Logo

नागढुंगा सुरुङमार्गको छिचोलियो रेस्क्यु टनेल

सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपतकालीन सुरुङको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ–काठमाडौं वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।

साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ । सोमबारसम्म दुई हजार एक सय ८६ मिटर खन्ने काम सकिएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर बाँकी छ । आगामी मंसिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको इन्जिनियर कोइरालाले जानकारी दिए ।

सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्नेमा समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्गको शिलान्यास गरे पनि सुरुङ खन्ने काम झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्