माछाका भुरा तस्करी बढ्यो

बिर्तामोड– भारतीय माछाका भुरा तस्करी बढेको छ । माछाका भुरा सहज रुपमा उपलब्ध गराउन सक्षम भएपनि भारतीय माछाका भुरा तस्करी गरी ल्याउने क्रम बढेसँगै झापाका किसान समस्यामा परेका हुन् ।
आफूहरुले माछाका भुरा उत्पादन गरेपनि भारतीय माछाका भुरा तस्करी गरी ल्याउने क्रम बढेसँगै आफूहरु समस्यामा परेको बिर्तामोडस्थित हेवन वाटर पार्कका सञ्चालक ध्रुव शिवाकोटी बताउँछन् । आफूहरुले उत्पादन गरेको माछाका भुरा गुणस्तरीय रहेको दावी गर्दै उनले तस्करीबाट आएको भुराले बजार लिएको बताए । झापा र मोरङलाई आवश्यक पर्ने जुनसुकै जातको माछाको भुरा उत्पादन गर्न सक्षम रहेको बताउँदै भारतबाट तस्करी हुने माछाका भुरा नियन्त्रण गर्न सरकारसँग माग गरे ।
एउटै जातको माछाको भुरा नेपालमा एउटाको ७ रुपैयाँसम्म पर्ने गरेको र भारतबाट आउने भुरा ५ रुपैयाँसम्म पाइने भएकाले नेपालको भन्दा केही सस्तो भएका कारण व्यवसायीले भारतीय माछाका भुरासँग प्रतिस्पर्धा गर्न नसकेको बताएका छन् । नेपाल भारतको खुला सीमानाका कारण तस्करी गरेर ल्याइने माछाका भुराका कारण आफूहरु मारमा परेको बताउँदै उनले नेपाल भारतको खुला सीमानाकाबाट तस्करीले माछाका भुराका कार्टुन छिराउने र गाडीमा लोड गरेर झापासहित देशका विभिन्न ठाउँ पुर्याउने गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरे ।
उनले नेपालमा मुख्यतः पंगास, कमन कार्प, ग्रास कार्प, रौं नैनी लगायतका माछाको व्यवसायिक पालन हुने गरेको र यी सबै जातको माछाका भुरा झापाका फर्महरुले व्यवसायिक उत्पादन गर्दै आएको बताए । बिर्तामोडको इष्टर्न फिस उद्योगका सञ्चालक मोहन शिवाकोटीले चालु वर्षदेखि नेपालमा उत्पादित भुरा खरिद गर्न थालेको बताए । नेपालमा उत्पादित माछाका भुरामा समस्या परेको अवस्थामा व्यवसायीसँग कुरा गर्न सकिने भएपनि भारतबाट ल्याइएको माछाका भुरामा समस्या आएमा सुनुवाई नहुने भएकाले भारतीय माछाका भुरा खरिद नगर्न उनले सबैलाई आग्रह गरे ।
झापाका अर्का व्यवसायी कपिल न्यौपानेले भारतीय उत्पादनको तुलनामा नेपाली भुरा बढी गुणस्तरीय रहेको बताए । नेपाली वातावरणमा उत्पादन भएका भुरा र अर्को हावापानीमा उत्पादित माछाका भुरामा धेरै फरक पर्ने उनको भनाइ छ । हावापानी नमिलेर भारतीय माछाका भुरा आधाभन्दा बढी मर्ने गरेको बताउँदै उनले नेपालमा उत्पादन गरिएका माछाका भुरा मर्ने सम्भावना कम हुने, उत्पादन र लागत समेत सस्तो पर्ने भएकाले नेपालमा उत्पादन गरिएका माछाका भुरा प्रयोग गर्न आग्रह गरे ।
माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको झापामा तस्करीमार्फत ल्याइने भारतीय माछाका भुरा रोक लगाउनुपर्ने उनको माग छ । सरकारले नेपाल भारतको खुला सीमानाकामा कढाइ गरे दीर्घकालिन रुपमा उपभोक्ता, किसान र व्यवसायीलाई फाइदा पुग्ने उनले बताए । उनले नेपाल भारतको खुला सीमानाकामा सुरक्षा कडाइ गर्न समेत आग्रह गरे । यता भारतबाट मरेका माछा नेपाल ल्याउन झापाका स्थानीय तहले प्रतिबन्ध लगाएका छन् ।
भारतबाट ल्याइने माछालाई ताजा राख्नका लागि फर्मालिन प्रयोग गर्ने गरेको पाइएपछि आफूहरुले भारतीय माछा ल्याउन प्रतिबन्ध गरेको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाइले बताइन् । फर्मालिनको प्रयोगले मानिसमा दीर्घरोग लाग्ने हुँदा त्यस्ता माछा बिक्री गर्न प्रतिबन्ध गरिएको उनले बताइन् । पछिल्लो समय झापामा माछापालनमा किसानको आकर्षण बढेको छ । झापा र मोरङमा उत्पादित माछाले कोशी प्रदेशलाई धानेर अन्य प्रदेशमा समेत बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।