नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा «

नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा

नेपाल टेलिकमले १ जिबिपिएस (१००० एमबिपिएस) सम्म उच्च गति भएको एफटिटिएच इन्टरनेट सेवा सुरू गरेको छ । यसअघि कम्पनीले १०० एमबिपिएससम्म उच्च गति भएको एफटिटिएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटि फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबिपिएस रहेकोमा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबिपिएस र १ जिबिपिएस गरी दुई वटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जिबिपिएस र अपस्ट्रिम क्षमता २.५ जिबिपिएस हुने कम्पनीको भनाइ छ ।

प्रिमियम एफटिटिएच ५०० एमबिपिएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । प्रिमियम एफटिटिएच १ जिबिपिएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।

दुवै प्याकेजमा एउटा आइपिटिभी, सिपिई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबिपिएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जिबिपिएसको ‘प्रिमियम एफटिटिएच १ जिबिपिएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ । हाल काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्