Logo

विद्यालय सुधारमा स्थानीयबासी

दाङ– जिल्लाको सदरमुकाम घोराही बजारसँगै रहेको एक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि स्थानीय बासिन्दाले चन्दा संकलन गरेर बढेका छन् । घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीमा रहेको आधारभूत विद्यालय गिठेपानीको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन गरिएको थियो ।

चन्दामार्फत् करिब नौ लाख रुपैयाँ संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पटकपटक विभिन्न निकायमा धाए पनि कुनै पनि सहयोग नपाएपछि चन्दा अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले बताए ।

माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन तथा सञ्चालन स्थानीय सरकारलाई भए पनि त्यसअनुसार काम गर्न नसकेको शिक्षाका सरोकारवाला बताउँछन् । ‘धेरै पटक विद्यालय सुधारका लागि विभिन्न निकायमा माग गरिए पनि सहयोग नभए पछि चन्दा संकलन गरेका हौं,’ उनले भने । कतैबाट पनि सहयोग नपाए पछि सबै सरोकारवालासँग छलफल गरेर चन्दा संकलन अभियान सुरु गरिएको थियो ।

‘विद्यालयमा अभावै अभाव रहेकाले हामी बाध्य भएर यस प्रकारको अभियान सुरु गरेका हौं,’ उनले भने । चन्दाका लागि घरघरमा पुगेर संकलन गरिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समाजसेवी तथा शिक्षा प्रेमीसमेत घर दैलोमा पुगेका थिए । स्थानीयबासीले आफ्नो इच्छाअनुसार सहयोग गरेको अध्यक्ष वली बताउँछन् । ‘घरघरमा पुग्दा सबैको सकारात्मक सहयोग पाएका हौं,’ अध्यक्ष वलीले भने ।

विद्यालयमा कक्षा कोठा, कक्षा कोठामा बेन्च डेस्क, बोर्ड, पुस्तकालय, शौचालय लगायतका सामग्रीसमेत अभाव रहेको उनले बताए । यसरी अभाव हुँदा विद्यालयको पठनपाठन गर्न समेत समस्या हुने गरेको उनी बताउँछन् । सबैको सहयोगमा नै विद्यालयको भौतिक तथा शैक्षिक सुधार गरिने उनको भनाइ छ । ‘हामीले भौतिक सुधारमात्र नभई शिक्षाको गुणस्तरमा पनि सुधार ल्याउने अभियानमा रहेका छौं,’ अध्यक्ष वलीले भने ।

शिक्षा निजी क्षेत्रको भन्दा कुनै कमी हुन नदिने गरी आफूहरू सुधारको अभियानमा लागेको उनको भनाइ छ । ‘विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाउने योजना छ,’ उनले भने । विद्यालय सुधार भएमा यस क्षेत्रका बालबालिकालाई अध्ययन गर्नसमेत सहज हुनेछ । विद्यालयमा अहिले २४६ जना बालबालिकाले अध्ययन गर्दै आएका छन् । अहिले विद्यालयमा केही भौतिक सुधार तथा शैक्षिक सुधारका काम गरिएका छन् । तर पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको विद्यालयले जनाएको छ ।

कोठा पाटेसन गरेर दुईवटा कक्षा सञ्चालन

विद्यालयमा कक्षा कोठा अपुग भएको कारण एउटा कोठालाई पाटेसन गरेर दुईवटा कक्षा सञ्चालन गर्नु परेको छ । अहिले एउटा कक्षालाइ पाटेसन गरेर प्ले ग्रुप र कक्षा नर्सरी कक्षा सञ्चालन गरिराखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वली बताउँछन् ।

‘कक्षा कोठा अभाव भएपछि बाध्य भएर यसरी कक्षा सञ्चालन गरेका हौं,’ अध्यक्ष वलीले भने । विद्यालयमा अहिले प्ले गु्रप र कक्षा १ मा दुई/दुई वटा कक्षा छन् । अहिले विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ८ सम्म पढाइ भइरहेको छ । विद्यालयले अंग्रेजी माध्यमसमेत सुरु गरेको छ । अंग्रेजी माध्यमबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षणसमेत बढेको छ ।

सामुदायिक वनमार्फत् शिक्षकलाई तलब

आधारभूत विद्यालय गिठेपानीमा निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउने विद्यालयसँग रकम नभएको र कतैबाट पनि सहयोग नपाए पछि सामुदायिक वनले शिक्षकलाई तलब खुवाउन रकम दिने गरेको छ । सोही स्थानमा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहले करिब आठ वर्षदेखि शिक्षकलाई तलब खुवाउन रकम दिने गरेको हो । अहिले सामुदायिक वनले शिक्षकलाई तलब खुवाउन मासिक १७ हजार दिने गरेको विद्यालयका अध्यक्ष वलीले बताए ।

पछिल्लो समय सामुदायिक वनको आम्दानी नभएपछि विद्यालयलाई दिँदै आएको रकम दिन नसक्ने अवस्था आएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यसोदा पाण्डेले बताइन् । ‘वनको आम्दानी छैन विद्यालयमा दिँदै आएको रकम दिनका लागि समस्या हुँदै आएको छ,’ अध्यक्ष पाण्डेले भनिन् । वनले चौकिदारको तलब, सचिवको तलब, कार्यालय व्यवस्थापनमा खर्च गर्नसमेत समस्या पर्न थालेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्