Logo

पोखराको पाँच तारे होटल ‘बाराही सेदी’को आईपीओमा जाने

काठमाडौं– पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’ मानिने काठमाडौं पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सञ्चालनमा ल्याउन सफल बाराही हस्पिटालिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न भएको छ । ६ अर्ब लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ भने बाँकी ४९ प्रतिशत मध्ये १० प्रतिशत आईपीओमा जाने योजना छ ।

यसैगरी ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । बाराही सेदी लिमिटेडले गत मंसिरदेखि न्युनतम १० लाख रुपैयाँबाट प्रमोटर सेयस लिन सुरू गरेको हो । हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन् भने बाँकी १६ प्रतिशतका लागि लगानी गर्न खुल्ला रहेको उनले बताए । क्यासिनो समेत रहने होटलमा १२ सय जना क्षमताको सभाहल निर्माणको हुँदैछ ।

उक्त हल निर्माण पछि नेपालकै ठूलो सभाहल बन्ने थापाले बताउँछन् । सन् २०२६ बाट सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताइएको छ । होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमा १४० लक्जरी रूम, १० वटा प्रेसिडेन्सियल स्वीट रुम, ११ वटा सर्भिस अपार्टमेन्ट रहनेछ । कम्पनीले वातावणीय प्रभाव मूल्यांकन (इआईए) तथा नक्सा पास लगायतका प्रक्रिया पूरा गरी होटल निर्माण कार्य गरिरहेको थापाले जानकारी दिए ।

‘सबै प्रक्रिया पूरा गरि हामी काम गरिरहेका छौं’ थापाले भने, ‘पोखरामा विगतमा लक्जरी होटलको अभाव रहेको थियो । सरकारले सन् २०१४ मा आयोजना गर्ने भनेको सार्क समिट सेवा सुविधाको अभावमा आयोजना हुन सकेको थिएन । तर बाराही सेदी सञ्चालनमा आएपछि भने यस्तो समस्या नहुने हाम्रो विश्वास छ ।’

४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रपले हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ । पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए ।

सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको हो । पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन् । हस्पिटालिटीअन्तर्गत चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौं सञ्चालनमा छन् । यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एण्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्