ह्रास आई कच्चापदार्थ खेर गइरहेको छ भने अर्काेतर्फ उद्योगका मेसिन बिग्रिँदा उद्योगीहरू ठूलो नोक्सानी बेहोर्न बाध्य छन्,” घिमिरेले भने, “तत्काल समस्या सामाधान नगरे ताला चाबी विद्युत् प्राधिकरणलाई बुझाउँछौं ।”
उत्पादन प्रक्रियामा मेसिनभित्र रहेको सामग्री विद्युत् जाँदा बिग्रिने गर्दछन् । यसबाट प्लाष्टिकजन्य उद्योगहरू बढी मारमा परेको संगठनका सदस्यसमेत रहेका नन्दकिशोर राठीले बताए । अध्यक्ष घिमिरेले विद्युत्कोे अवस्थाका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए । विद्युत् कटौती हुँदा उत्पादन लागत झनै बढेको उनको भनाइ छ । कटहरी क्षेत्रका उद्योग विद्युत् समस्याको बढी मारमा परेको उपाध्यक्ष राजेश सुरानाले बताए । भोल्टेज तल–माथि र लो भोल्टेजको समस्या कटहरी क्षेत्रमा वर्षौंदेखि छ ।
नेपालको विद्युत् लोड घट्दा ढल्केवर प्रशारण लाइनको जोड्दा र कटैयाको काटिँदा समस्या भएको उपाध्यक्ष सुरानाले सुनाए । “बढ्दा ढल्केवर काटिन्छ अनि कटैया जोडिन्छ । घट्दा ढल्केवर जोड्ने र कटैयाको काट्ने गरिन्छ,” सुरानाले भने । भारतको कटैयाबाट आउने र ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइन दुवै एउटै लाइनबाट विद्युत् प्रशारण गरिँदा विद्युत् कटौती नहुने उनको भनाइ छ । कटैयाबाट हाल १२० मेगावाट विद्युत् आयात भइरहेको छ । त्यस्तै इलामलगायत आन्तरिक उत्पादन करिब ४० मेगावाटसहित कोशीपूर्व हाल १६० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । कोशीपूर्वको माग पनि १६० देखि १८० मेगावाट छ । सही रूपमा विद्युत् आपूर्ति हुने हो भने यो क्षेत्रमा लोडसेडिङ हुँदैन । विद्युत् कटौती र भोल्टेज अप–डाउनका कच्चापदार्थ र मेसिन बिग्रिने समस्या देखिएको सुरानाले बताए । केही समययता उत्पादनमा समेत ह्रास आएको उनको भनाइ छ ।
संगठनका उपाध्यक्ष प्रदीप मुरारका र राजकुमार गोल्छाले विद्युत्का कारण उद्योग÷व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको बताए । उपाध्यक्ष गोल्छाले विद्युत् समस्याकै कारण जुट उद्योगको उत्पादन कटौती गर्नु परेको दुखेसो पोखे । संगठनका कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुनिल धनावत, तारानाथ निरौला, विपीन काबरालगायतले नेपाल विद्युत् प्राधिकरणले जनशक्तिको विकास र परिचालनमा समेत ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनीहरूले पूर्वसूचनासमेत नदिई विद्युत् कटौती गर्ने गरेको गुनासो पोखे ।
प्राधिकरण विराटनगर शाखाका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत् चेन्जओभर गर्नुपर्ने भएकाले पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको प्रस्ट्याए । शाखा प्रमुख सिंहले केही दिनअघि आएको बाढीका कारण विद्युत् प्राधिकरणलाई ठूलो क्षति हुनुका साथै ठाउँ–ठाउँमा विद्युत्को पोलका साथै रुखहरू विद्युत् लाइनमा ढल्नाले वितरण प्रणालीमा समस्या आएको बताए । प्राधिकरणले आफ्नो स्रोत र साधन परिचालन गरी मर्मत गरिरहेको उनले दाबी गरे । “विद्युत् पोल ढलेकाले केही समस्या देखिएको छ,” सिंहले भने, “अब केही दिनभित्रै समस्या समाधान गर्ने गरी काम भइरहेको छ ।”
दुहवी ग्रिड प्रमुख रेवतकुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरू लामो दूरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यसक्षेत्रको उद्योगहरूमा आपूर्ति गरिएको विद्युत्मा भोल्टेज ड्रप हुने समस्या समाधानका लागि प्राधिकरणले काम सुरु गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्