डुडुवा नहर अलपत्र

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको काम तीव्र रूपमा अगाडि बढे पनि ठेकेदारको लापरबाहीले डुडुवा शाखा नहरको काम अलपत्र परेको छ । डुडुवा शाखा नहरको निर्माणकार्य अलपत्र पारिएपछि स्थानीयले तत्काल काम सुरु गर्न माग गरेका छन् ।
कोस्टल/पप्पु जेभीले २० जुन २०१६ मा २८ महिनाभित्र निर्माण पूरा गर्ने गरी डुडुवा शाखा नहरको ठेक्का लिएकोमा १९ महिना बितिसक्दा जम्मा २ प्रतिशतमात्र काम गरेको छ । यति धेरै सुस्तगतिमा काम गरेर ठेकेदारले नहर निर्माणलाई अलपत्र पारेपछि सो क्षेत्रका अधिकांश किसान चिन्तित बनेका छन् । अर्को वर्षदेखि नहरमा पानी देख्ने रहर बोकेका स्थानीयले अझै बढी समय लाग्ने देखेर चिन्ता बढेको बताएका छन् ।
अर्को हिउँदसम्म खेतमा पानी पुराउने लक्ष्यसहित काम सुरु गरिएकोमा समयमा काम नहुदा लक्ष्य पूरा नहुने निश्चित भइसकेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश कार्कीले बताए ।
ठेकेदारले विभिन्न निहु बनाएर काम सार्दै आएको जनाउँदै उनले हालसम्म गरिएको काम समेत मापदण्डविपरीत रहेको बताएका छन् । कामलाई तीव्र गतिमा बनाउन पटकपटक आग्रह गरिए पनि ठेकेदार पक्षले बेवास्ता गरकाले निर्माणकार्य अलपत्र परेको इन्जिनियर कार्कीको भनाइ छ ।
शाखा नहरको काममा भएको ढिलाइले गर्दा मूल नहरमा पूरा पानी छाड्नसमेत नसकिएको जनाउँदै उनले यो अवधिमा ६० प्रतिशत काम पूरा हुनुपर्नेमा जम्मा २ प्रतिशतमात्र काम भएको बताए ।
अहिलेसम्म नहरको डेढ किमिमा मात्र माटोको काम भएको छ । नहर १५ किमि खनिए पनि ‘सेफ साइट’ को मापदण्ड पूरा गरिएको छैन । ठेकेदारलाई डिजाइन स्टिमेटअनुसार काम गर्न भनिए पनि सुधार गर्न चासो नदेखाएको आयोजनाले जनाएको छ ।
उता, निर्माण कम्पनी कोस्टल/पप्पु जेभीले ढुंगागिट्टी, रूख कटान, इन्धन अभाव, विद्युत्का पोल हटाउन समस्या भएकाले निर्माण सोचेजसरी अघि बढाउन नसकिएको बताएको छ ।
डुडुवा शाखा बाँकेको १६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुराउने गरी निर्माण गर्न लागिएको हो । आयोजनाका अनुसार यो सबैभन्दा ठूलो शाखा नहर हो । डुडुवा शाखाबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, हिरमिनिया, राँझा, डुडुवा गाउँपालिकाको कम्दी, वैजनाथ गाउँपालिकाको वनकट्टी, खजुरा गाउँपालिकाको मानपुर, इन्द्रपुरलगायत क्षेत्रमा सिँचाइ सुविधा पुराउने योजना छ । नहर निर्माणका लागि ९८ करोड रुपैयाँमा सम्झौता गरिएको छ ।
आयोजनाका अनुसार अगैया–कोहलपुर–एचगाउँ–जेठीनालासम्मको ४५ किमि पश्चिम मूल नहरको काम सकिएको छ । बाँधको सबै काम पूरा भइसकेको छ । अगैया–बैजापुर–नरैनापुर–कटकुइयासम्मको साढे ५३ किमि नहरको काम भर्खरै सुरु गरिएको छ । करिब ४५ किमि नहर क्षेत्रमा रूखैरूख पर्छन् । ती रुख हटाउने प्रक्रिया पनि सुरु गरिएको आयोजनाले जनाएको छ ।