Logo

जुम्लामा एनसेलको फोरजी सेवा

काठमाडाैं– एनसेल आजियाटाले कर्णाली प्रदेशको जुम्लामा फोरजी सेवा सुरु गरेको छ । एनसेलले आधुनिक मोबाइल ब्रोडब्याण्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने योजनाअनुरुप जुम्लामा फोरजी सेवा सुरु गरेको हो ।

जिल्लाको चन्दननाथ नगरपालिका, तिला र तातोपानी गाउँपालिकामा एक–एक वटा नयाँ टावर जडान गरेको कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्याण्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका स्थानीय पहिले नै लाभान्वित भइरहेका छन् । यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।

चन्दननाथ नगरपालिका, तिला र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि यसको पहुँच पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको एनसेलको दावी छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरले फोरजी सेवाको पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै जुम्लाका जनताका लागि सेवा उपलब्ध गराउन फोरजीलाई उच्च प्राथमिकतामा राखेको बताए ।

एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको एनसेलले जनाएको छ । त्यसैगरी ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । देशभर गरी एनसेलको ४ हजारभन्दा बढी फोरजी टावर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्