डिसेम्बरमा बेलायतको व्यापारघाटा बढ्यो

तेलको मूल्यमा भएको वृद्धि र उच्च आयातले डिसेम्बरमा बेलायतको व्यापारघाटामा वृद्धि भएको छ ।
उक्त महिनामा बेलायतले १३ अर्ब पाउन्डको व्यापारघाटा बेहोरेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यो व्यापारघाटा विश्लेषकहरूको प्रक्षेपणको तुलनामा पनि उच्च हो ।
कार्यालयको छुट्टै तथ्यांकले औद्योगिक उत्पादनमा पनि २०१२ देखिकै ठूलो गिरावट आएको देखाएको छ । फोर्टिज नर्थ सी पाइपलाइन बन्द भएकाले औद्योगिक उत्पादनमा पनि गिरावट आएको हो ।
अघिल्लो महिनाको तुलनामा डिसेम्बरमा औद्योगिक उत्पादनमा १.३ प्रतिशतको गिरावट आएको छ । समग्र औद्योगिक उत्पादनको अंशका रूपमा रहेको बेलायतको म्यानुफ्याक्चरिङ क्षेत्रको उत्पादनमा ०.३ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रमा भएको यो वृद्धि लगातार आठां महिनामा हो ।
डिसेम्बरमा निर्माण क्षेत्रको उत्पादनमा पनि १.६ प्रतिशतको वृद्धि भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
वस्तु तथा सेवालाई समेट्ने कुल व्यापारघाटा नोभेम्बर र डिसेम्बरको बीचमा १.२ अर्ब पाउन्डले वृद्धि भई ४.८ अर्ब पाउन्ड कायम भएको छ ।
कार्यालयको वरिष्ठ तथ्यांकविद् ओले ब्ल्याकले भनेका छन्, “तेलको मूल्यमा भएको वृद्धिका कारण तेल आयातको मूल्यमा पनि वृद्धि भएकाले चौथो त्रैमासिक अवधिमा व्यापारघाटामा वृद्धि भएको हो ।”
“२०१७ मा निर्माणको क्षेत्रमा यथावत् अवस्थाको कायम भएको थियो । यसमा डिसेम्बरको महत्वपूर्ण योगदान रहेको छ ।”