Logo

अलैंचीलाई उच्च प्राथमिकतामा राख

मसलाजन्य वस्तु अलैंचीको विश्व बजारमा ठूलो माग भए पनि नेपालले त्यसबाट फाइदा उठाउन सकेको छैन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र फेडेरेसन अफ नेपाल एक्सपोट्र्स एसोसिएसनले गरेको एक अनुसन्धानले अलैंचीको विश्व बजार १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको देखाएको छ । विश्वमा सबैभन्दा धेरै अलैंची उत्पादन नेपालमै हुन्छ । तर, विश्व बजार भने अन्य मुलुकका उत्पादनले लिएको अवस्था छ ।

कुल विश्व बजारको मागमा नेपालको निर्यात ८ अर्ब २७ करोडमा सीमित छ । प्रतिशतमा हेर्ने हो भने यो ५ प्रतिशत वरपर मात्र देखिन्छ । यही अध्ययनले विश्व बजारमा नेपालबाट ४० अर्बको अलैंची निकासी गर्न सक्ने सम्भावना रहेको देखाएको छ । यति धेरै निर्यातको सम्भावना भए पनि हामीले अवसरलाई गुमाइरहेको अवस्था छ । अलैंची उत्पादन र निर्यात दुवै प्रत्येक वर्ष बढ्दै जानुपर्नेमा त्यसो हुन सकेको छैन । कहिले सामान्य रूपमा बढ्ने र कहिले कमी आउने प्रवृत्तिलाई हेर्दा हामीले यसमा खासै मेहनत अथवा ध्यान दिन सकेको देखिँदैन ।

गत वर्ष नेपालबाट झन्डै १ करोड किलो अलैंची निर्यात गरिएको छ । यो अघिल्लो वर्षभन्दा ७२ प्रतिशतले धेरै थियो । तर सधैं यही गतिले निर्यातमा बढोत्तरी भएको छैन । विश्व बजारको माग र हाम्रो उत्पादन क्षमतालाई हेर्दा अलैंची निकासीको वृद्धिदर यस्तै हुनुपर्ने थियो । नेपालका ६ प्रदेशमा पर्ने ५४ जिल्लाको १६ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ । त्यसमा पनि सबैभन्दा बढी ताप्लेजुङ जिल्लामा अलैंची उत्पादन हुन्छ ।

अहिलेको क्षेत्रफललाई बढाउने आधार प्रशस्त छन् । तर, त्यसप्रति सरकारले ध्यान दिन सकेको छैन । अलैंची खेतीका लागि सरकारले सिँचाइ सुविधा पुर्‍याउन सकेको छैन । यो खेती आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ । नेपालबाहेक छिमेकी देशहरू भारत र भुटानमा पनि यसको उत्पादन राम्रै हुन्छ । नेपाली अलैंचीको लगभग पूरै हिस्सा भारत जान्छ । गत आवमा निर्यात भएको अलैंचीमध्ये भारतमा ९९.७ प्रतिशत पुगेको थियो ।

अलैंचीबाट फाइदा लिने हो भने सबैभन्दा पहिलो कदम भारत निर्यात रोक्नुपर्छ । हाम्रो अलैंची भारतले आफ्नो नामबाट बेचिरहेको छ, त्यो पनि उच्च मूल्यमा ।

तर, भारतले नेपाली अलैंचीलाई भारतीयका नाममा तेस्रो मुलुक निर्यात गरिरहेको छ । अलैंचीको मुख्य बजार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश, चीन, भारत, कुवेत, इजिप्ट, जोर्डन, अमेरिका, सिंगापुर र नेदरल्यान्ड्स हुन् । यी मुलुकमा सबैभन्दा बढी अलैंची निर्यात भारतले गर्दै आएको छ । तर, उत्पादन भने सबैभन्दा धेरै नेपालमा हुन्छ । भारतले नेपालबाट प्रतिटन ६ हजार ९ सय २१ अमेरिकी डलरमा खरिद गरेको अलैंची साउदी अरेबियामा प्रतिटन २५ हजार ३९ डलरमा बिक्री गरिरहेको अध्ययनले देखाएको छ ।

यो एउटा उदाहरण मात्र हो । अन्य मुलुकहरूमा पनि यस्तै गरी उच्च मूल्यमा भारतले अलैंची पुर्‍याइरहेको छ । यो तथ्यांकले हामीले कति घाटा खाइरहेका छौं भन्ने प्रस्ट पारेको छ । नेपाली अलैंची विभिन्न १० मुलुकमा सजिलैसँग निकासी गर्न सकिने त्यही अध्ययनले बताएको छ । साउदी अरेबिया, अमेरिका, युएई, नर्वे, स्वीडेन, जर्मनी, युके, डेनमार्क, मलेसिया, इराकलगायत मुलुकमा निकासी गर्न ठूलो मेहनतको आवश्यकता पर्दैन । तर, हामी भारतलाई दिएर बसिरहेका छौं ।

हाम्रो वैदेशिक व्यापारमा उच्च व्यापारघाटा हुनु यस्ता सम्भावनाका क्षेत्रहरूमा सफलता हासिल गर्न नसकेर नै हो । यो अलैंचीको एउटा उदाहरण मात्र हो । हामीसँग विश्व बजारमा बेच्न सक्ने सयौं वस्तु छन् । तर, सरकार गम्भीर नहुँदा केही पनि हुन सकेको छैन । अलैंची निर्यातबाट कम्तीमा पनि राज्यले ४० अर्ब आर्जन गर्न सक्ने देखिनु अहिलेको हाम्रो कुल निर्यात व्यापारको अंशलाई हेर्दा सानो कुरा होइन । अध्ययनले देखाएजस्तै गरी अलैंची निर्यात बढाउन सरकार गम्भीर छ भने नतिजा हाम्रा पक्षमा ल्याउन केही न केही परिश्रम गर्नैपर्छ ।

अलैंचीबाट फाइदा लिने हो भने सबैभन्दा पहिलो कदम भारत निर्यात रोक्नुपर्छ । हाम्रो अलैंची भारतले आफ्नो नामबाट बेचिरहेको छ, त्यो पनि उच्च मूल्यमा । हामीले भारतलाई बेच्ने भाउभन्दा दोब्बरभन्दा धेरै मूल्य राखेर उसले अरू मुलुकमा पठाइरहेको छ । नेपालबाट किनेको अलैंचीमा भारतले खासै मूल्य अभिवृद्धि पनि गर्नुपरेको छैन । तैपनि उसले राम्रो लाभ लिइरहेको छ । हाम्रो उत्पादनबाट भारतले लाभ लिने विषय किमार्थ मान्य छैन । त्यसैले अलैंचीबाट लाभ लिने हो भने सरकारले आगामी दिनमा भारतबाहेकको बजार खोज्नु अनिवार्य भएको छ ।

विदेशी मुलुकहरूले कस्तो अवस्थाको अलैंची लिने गरेका छन्, हामीले त्यस्तै रूपमा तयार गरी निर्यात गर्न सक्नुपर्छ । यसका लागि सबैभन्दा पहिले नेपाली ब्रान्ड बनाउनु आवश्यक छ । आफूले काम गर्न नसकेपछि भारतलगायत अन्य कुनै मुलुकलाई दोष दिने विषय राम्रो होइन । आफैंले गर्न नसकेको हो । आफ्नै कमजोरी हो । विश्वभरमा सबैभन्दा बढी उत्पादन हुने र उत्पादित वस्तु पनि निकै उच्च कोटीको हुँदाहुँदै हामीले यसबाट लाभ उठाउन सकेनौं भने अरू केही पनि गर्न सक्दैनाैं ।

प्रतिक्रिया दिनुहोस्