Logo

चुँदी रम्घालाई पर्यटकीय स्थल बनाइने

चुँदी रम्घालाई पर्यटकीय स्थल बनाइने भएको छ । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यहाँका स्थानीय यसको प्रचारप्रसारमा जुटेका हुन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्ध स्थलहरुको पुनर्निर्माण, खोज अनुसन्धान, सम्वर्द्धन, प्रचारप्रसार गर्ने उद्देश्यका साथ स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।

चुँदी रम्घा बनाऔं अभियानको संयोजनमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाट लगायतको सहभागितामा आयोजित छलफलले आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थल बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

भानुजयन्तीको दिन मात्रै यस ठाउँको खोजी हुने गरेकाले वर्र्र्षभरी यसको चर्चा हुने गराउन आफूहरु जुटेको अभियान्ता सन्देश आचार्यले बताए । उनले भने,‘आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेको महशुस भएपछि स्थानीयवासी एक भएर यसको प्रचारप्रसारमा जुटेका हौं ।’ आचार्यले २०७८ भदौ ७ देखि चुँदी रम्घा बनाऔं अभियान चलाउँदै आएका छन् ।

चुँदी रम्घालाई साहित्यिक पर्यटकीय स्थल बनाउने अभियान अन्तर्गत भानु स्मारकको संरक्षण, सम्बद्र्धन एवं पुनर्निर्माणको तयारी गरिएको छ । त्यसका लागि स्थानीय, प्रदेश र संघ, सरकारसँग सहकार्य गरिने स्थानीय राजिव श्रेष्ठले बताए । उनले भने,‘चुँदीरम्घालाई साहित्यिक एवं पर्यटकीय थलोको रुपमा विकास गर्नका लागि केही पहलकदमी अगाडी बढाएका हौ । पहिलो चरणमा भानु स्मारकको काम हुनेछ । त्यसका लागि सबैको सहयोग आवश्यक परेको छ ।’

सो अवसरमा स्थानीय ज्येष्ठ नागरिक हरिनाथ आचार्यले सबैको ऐक्यबद्धताले भानुजन्मथलो पर्यटकीय स्थलको रुपमा विकास हुने बताए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यो अभियानमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले शिखरकटेरीमा यही वर्ष भानुघरको पुनर्निर्माण सुरु गरिने बताए । घर पुनर्निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभएपनि समितिकै आन्तरिक कोषबाट भएपनि काम सुरु गरिने रानाभाटको भनाइ छ ।

उनले भने, ‘कंक्रिटको घर बनाउन नसकिएपनि ढुंगा माटोको भएपनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र संघ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौं ।’ पश्चिमाञ्चल विकास मञ्चले भानु गृह निर्माणका लागि विसं २०७३ चैत २२ मा शिलान्यास गरेपनि काम सुरु हुन सकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने उनको भनाइ छ । उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौं।’

भानुभक्तको घर पुनर्निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । उनले भने, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनर्निर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौं ।’ विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाखमा पुनर्निर्माण गरेका थिए ।

जंगलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करीब रु १ लाख २७ हजार रुपैयाँको क्षति भएको थियो । भानुभक्त जन्मस्थल विका समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षक रुपमा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्