ईपीएसका क्षेत्र थपिए
आईटी, यातायात, डिपार्टमेन्टल स्टोर र होटलमा समेत काम गर्न पाउने

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकले सूचना तथा सञ्चार (आईटी), यातायात, रेष्टुरेन्ट, क्याफे, डिपार्टमेन्टल स्टोर र होटलमा समेत काम गर्न पाउने भएका छन् ।
कोरियाले उद्योग तथा कृषि क्षेत्रमा मात्र नेपाली कामदारलाई अनुमति दिँदै आएकोमा अब अन्य क्षेत्र पनि खुला गर्न लागेको हो । कोरिया सरकारले गैर–व्यावसायिक वैदेशिक कामदार ई–९ भिसामा परिमार्जन गरी कामदार अभाव भएका अन्य क्षेत्र तथा व्यवसायलाई विदेशी कामदार दिने उद्योगको सूचीमा थप्ने निर्णय गरेको हो । नेपाली श्रमिकका लागि कोरियाले जारी गर्दै आएको ई–९ भिसा अन्तर्गत रेष्टुरेन्ट, क्याफे, सुविधा स्टोर र होटलजस्ता सेवा उद्योगमा कानुनी रूपमा काम गर्न सक्नेछन् ।
आईटी उद्योगमा आवश्यक पर्ने अदक्ष कामदारका लागि रोजगार भिसा जारी गर्न सकिने र विदेशी कामदारले प्लान्ट उद्योगमा समेत रोजगारी पाउन सक्ने जनाइएको छ । कोरियाका सञ्चारमध्यमले शुक्रबार प्रकाशित गरेको समाचारमा हाल ई–९ भिसा प्राप्त गरेका विदेशी श्रमिकले उद्योग, निर्माण, मस्त्यपालन, कृषि र पशुपालन र केही सेवा उद्योग, फोहोर प्रशोधन, रिसाइकल सामग्री संकलन र बिक्री तथा फ्रिजिङ भण्डारण, प्रकाशन आदिमा काम गर्ने अनुमति पाउँदै आएको जनाएका छन् ।
यस्तो भिसा कोरियामा कामदार अभाव भएका उद्योगहरूमा अदक्ष विदेशी कामदारलाई जारी गरिएको कार्य भिसा हो । सरकारले गत फेब्रुअरीदेखि केही सेवा उद्योगमा लोडिङ र अनलोडिङका लागिमात्रै केही ई–९ भिसा भएका विदेशी कामदारलाई काम गर्ने अनुमति दिँदै आएको थियो । यसैगरी जनशक्ति अभाव भएका केही सेवा उद्योगमा अनलोडिङ क्षेत्रमा पनि विदेशी कामदारलाई रोजगारी दिने गरिएको थियो ।
कोरिया सरकारले जनशक्ति अभावलाई सम्बोधन गर्न रोजगार अनुमति उद्योग विस्तार गर्ने निर्णय गरेको नेभर समाचार संस्थाले जनाएको छ । हाल कोरियन मूलका विदेशी नागरिकले एन–२ भिसा जारी गरेर यस्ता क्षेत्रमा काम गर्ने अनुमति पाउँदै आएका छन् । यसैगरी कोरियामा अध्ययन गर्ने विदेशीले डि–२ भिसामा हप्ताको ३० घण्टामात्र आंशिक काम गर्न अनुमति लिएर सेवा क्षेत्रमा काम गर्दै आएका छन् ।
कोरियाले आफ्ना नागरिकको रोजगारी ग्यारेन्टी गर्न नेपालसहित दक्षिणपूर्वी एसियाका विदेशी कामदारलाई ई–९ भिसा जारी गरेर सीमित क्षेत्रमा मात्र काम गर्ने अनुमति दिँदै आएको थियो । कोरियाले पछिल्लो पटक कानुन परिमार्जन गरी सूचना र सञ्चार उद्योगलाई पनि ई–९ भिसा वाहकले काम गर्न पाउने उद्योगको रुपमा थपेको छ । हाल कोरियामा दक्ष नेपालीले ई–७ भिसा प्राप्त गरेर यस्ता क्षेत्रमा काम गर्दै आएका छन । ईपीएस अन्तर्गत हाल ई–९ भिसा भएका नेपालीले ई–७ भिसा परिवर्तन गरेर अन्य क्षेत्रमा काम गर्दै आएका छन् ।