Logo

घरजग्गा कर वृद्धिको विरोधमा प्रर्दशन

पोखरा महानगरपालिकाले घर–जग्गामा कर वृद्धि गरेपछि त्यसको विरोधमा प्रर्दशन भएको छ । चालु आर्थिक वर्षदेखि घर–जग्गाको कर वृद्धि भएको विषयमा बुधबार संस्थागत रुपमा जागरुक नागरिक समाज विरोध उत्रिएको हो । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षदेखि घर–जग्गा कर ३ सय प्रतिशतसम्म वृद्धि गरेको छ । गत वर्षकै कर यथावत कायम गर्न जोडदार माग गर्दै समाजले कर वृद्धि भएको विरोधमा थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको समाजका अध्यक्ष रामहरि ढुंगानाले बताए ।

प्रदेश तथा स्थानीय तहले घर जग्गा तथा सवारी एवं व्यावसायी करमा अस्वभाविक करको दर वृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यसलाई पुन: विचार गर्न अध्यक्ष ढुंगानाले आग्रह गरे । गतवर्षको तुलनामा चालु वर्षमा ३ सय गुणासम्म घर–जग्गा कर वृद्धि गरेकोले त्यसको विरोधमा आफूहरुले बुधबार पोखराको चिप्लेढुंगादेखि न्यूरोड हुँदै महानगरको कार्यालयसम्म विरोध गरेको उनले बताए । विरोधका बीच केही समय महानगरको मुल गेटमा धर्ना दिइ पोखराका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र बुझाएको उनको भनाइ छ ।

बैंक तथा वित्तीय क्षेत्रबाट प्रभावित भएको अवस्थामा प्रदेश सरकारले सवारी नविकरण, पैत्रिक सम्पत्ति, अंश बण्डा तथा नामसारी गर्दा लगाएको दस्तुरले आम नागरिक आर्थिक रुपमा थला परेको अवस्थामा स्थानीय सरकारले भौगोलिक क्षेत्र मनन नगरी थोपरेको संघ संस्था नविकरण दस्तुर घर जग्गा एकीकृत सम्पत्ति कर लगायतका अन्य कर तथा दैनिक उपभोग्य बस्तुहरुमा गरिएको अस्वभाविक करले जनताको ढाँड सेक्ने काम भएको अध्यक्ष ढुंगनाको दावी छ । महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमि लगायत आन्तरिक राजस्वका सबै शिर्षकमा वृद्धि गरेको छ ।

पोखरा महानगरका मेयर आचार्यले यसअघि जे भए पनि चालु वर्षदेखि अधिकांश पिच सडक भएको क्षेत्रमा जग्गाको मूल्य स्वभाविक बढ्ने भएकोले घर तथा जग्गा कर वृद्धि गरेको बताए । यसअघि महानगरले वार्षिक रूपमा न्यूनतम घर–जग्गाको १ सय ५० रुपैयाँ लिने गरेकोमा चालु वर्षदेखि ५०० रुपैयाँ लिन थालेको मेयर आचार्यले बताए । जग्गा मूल्यांकन बढेसँगै करको दर केही वृद्धि हुने, सडक नभएको र कच्चीसडकबाट पिच भएको अवस्थामा घर तथा जग्गाको करको दरमा केही वृद्धि हुने मेयरको भनाइ छ ।

जग्गाको न्यूनतम अनुपात मालपोतसँग मिलाउँदा जग्गाको मूल्यांकन बढेकोले कर वृद्धि भएको मेयर आचार्यले बताए । मेयर आचार्यले भने,‘अहिले दैनिक जसो एक दुई जना घर–जग्गा करको विषयमा गुनासो लिएर मकहाँ आउने गर्छन्, मैले राजस्व शाखामा एक पटक बुझ्न जान र थप केही परे पुन: आउन भन्दा पनि हालसम्म कोही आएका छैनन् ।’ यता पोखरा महानगरका उपमेयर मन्जुदेवि गुरुङले करको दर वृद्धि नगरेको बताए । जग्गा मूल्यांकन बढेसँगै केही करको दर वृद्धि भएको उनको भनाइ छ । धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत केही शीर्षकमा वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्