श्री एयरलाइन्सले पायो भारत र बंगलादेशका लागि उडान अनुमति

दुई वर्षअघि आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले बुधबार ५ वटा अन्तर्राष्ट्रिय नयाँ गन्तव्यका लागि अनुमति पाएको छ ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले कारोबारसंग भने, “भारतका ४ वटा सहर र बंगलादेशको एउटा सहरमा उडानका लागि अनुमति पाएका छौं, बुधबारै पत्र पनि बुझ्यौं ।”
उनका अनुसार भारतका दिल्ली, बैग्लोर, कलकत्ता र अहमदाबाद र बंगलादेशको राजधानी ढाकाका लागि उडानको अनुमति पाएको हो । श्रीसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली विमानको संख्या ४ पुगेको छ । अहिले नेपाल एयरलाइन्स, बुद्ध एयर र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
अब कम्पनीले नागरिक उड्ययन प्राधिकरणबाट उडानको अनुमति लिनुपर्नेछ । मानन्धरका अनुसार अब दिल्ली र भारतको एभिएसनबाट कस्तो जवाफ आउँछ सोही अनुसार सक्दो छिटो उडान गरिनेछ । उनले भने, “एकै पटक सबै ठाउँमा गर्दैनौ, सुरुमा २ वटा ठाउँबाट उडान सुरु गर्छौ ।”
सन् २०१७ अगस्ट ११ तारिखदेखि आन्तरिक उडान सुरु गरेको कम्पनीसँग ७० सिटे २ वटा, ५० सिटे २ वटा जहाज छन् । साथै थप २ वटा जहाँ ल्याउने तयारी गरेको छ । मानन्धरका अनुसार अर्को साता एउटा जहाज आइपुग्नेछ । एयरलाइन्ससँग एचईएमआई ७० हेलिकप्टर ६ वटा छन् ।