Logo

नाग्म-जुम्ला खण्ड चौडा बनाइँदै

जुम्ला– कर्णाली राजमार्गअन्तर्गतको नाग्म–जुम्ला बजार सडक चौडा गर्ने काम सुरु भएको छ । सडक डिभिजन जुम्लाद्वारा उक्त खण्डको स्तरवृद्धिसँगै राजमार्गको मापदण्डअनुसार आवश्यक ठाउँमा चौडा गर्ने काम सुरु भएको हो । नाग्म–जुम्ला खण्डको रारालिही, लिताकोट र तातोपानी जर्मीमा सडक चौडा बनाउने काम भइरहेको छ ।

गत असोजको अविरल वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्ग क्षतविक्षत भएको थियो । विपद्को क्षतिसँगै स्थानीयद्वारा बढ्दै गएको अतिक्रमणले साँघुरिँदै गएको सडकलाई चौडा बनाउन थालिएको हो । मापदण्डअनुसार कर्णाली राजमार्गको चौडाइ १५ मिटर हुनुपर्ने हो । मध्य विन्दुबाट दाँया ७.५ र बाँया ७.५ मिटर गरी जम्मा १५ मिटर चौडा हुनुपर्ने हो । तर विपद्सँगै अतिक्रमणका कारण कर्णाली राजमार्ग निकै साँघुरो र जोखिमयुक्त छ भने हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुँदा भगवान भरोसाले कर्णाली राजमार्गमा यात्रा गर्न नागरिक बाध्य छन् ।

ठूला १२ चक्के मालबाहक तथा ४०–५० सिट क्षामता भएका ठूला यात्रुबाहक सवारीसमेत एक लेनकै कर्णाली राजमार्गमा गुड्छन् । अधिकांश क्षेत्रमा मोड साना भएकाले गाडी ब्याक गरेर मोडलाई पार गर्नुपर्ने स्थिति छ । कर्णालीकै जीवनरेखा मानिएको कर्णाली राजमार्गलाई मृत्युमार्गको उपनामले समेत चिनिन्छ । यस राजमार्गलाई संघीय सरकारले कुनै वर्ष पनि पर्याप्त बजेट नदिने, वार्षिक बजेटमै नसमेट्ने, कर्णाली नेताले ठोस पहल कदमी नगर्नेजस्ता समस्याले समृद्धि भित्र्याएको राजमार्गलाई मृत्युमार्ग भन्न कर्णालीबासी बाध्य छन् । सरकारले महत्वका साथ नहेरे पनि सडक डिभिजिन जुम्लाको वार्षिक कार्यक्रमले वर्षेनी स्तरवृद्धिको काम हुने गरेको छ ।

जसअन्तर्गत राजमार्गको नाग्म–जुम्ला खण्डको आवश्यक भागमा चौडासहित विस्तारको काम भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए । उनले भने, ‘सडक सुरक्षा नै नागरिक सुरक्षा हो । सडक फराकिलो नभएसम्म नागरिक सुरक्षित हुँदैनन् । त्यसैले कर्णाली राजमार्गको परिचय बदल्न पनि चौडा गर्नु नै जरुरी छ । सोहीअनुसार जुम्ला खण्डका विभिन्न भागमा चौडा गर्ने काम गर्दैछौं । नागरिकले साथ सहयोग गरेको खण्डमा काम निर्धारित समयमै सम्पन्न हुनेछ ।’

आगामी माघसम्म ६ महिनाभित्र कार्य सम्पन्न हुने गरी (ओस्नेत/सुपनिल) निर्माण कम्पन्नीसँग सडकको ग्याबिन पर्खाल र आवश्यक ठाउँमा चौडा गर्नेसहितको काम गर्न भ्याटसहित सात करोड नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सडक डिभिजन जुम्लाका सबइन्जिनियर वीरेन्द्र रावलले नाग्म–जुम्ला खण्डको ३१ किमिमध्येको कुल २६ हजार २५० घनमिटर क्षेत्रमा सडक चौडा, ग्याबिन वाल, पलमवाल, नाली निर्माणलगायतका काम हुने बताए । राजमार्गका नाममा लगतकट्टा भएका सबै क्षेत्रलाई राजमार्गमा जोड्ने तयारी छ ।

सडक चौडा गर्नु सुरक्षित यात्रा र नागरिकको सुरक्षाका लागि सुखद भए पनि वर्षात्को समयमा भएकाले सडक विस्तार कार्यले हिलो हुँदा आवतजावतमा सास्ती भएको, घण्टौसम्म सवारी जाममा पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । वर्षात्कै समयमा डोजर चलाउँदा जीर्ण घरसमेत भत्किन सक्ने जोखिम छ । तातोपानी क्षेत्रमा सडक स्तरवृद्धिको जिम्मा लिएका निर्माण व्यवसायी डिल्ली रावलले समन्वय सहकार्यका आधारमा धमाधम काम गरिरहेको बताए । अहिले केही असहज भए पनि सडक चौडा गर्नु हाम्रै दीर्घकालीन फाइदाका लागि भएकोले सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् ।

आफ्नो जिम्मेवारी तातोपानी गाउँपालिकाको बाइराँका, राँका, लिताकोट, जर्मी र बाबिरासम्म रहेकाले सडक विस्तारअन्तर्गत डबल कटिङ, ग्याबिन, पलमवाल निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् । विगतका ठेकेदारभन्दा फरक सम्झौताबमोजिम राजमार्गको मापदण्डअनुसार सडक विस्तारको कामलाई गुणस्तरीय बनाउने उनको भनाइ छ । निर्धारित समय ६ महिनाभित्रै सम्झौतानुसारको काम सक्न मुख्य ठेकेदार राजेन्द्र थापालाई ताकेता गरिरहेको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्