सूरुङमार्ग-पूर्वाधार सुधार कार्यदल गठन «
Logo

सूरुङमार्ग-पूर्वाधार सुधार कार्यदल गठन

पूर्वाधार विज्ञहरुले भौगौलिक भूबनोटका कारण सडकको गुणस्तर कम हुँदै गएको भन्दै सुधार कार्यदल गठन गरेका छन् । पूर्वाधार विज्ञ र सरोकारवाला निकायसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको स्तरोन्नति, ट्राफिक सुरक्षामा सुधार गर्न पूर्वाधार सुधार कार्यदलले गरेको छलफलमा सुरुङमार्ग निर्माणमा जोड दिइएको थियो ।

पूर्वाधार सुधार कार्यदलले हालका सडक र भाबि दिनमा बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए । उनले भने, ‘विज्ञसँग लिएको सुझावलाई मन्त्रालयले आगामी दिनमा आयोजना तथा सडक निर्माण गर्दा कार्यान्वयन गर्ने छ ।’ राष्ट्रिय राजमार्ग र सडकमा आउने पहिरो नियन्त्रणको दीर्घकालीन समाधानका लागि कार्यदलले भौगर्भिक र इन्जिनियरिङ तवरमा कसरी सडक निर्माण गर्न सकिन्छ भनेर कार्यपत्र प्रस्तुत गरेको थियो ।

धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ । कार्यलदलले पहाडी क्षेत्रमा सडक निर्माण भएपछि र सडक निर्माणको चरणमा पनि काम गर्ने बताएको छ । कार्यदल संयोजकका पूर्वाधार विज्ञ सुरेशराज आचार्यले पहाडी क्षेत्रमा सडक निर्माण गर्दा सर्भे र डिजाइनमा पहिरो नियन्त्रणको पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘सडक निर्माण गर्दा बहुआयामिक पक्षको अध्ययन तथा अनुसन्धान गर्नुपर्छ, तवमात्र सडकमा आउँने पहिरो नियन्त्रण गर्न सकिन्छ । आगामी १ महिनामा सडकमा आउँने पहिरोको दीर्घकालीन सुझावसहित प्रतिवेदन बुझाउँछौं ।’ वर्षाका कारण पहिरो गइरहेको र राजमार्ग नै अवरोध भएकाले कार्यदलले समग्रमा सडक सुधारको लागि प्रतिवेदन तयार पारिरहेको भएपछि मुलत पहिरो नियन्त्रणमा जोड दिएको संयोजनक आर्चायको भनाइ छ ।

राष्ट्रिय राजमार्गमा वर्षाका कारण हुने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ । ‘यसलाई कसरी न्यूनीकरण गरेर सडक निर्माण गर्ने भनेर कार्यदलले कार्यपत्र प्रस्तुत गरेको थियो ।’ आचार्यले भने, ‘पहाडको भुवनोट अन्य देश भन्दा फरक भएकाले यसले ल्याउने जोखिम नियन्त्रणको लागि हाम्रै नवीनतम ज्ञान विकासगरेर सडक निर्माण गर्नुपर्ने चुनाैती रहेको छ ।

महाभारत पहाड भएका स्थानमा तलबाट सडक निर्माण भएको र यसरी सडक निर्माण गर्दा महाभारत पहाडको आकारम असर गर्ने हुँदा सम्भव भएसम्म सुरुङमार्गमा जान र सम्भाव नभएका स्थानमा प्राविधक सावधानि अपनाएर सडक निर्माण गर्न कार्यदलले सुझाएको छ । दूरी घटाउन, पहिरोबाट जोगिनको लागि सुरुङ आवश्यक भएको विज्ञ टोलीको सुझाव छ ।

सात जनाको पूर्वाधार सुधार कार्यदलमा मन्त्रालयका सह–सचिवसहित मेघराज घिताल, प्रोफेसर डा. तारानिधी भट्टराई, बिबी देउजा लगायतका विज्ञ सहभागी छन् । नेपालमा विगतमा निर्माण भएका, निर्माणधिन सडकको अवस्था भौगौलिक रुपमा सडक बनाउँदा सामाजिक तथा प्रविधिकरुपमा कसरी दीर्घकालीन सडक निर्माण गर्न सकिन्छ भनेर विज्ञहरुको सुझाव संकलन गरिएको थियो ।

छलफलमा मन्त्री प्रकाश ज्वालाले भौगलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह लिएका थिए । उनले भने,‘सडक गाउँबस्तीमा पुर्‍याउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन् ।’

प्रतिक्रिया दिनुहोस्