मोबाइलको आईएमईआई दर्ता अब अनलाइनबाटै

मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो ।
भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्यमा मोबाइल प्रयोग निरुत्साहित गर्ने र हराएको अवस्थामा प्रहरीलाइ खोज्न सहयोग पुर्याउने उद्देश्यले प्राधिकरणले गत वर्षदेखि आइएमईआई दर्ता सुरु गरेको हो । अव यो दर्तासम्बन्धी व्यवस्थालाई थप सरलीकृत गर्दै अनलाइनबाटै व्यक्ति वा संस्थाले घरमै बसेर दर्ता गर्न सकिने बनाइएको छ ।
आईएमईआई नम्बर हरेक सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइल एउटा र दुईवटा मोबाइल लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भोलिदेखि व्यक्तिगत वा संस्थागत रूपमा दर्ता गर्न सकिने जानकारी दिए । आईएमईआई नम्बर दर्ता भएपछि ‘ग्रे मार्केट’ नियन्त्रण हुने र हराएको अवस्थामा पनि प्रहरीलाइ खवर गर्न र भेट्न सजिलो हुने उनको भनाइ थियो । हालसम्म प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर कार्यालयबाटमात्र दर्ता गर्दै आएको छ । आफ्नो मोबाइलमा रहेको आइएमईआई नम्बर थाहा पाउनका लागि ‘एस्ट्रिक ह्यास शून्य छ र ह्यास’ डायल गर्नुपर्छ । यदि मोबाइलकर्ताको फोन हराएको वा चोरी भएको छ भने सम्बद्ध व्यक्तिले त्यस्तो फोनको बारेमा प्रहरीलाई जानकारी दिनको लागि पनि आईएमईआई नम्बर अनिवार्य हुन्छ । त्यसैले फोन नहुँदा पनि केही सामान्य उपायबाट फोनको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ । आइएमईआई नम्बर हरेक फोनको रिटेल बक्स तथा बिल दुबैमा आईएमईआई नम्बर लेखिएको हुन्छ । विदेशबाट ल्याइएका फोन पनि अव प्रयोगकर्ताले घरमै बसीबसी दर्ता गर्न सक्ने अर्यालले बताए ।
प्रवक्ता अर्यालका अनुसार हाल मासिक ४ लाखको हाराहारीमा आईएमईआई दर्ता हुने गरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार २०७३ र २०७४ मा गरी १ करोड ७७ लाख मोबाइलको आईएमईआई दर्ता भएको छ । जसमध्ये २०७३ मा ९९ लाख ९४ हाजर ७ सय ६४ आयातकर्ता र ४ हजार ६२ व्यक्तिगत रूपमा दर्ता भएका थिए । त्यसैगरी २०७४ मा ७७ लाख २४ हजार ९ सय ८४ र व्यक्तिगत रूपमा ४ हजार ३ सय २ वटा मोबाइलको आईएमईआई दर्ता भएको छ । प्राधिकरणले २०७३ वैशाखदेखि आईएमईआई दर्ता अनिवार्य गरेको हो ।
मोबाइल आयातकर्ताहरूले यस्तो आईएमईआई नम्बर फोन आयात गर्नुभन्दा अगाडि नै प्राधिकरणमा दर्ता गरेर मात्र फोन आयात गर्न पाउने व्यवस्था गरिएको छ भने यसको साथमा टाइप अप्रुभलको कागजपत्र पनि आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । तर, व्यक्तिगतरूपमा भने प्रयोगकर्ताले आफैले बाहिरी मुलुकबाट किनेर वा उपहारमा आएको मोबाइल फोनको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । अव आयातकर्ता र व्यक्तिगत रूपमा दर्ताका लागि प्राधिकरण गइरहनु पर्दैन ।
मोबाइल आयातकर्ता आफैंले उक्त डाटावेसमा आईएमईआई नम्बर दर्ता गर्न सक्नेछन् । जसका लागि आयातकर्तालाई युजर नेम र आईडी दिइने छ । उक्त आईडी दिएपछि मोबाइल आयातकर्ताले भन्सारबाट मोबाइल सेट छुटाउनुपूर्व नै आफूले आयात गर्न लागेको मोबाइलको आईएमईआई नम्बर उक्त डाटावेसमा दर्ता गराइसक्नुपर्ने छ । ग्लोवल डाटावेस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल भन्सारमै रोकिने छ । जसको लागि सम्बन्धित भन्सार कार्यालयलाई उक्त सफ्टवेयर सञ्चालनको पहुँच दिइने छ । जसका माध्यमबाट भन्सार कार्यालयले आयातकर्ताले ल्याउन लागेको मोबाइल ठिक छ वा छैन जाच गर्न सक्ने छन् । यदि आईएमईआई दर्ता नभएका वा नक्कली नम्बर भएका मोबाइल ल्याउन लागेमा भन्सार विन्दुमै रोकिने छ ।
के हो आइएमईआइ नम्बर ?
सामान्य भाषामा बुझ्नुपर्दा मोबाइलको परिचय नम्बर भनेर बुझ्न सकिन्छ । हरेक मोबाइलमा फरकफरक खालको आईएमईआई नम्बर उपलबध हुन्छ । जति धेरै सिम लाग्ने मोबाइल सेट हुन्छ त्यति नै आईएमईआई नम्बर हुन्छन् । मोबाइल प्रयोगकर्ताको सुरक्षाका लागि आईएमईआई नम्बर दर्ता अनिवार्य छ ।