एनआइसी एशिया बैंकका तीन नयाँ कर्जा योजना

एनआइसी एशिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ ।
२५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्न बताइएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ । बैंकले ग्राहकहरूको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ ।
अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।
त्यसैगरी, बैंकले ल्याएको न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको बैंकको भनाइ छ ।