मर्स्याङ्दी जलविद्युतका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेका जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिका जग्गा स्थायी रूपले प्राप्त गर्न मुआब्जा निर्धारण गरिएको हो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ जना व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको हो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजारका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
सहायक प्रजिअ गैरेका अनुसार उक्त ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ । उनका अनुसार जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार आवश्यक पर्नेछ । त्यसमध्ये जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार वितरण गरिनेछ ।
प्रशासन कार्यालयले सो जग्गा प्राप्ति गर्नका लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ सूचना प्रकाशित गरेको छ । उक्त सूचना अनुसार मुआब्जासम्बन्धी प्रकाशित नामावलीमा चित्त नबुझेमा सूचना प्रकाशन भएको (२०८० साउन २७) मितिले १५ दिनभित्र गृह मन्त्रालयमा कार्यालय समयभित्र निवेदन दिन अनुरोध गरिएको छ ।
६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए ।