Logo

कर्णालीमा नियमित उडान नहुँदा ज्यान गुमाउँदै नागरिक

जुम्ला– नागरिक उड्डयन प्राधिकरणले कर्णालीका हिमाली जिल्लामा मध्यान्ह १२ बजेपछि हवाई उडान नगर्ने निर्णय गरेपछि यहाँका नागरिकले सास्ती खेपेका छन् । यही साउन १५ गतेदेखि मध्यान्ह १२ बजेपछि जहाज सञ्चालन गर्न नपाउने निर्णयले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुका नागरिकले सास्ती खेपेका हुन् ।

साउन १५ गतेयता नियमित उडान नहुँदा चार जनाको मृत्यु भएको छ । प्राधिकरणले हिमाली जिल्लामा बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै उडान गर्ने र १२ बजेपछि उडान नगर्ने निर्णयको प्रत्यक्ष असर कर्णालीमा परेको छ । हिमाली जिल्लामा बिहान ६ देखि १०–११ बजेसम्म मौसम खुल्दैन । १२ बजेपछि मात्रै मौसम खुल्छ । तर प्राधिकरणले १२ बजेपछि उडान नगर्ने निर्णय गर्दा कर्णालीमा सास्ती भएको हो ।

हुम्लाकी बाँचु सुनार भन्छन्, ‘प्राधिकरणले कर्णालीको हवाई यात्रा ठाडो सेण्डिकेट लगायो । नियमित उडान नहुँदा नागरिक मरिररहेका छन् । हप्तादेखि विमानस्थल धाइरहेका छन् । तत्काल यो निर्णय सच्याइनु पर्छ ।’ दुर्गमका नागरिकको अवस्थालाई नबुझेर प्राधिकरणले गरेको नियमले नागरिक ज्यान गुमाउन बाध्य छन् । क्यानको निर्णयपछि जहाज कुर्दाकुर्दै हुम्लामा चार जनाको मृत्यु भएको छ ।

प्राधिकरणको नियमयले कर्णालीका मान्छे मरे यसको क्षतिपूर्ति कसले दिने भन्दै जुम्लाका नागरिक अगुवा राजबहादुर महतले आक्रोस व्यक्त गरे । उनले भने, ‘जुम्लामा पनि नियमित उडान छैन । दुर्गम हुम्ला, मुगु डोल्पामा उडान ठप्प हुँदा चार जनाले ज्यान गुमाउनु परेको सुन्दा दुःख लाग्यो । राज्य कहिलेसम्म कर्णालीप्रति अनुदार होला ?’

जहाज कुर्दा कुर्दै चार बालकको मृत्यु

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मध्यान्ह १२ बजेपछि कर्णालीमा जहाज उड्न नदिने निर्णय गरेपछि हुम्लाका चारजना बालकको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । जहाजको पर्खाइमै रहेका नागरिकले ज्यान गुमाउनुभन्दा ठूलो पीडा के होला ? नियमित उडान नहुँदा पछिल्लो एक महिनाको अवधिमा चार बालकले अकालमै ज्यान गुमाउन बाध्य भएका हुन् ।

जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा समयमै उपचार नपाउँदा चार बालकले ज्यान गुमाएका थिए । उनका अनुसार नियमित हवाई उडान नहुँदा जटिल खालका बिरामीलाई जिल्ला बाहिर लैजान कठिनाइ भएको छ । प्राधिकरणले मनसुन अवधिभर दुर्घटनाको जोखिम हुने भन्दै १२ बजेपछि उडान नगर्ने भन्दै कर्णाली तथा सुदूरपश्चि प्रदेशका हिमाली जिल्लामा कडाई गर्दा नागरिक मारमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्