यातायात सेवा थपिएपछि पूर्वाधारको राजस्व बढ्यो

लमजुङ– यातायात सम्बन्धी सेवा प्रवाह थपिएसँगै पूर्वाधार विकास कार्यालयको राजस्व पनि बढेको छ ।
अघिल्लो आर्थिक वर्षबाट पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायात सेवा प्रवाह थप भएपछि कार्यालयको राजस्व वृद्धि भएको हो । पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा मात्रै चार करोड बढी रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयबाट प्रवाह हुने विभिन्न प्रकृतिका सेवाबाट चार करोड १६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयले दिएको वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा कार्यलयले सवारीसाधन करवापत मात्रै तीन करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयमा अघिल्लो आर्थिक वर्षबाट यातायात सेवा प्रवाह भएसँगै कार्यालयको राजस्व वृद्धि भएको हो । गत आर्थिक वर्षमा सवारीसाधन करअन्तर्गत तीन करोड ३५ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
सोबाहेक चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत ६८ लाख ९६ हजार राजस्व संकलन भएको छ । त्यसैगरी कार्यालयले गत आर्थिक वर्षमा यातायात क्षेत्रको आम्दानी शीर्षकमा आठ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ । सोबाहेक प्रशासनिक दण्ड जरिवाना र जफतबाट ८६ हजार रुपैया र अन्य प्रशासनिक सेवा शुल्कवापत एक लाख ६७ हजार रुपैया राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा मात्रै ६ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा सवारीसाधन करवापत मात्रै चार करोड बढी रकम राजस्व संकलन भएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ । पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा आएको बजेटमध्ये करिब ५४ प्रतिशतमात्रै वित्तीय प्रगति भएको जनाएको छ ।
संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७९/०८० मा चालु र पुँजीगततर्फ गरी ५४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो । गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा ८२ करोड ९६ लाख रुपैयाँ आएको थियो । सोमध्ये ४४ करोड ८६ लाख रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।