बजार बसाल्दै मध्यपहाडी लोकमार्ग
राष्ट्रिय गौरवको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको रुकुम खण्ड सञ्चालनमा आएसँगै यहाँको पर्यटन प्रवर्द्धनसँगै स्थानीयको आर्थिक उपार्जनमा सहयोगी बनेको छ । लोकमार्ग विस्तार भएसँगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुराँ सञ्चालनले स्थानीयलाई आयआर्जन गर्न सहज भएको हो । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै रुकुम पश्चिम तथा रुकुम पूर्वका स्थानीयलाई आयआर्जनको माध्यम बन्न पुगेको छ ।
सडक छेउछाउमा पसल व्यवसायदेखि होटल रेस्टुराँ सञ्चालनमा ल्याएर आयआर्जनको माध्याम बन्न पुगेको हो । लोकमार्ग सञ्चालनले सडक आसपासका स्थानीयलाई गाउँमै सानादेखि ठूला व्यवसाय सञ्चालन गर्न सहज भएको छ । लोकमार्ग सञ्चालनले चौरजहारी, चाइनाबगर, सिम्ली, साँख, रुकुमकोटलगायत विभिन्न ठाउँमा बस्ती विस्तारसँगै ठूला व्यवसायले पूर्णता पाएका छन् । त्यस्तै जिल्लामा उत्पादन हुने खाद्य तथा गैरखाद्य सामग्री जिल्ला बाहिर लिएर बिक्री वितरण गरेर समेत जिल्लाबासीलाई सहजता भएको छ ।
मध्यपहाडी लोकमार्गका कारण सडक आसपासमा व्यवसाय सञ्चालन गरेर धेरैका लागि आयआर्जनको स्रोत बनेको रुकुम पश्चिमको पर्यटकीय क्षेत्र साँखगाउँमा अर्गानिक रेस्टुराँ सञ्चालन गरेका सञ्चालक रुपक बुढाले बताए । ‘सडक नहुँदा सुनसान रहेका क्षेत्र मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएदेखि केही सानोतिनो व्यवसाय गरेर आफ्नै गाउँगाउँमा बस्ने मेलो बनेको छ,’ उनले भने, ‘मैले साँखगाउँमा सञ्चालन गरेको अर्गानिक कटेजबाट मासिक ५० हजार बढी आम्दानी हुने गरेको छ ।’
मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्दा जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रको समेत अवलोकन गर्न सकिने भएका कारण यात्रा झन रोमाञ्चक हुने गरेको छ । यस लोकमार्ग भएर यात्रा गर्दा जिल्लाको चौरजहारी फाँट, सानीभेरी नदी, साँख दह, सिस्ने हिमाल र कमल महलगायत बागलुङ पोखराका पर्यटकीयस्थलको अवलोकन गरेर यात्रा गर्न सकिने स्थानीय कुमार हमाल बताउँछन् । उनका अनुसार रुकुम पश्चिमका नागरिकलाई यसअघि प्रयोग हुँदै आएको राप्ती लोकमार्ग भएर राजधानी काठमाडाैं जाँदाभन्दा मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्दा ९७ किलोमिटर नजिक पर्ने गरेको छ ।
जसका कारण पछिल्लो समय व्यक्तिगत तथा सार्वजनिक सवारी मध्यपहाडी लोकमार्ग भएर नै गुड्ने गरेका छन् । उनले भने, ‘मध्यपहाड भएर सडक खनिएका कारण वर्षात् तथा अन्य समयमा पहिरोको समस्या रहेका कारण सडकको खाल्डाखुल्डी र थप स्तरवृद्धि गरिए झनै छिटो र सुरक्षित यात्रा हुने थियो ।’ रुकुम पश्चिम भएर रुकुम पूर्व, बाग्लुङ पोखरातर्फको लोकमार्ग खण्ड सञ्चालनमा आए पनि रुकुम पश्चिम भएर जाजरकोट, दैलेखतर्फको लोकमार्ग खण्ड भने सञ्चालनमा आउन सकेको छैन ।
जसका कारण रुकुमबाट देशको पश्चिमी क्षेत्रतर्फको यात्रा गर्दा पुरानै राप्ती लोकमार्ग भएर नै यात्रा गर्नुपर्ने बाध्यता छ । लोकमार्गमा पर्ने रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जोड्ने भेरी नदीमा पर्नेे मोटरेबल पुल निर्माण कार्य सम्पन्न नहुँदा यस्तो समस्या आएको हो । रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेबल पुल निर्माणको काम थालिएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण उक्त पुल सञ्चालनमा आउन सकेको छैन । ठेकेदारकै ढिलासुस्ती र लापरबाहीका कारण पुल निर्माण अलपत्र हुँदा मध्यपहाडी लोकमार्गमार्फत् यात्रा गर्न यात्रुहरूलाई निकै अफ्ठ्यारो भएको छ । लोकमार्गअन्तर्गत भेरी नदी यताको रुकुम खण्ड र उताको जाजरकोट खण्डको सडक स्तरवृद्धिको काम सम्पन्न भए पनि त्यस लोकमार्गबाट सिधा यातायात सञ्चालन हुन नसकेको स्थानीय सञ्चारकर्मी गोपाल रेग्मीले बताए ।
उनका अनुसार पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोटबासी सडक सञ्जाल जोडिनबाट वञ्चित छन् । दुवै जिल्लाका स्थानीय हाल पैदलमार्फत् आवतजावतका लागि झोलुंगे पुलको भरमा छन् । ‘सबैभन्दा दुःखको कुरा मध्यपहाडी लोकमार्गमा सडकको काम सकिएर पनि पुल निर्माण नहुँदा सडक उपयोगविहीन जस्तै भएको छ,’ उनले भने ।