ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण «

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण

बुटवल : क्षमताभन्दा बढी सामान बोकेका (ओभरलोडेड) भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रूपमा सञ्चालन हुन दिने गरेको खुलेको छ ।

नेपाली ट्रक व्यवसायीहरूले ओभरलोडेड भारतीय गाडीका कारण आफूहरू मारमा परेको र नेपालका सडक तथा पुलहरूमा पनि क्षति पुगेको भन्दै रोक्न बारम्बार माग गर्दै आएका छन् । तर, प्रहरीले वास्ता नगरेको बरु मिलेमतोमा भारतीय गाडीलाई संरक्षण गरेको व्यवसायीहरूको गुनासो छ । 

प्रचलित कानुनको उल्लंघन गरेर ओभरलोड सामान बोकेका भारतीय ट्रकलाई व्यवसायीले गतसाता नवलपरासीको तिलकपुर र भैरहवामा रोकेका थिए । भारतको राजस्थानबाट मार्बल र टायल बोकेर काठमाडौं, नारायणगढ जाँदै गरेका भारतीय गाडीहरूलाई कारवाहीको माग गर्दै व्यवसायीले रोकेका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले तिलकपुरमा राखेको धर्मकाँटामा तौल गर्दा ओभरलोड बोकेको पुष्टी भएपछि भारतीय गाडीहरू रोकिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले जानकारी दिए । “प्रहरी प्रशासनलाई बारम्बार भारतीय ओभरलोडेड गाडी नियन्त्रण गर्न माग गर्दा पनि सुनुवाई नभएपछि वाध्य भएर आफैं नियन्त्रण गरेका हौं,” अध्यक्ष गौतमले भने । 

यातायात व्यवसायीले धेरै पहिलेदेखि नै ओभरलोड बोक्ने भारतीय गाडी रोक्न माग गर्दै आएका थिए । यातायात व्यवसायी तथा ट्रक व्यवसायीले गत साता पुनः जिल्ला प्रसाशन कार्यालय रुपन्देही र बेलहिया भन्सार कार्यालयलाई ओभरलोडेड गाडी नियन्त्रण रोक्न माग गर्दै डेलिगेसन गएका थिए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यलाई भारतीय ओभरलोडेड गाडी तत्काल रोक्न व्यवसायीले माग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले ओभरलोडेड बोक्ने भारतीय गाडीहरूलाई एक साता भित्र नियन्त्रण गरिने प्रतिवद्धता जनाएका छन् ।

नेपाली तथा भारतीय कुनै पनि गाडीले ओभरलोड बोक्न नपाउने कानुनी व्यवस्था छ । सुनौली भन्सार कार्यालयका प्रमुख शाक्यले भन्सार कार्यालयले सबै ओभरलोडे गाडीहरू हेर्न भने सम्भव नहुने बताए ।

फेन्सी र पोका सामान बोक्ने गाडीहरूको भने ओभरलोडेड हेरिएको कार्यालय प्रमुख शाक्यले व्यवसायीहरूलाई जानकारी दिएका थिए । ओभरलोड बोक्ने भारतीय गाडीहरूलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले नै निर्वाध रूपमा चल्न छुट दिएको व्यवसायीले  आरोप लगाउँदै आएका छन् ।

ओभरलोडेड गाडीहरूलाई सरकारले तत्काल नरोके आन्दोलनमा जाने पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी ट्रक समितिले चेतावनी दिएका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका  महासचिव हरिप्रसाद कँडेलले भारतीय ओभरलोडेड गाडीका कारण स्वदेशीले प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायीले बैंकको व्याजसमेत तिर्न नसकेको गुनासो गरे । ओभरलोडेड भारतीय गाडीलाई  सरकारले नियन्त्रण नगरे आफुहरू ढुवानी सेवा बन्द गरेर आन्दोलनमा उत्रिने लुम्बिनी ट्रक समितिका अध्यक्ष विष्णुप्रसाद खरेलले बताएका छन् । दुई समितिले केहिदिन यतादेखि नवलपरासीको तिलकपुर र भैरहवामा भारतीय ओभरलोडेड गाडीलाई आफैं रोक्दै आएका छन् । 

व्यवसायीले ८ देखि १९ टन बढी समान बोकेर काठमाडांै, नारायणगढ, पोखरा र नवलपरासी जान हिंडेका भारतीय गाडीलाई गत साता तिलकपुरमा रोकेका छन् । कानुनअनुसार १० चक्केको क्षमता साढे १६ टन, १२ चक्केको २१ टन, ६ चक्केको १० टन मात्र भारबहन क्षमता भए पनि भारतीय गाडीहरूले कम्तीमा १० टन बढी ओभरलोडेड बोकेर निर्वाध रूपमा चल्दा पनि ट्राफिक प्रहरीले रोक्ने प्रयास गर्नुको साटो उल्टै ओभरलोडेड बोकेका गाडीलाई संरक्षण गरेको गुनासो व्यवसायीले गरेका छन् ।

भारतको राजस्थान, गोरखपुरबाट टायल र सिमेन्टको कच्चा पदार्थ भारतीय गाडीले ओभरलोड बोकेको अवस्थामा भेटिएका छन् । भन्सार कार्यालयबाट भारतीय गाडीहरूलाई २५ किलोमिटरको दूरीसम्म जान पाउने प्रावधान छ । तर, यस्ता ओभरलोडेड भारतीय गाडीहरू निर्वाधरूपमा नारायणगढ, पोखरा, काठमाडौंलगायतका स्थानमा गइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्