प्राधिकरणलाई आर्थिक नोक्सानीबाट बचाउन माग «

प्राधिकरणलाई आर्थिक नोक्सानीबाट बचाउन माग

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले प्रसारणलाइन नबन्दा हुने आर्थिक नोक्सानीबाट प्राधिकरणलाई बचाउन माग गरेको छ ।
कर्मचारी युनियनको १०औं  केन्द्रीय सभाको समापनका अवसरमा शनिबार जारी गरेको २९ बुँदै घोषणापत्रमा प्रसारणलाइन नबन्दा हुने नोक्सानीबाट बचाउन माग गरेको हो । विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् कम्पनीसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) मा समयमै प्रसारणलाइन प्राधिकरणले बनाउन नसकेमा जरिवाना कम्पनीहरूलाई तिर्नुपर्ने उल्लेख छ । सभाले विदेशी लगानी भित्र्याउने नाममा सस्ता र आकर्षक आयोजना विदेशी कम्पनीलाई सुम्पने र तीनै आयोजनाबाट अमेरिकी डलरमा भुक्तानी दिने गरी महँगोमा विद्युत् खरिद गर्नेजस्ता गलत कार्य नगर्न माग गरेको हो । दीर्घकालीन रूपमा नेपाल विद्युत् प्राधिकरणलाई अस्वाभाविक आर्थिक भार पर्ने गरी भर्खरै गरिएको रसुवा भोटेकोसी र माथिल्लो त्रिशूली १ को पीपीए बदर गर्न पनि माग गरेको छ ।
सभाले जलविद्युत्मा आत्मनिर्भर बन्न सस्ता र आकर्षक आयोजना प्राधिकरणलाई उपलब्ध गराउन तथा प्रदेश नम्बर ७ लाई आर्थिक रूपमा समुन्नत बनाउन प्रदेशका जनता, प्राधिकरण र यहाँ कार्यरत कर्मचारीको संलग्नतामा १० देखि ५० मेगावाटसम्मको एउटा जलविद्युत् आयोजना निर्माण गर्न पनि माग गरेको छ । अध्ययन सम्पन्न भई तत्काल निर्माणमा जानसक्ने अवस्थामा रहेको हालसम्मको ठूलो जलाशययुक्त बूढीगण्डकी आयोजना सम्पन्न हँुदा मत्स्यपालन, जलयातायात र पर्यटनको समेत विकास हुने हुनाले सो आयोजनाको अनुमानित लागत पुनरावलोकन गरी प्रतिस्पर्धात्मक विधिबाट राज्यकै लगानीमा निर्माण गर्न पनि माग गरेको छ । सभाको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्