सामाजिक अपराधीकरणमा बेरोजगारीको जोखिम

सामान्यतया काम गर्ने इच्छा, क्षमता, दक्षता तथा उमेर यथास्थितिमा रहँदारहँदै पनि विविध परिस्थितिजन्य प्रभावका कारण आत्मसम्माजनक रोजगारी हासिल गर्न सक्षम नरहेको अवस्थालाई बेरोजगारीको संज्ञा दिन सकिन्छ । रोजगारी विकासको क्षेत्रमा चुनौतीपूर्ण मानिएको उक्त सामाजिक समस्याबाट परिवार, समाज, विश्वलगायत नेपाल पनि अछुतो रहन सकेको छैन ।
कायमी समस्या न्यूनीकरणका विविध उपाय पत्ता लगाउने सु¬–उद्देश्यका साथ विज्ञ टोलीलगायतका सरोकारवाला पक्षले सभा, सम्मेलन, गोष्ठी, प्रशिक्षण आदिमा ठूलो धनराशि खर्चिए तापनि उपादेयतासहितको व्यावहारिक पक्षमा भने हालसम्म पनि सन्तोषजनक नतिजा हासिल गर्न सकिएको छैन भन्दा त्यति फरक नपर्ला । प्राप्त रोजगारीको अनुपातमा हुन आउने बेरोजगारीको उच्च दर नै समस्या समाधानको क्षेत्रमा बाधक साबित हुन गएको तथ्यहरूले औंल्याउँदै आएको पाइन्छ ।
सामाजिक चुनौतीका रूपमा रहेको प्रस्तुत बेरोजगारीउन्मुख नियतिलाई समयमै उचित उपचार विधिका विविध उपाय अवलम्बन गर्दै न्यूनीकरणको प्रयास नगर्ने हो भने निकट भविष्यमा विकराल सामाजिक अपराधीकरणको रूपमा रूपान्तरण हुन सक्ने सम्भावनालाई अवश्य पनि अस्वीकार गर्न मिल्दैन ।
किनकि भोकको ज्वालाले सही–गलत समयमा नै निराकरण गर्न सक्ने क्षमतामा ह्रास आउने हुँदा बेरोजगारी समस्यामा रुमल्लिने समूहविशेषले गैरकानुनी रूपमै भए पनि अर्थोपार्जनका अनेकन् उपाय पछ्याउन सक्ने गलत संस्कृति हाबी हुने सामाजिक अपराधका सैद्धान्तिक विषयवस्तुहरू हुन्, जसको ऋणात्मक असरस्वरूप नागरिक समाजमा गरिबीको चर्को मार अभिवृद्धि भई अपराधजन्य गतिविधिले प्रोत्साहन पाउने देखिन्छ ।
सहजै मनग्य आर्थिक लाभ हासिल गर्न सकिन्छ भन्ने गलत मानसिकताको भ्रम नागरिक समाजमा छर्दै अपराधजन्य मनस्थितिमा रमाउन चाहने समूहविशेषले सोझासाझा निमुखाका समुदाय वा तत्सँग सम्बन्धित युवा जमातलाई मुख्य केन्द्रबिन्दुमा राख्ने दुराशययुक्त भावनाको विकास गर्नेछन्, जसको नकारात्मक परिणामस्वरूप सम्बद्ध समूहलाई गलत आर्थिक कार्यमा प्रतिस्थापन गर्दै आपराधिक क्रियाकलापको बढोत्तरी गराउने सम्भावना रहन्छ । उक्त गलत संस्कृतिको अभिवृद्धिले राज्यका विभिन्न सुरक्षा निकायलगायतका आर्थिक जनसरोकारका विषयसँग साक्षात्कार रहने अंगहरूमा थप सुरक्षा चुनौती थपिने हुँदा सामाजिक अपराधीकरणमा बेरोजगारीको जोखिमको मात्रा अत्यधिक रहन जाने तथ्यहरू प्रमाणित गर्दै आएको वर्तमान अवस्था हो ।
यही त्यो कारक तत्व हो, जसले केही हदसम्म आपराधिक क्रियाकलापमा युवा समूहको बाहुल्यतालाई अत्यधिक मात्रामा समाहित गर्ने गरेको हामीले देखेभोगेका छौं । तर, त्यसो भन्दैमा समस्त युवा समुदायको भावनामा चोट पुर्याउने उद्देश्यअनुरूपको लेखनको भावना पक्कै पनि होइन । किनभने राष्ट्रका होनहार युवा जनशक्तिलाई सामाजिक अपराधीकरणको जोखिमयुक्त अवस्थाबाट विमुख गराउनु निश्चय नै चुनौतीपूर्ण कार्य हो ।
जुन केही हदसम्म बेरोजगारी समस्याले निम्त्याएको सामाजिक ऋणात्मकताको भयावह विसंगतिपूर्ण व्यवहारको परिदृश्यसमेत हो भन्न सकिन्छ, जसका अनेकन् पक्षमध्ये न्यून शैक्षिक योग्यताका कारण अपराधजन्य कार्यका लागि उद्यत गराउन चाहने समूहको गलत मनसाय अभिवृद्धिलाई आर्थिक प्रलोभनजन्य व्यवहारको विकासले सहजै अपराधकर्ममा हौसिने अवस्था तयार हुने गरेको देखिन्छ ।
किनभने बेरोजगारी बस्नुभन्दा न्यून आर्थिक आय–आर्जन हुन्छ भन्ने भावनाको विकासले कतिपय अवस्थामा अन्जानवश अपराध कार्यमा होमिन पुगेको पाइयो । प्रस्तुत अवस्था तयार हुनुमा विशेषतः कामका लागि सोचेअनुकूलको शिक्षा विकासको पर्याप्त अभाव, फलतः समयको मागअनुरूप प्राविधिक दक्षता अभिवृद्धि जुन रूपमा हुनुपर्ने थियो, त्यसमा आएको न्यूनताका कारण समयसापेक्ष आफू वा आफ्नो समूहलाई सहजै रोजगारी विकासको महायात्रामा समाहित गर्न आवश्यक पर्ने उद्यमशीलताको अभाव रहन गएकै कारण कि त बेरोजगारी बस्नुपर्ने अन्यथा सामाजिक अपराधीकरणको दलदलमा भासिनुपर्ने ऋणात्मक अवस्था तयार देखिन्छ, जुन मुलुकका लागि निकै ठूलो चिन्ताको विषयसमेत हो ।
जसका कारण एकातिर श्रमका लागि दक्ष जनशक्तिको अभाव रहन्छ भने अर्कातिर अपराधजन्य सामाजिक बाहुल्यताले नागरिक समाजमा असुरक्षा तथा जोखिमको मात्रा बढाउने गरेको तथ्य प्रमाणित गर्दै आएको छ, जुन उच्चदरको जनसंख्या वृद्धि तथा नागरिक सामाजिक आचरणमा अर्काको देखासिकी गर्ने तर त्यसका लागि आवश्यक पर्ने अर्थको अभावले निम्त्याएको गम्भीर परिणामको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत प्रवृत्तिको अभिवृद्धिलाई लिन सकिन्छ । काम गर्न सक्ने क्षमता भएका तर बेरोजगारी बस्नुपर्ने अवस्थाको विकासले आर्थिक रूपमा मानवलाई विपन्न बनाउनेछ भन्दा फरक नपर्ला ।
जब मानिसले आर्थिक रूपमा सम्पन्नता हासिल गर्न सक्दैनन्, तब दैनिक अत्यावश्यकीय वस्तु गाँस, बास तथा कपासका लागि जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने हुँदा सामाजिक क्षेत्रमा थप आर्थिक अपराधका विविध स्वरूप देखा पर्छन्, जसअन्तर्गत मानव ओसारपसार, देहव्यापार, लागूऔषधको अवैध कारोबार, बहुमूल्य पहेंलो धातु सुनलगायतका अन्य धातुजन्य वस्तुको अवैधानिक तवरबाट तस्करीको अत्यधिकता, वैदेशिक मुद्रा तथा नक्कली मुद्राको गैरकानुनी धन्दा विकास एवं प्रकारले दुर्लभ वन्यजन्तुको अवैध सिकार तथा ओसारपसारमा प्रलोभन देखाई फसाउने प्रवृत्ति बढ्दो रहेको यस क्षेत्रका जानकारहरूको बुझाइ रहेको पाइन्छ । तसर्थ, बेरोजगारी समूहमा रहेका अत्यन्त न्यून प्रतिशतले आत्मसात् गर्ने गरेको सामाजिक अपराधको श्रीवृद्धिलाई न्यूनीकरण गर्नु नै अपराधीकरणलाई न्यूनताउन्मुख मार्गमा प्रतिस्थापन गर्नुसरहको अवस्था हो ।
किनकि नागरिक समाजबाट न त बेरोजगारीको दरलाई निर्मलीकरण गर्न सकिन्छ, न त सामाजिक अपराधलाई नै भन्ने प्रश्नको चौघेराभित्र रहेर बेरोजगारी समस्याको हल खोज्नुपर्ने हुन्छ । आजका युवा जमातलाई श्रमबजारमा सही रूपमा आवश्यक व्यवस्थापन तथा समायोजन गर्न सकियो भने मात्रै प्रस्तुत बेरोजगारी एवं सामाजिक अपराधबाट मुक्ति पाउने अवस्था तयार हुने देखिन्छ, जसका लागि दक्ष तथा अदक्ष श्रमशक्तिलाई उनीहरूको योग्यता, दक्षता तथा सीप विकासको आधारलाई मूल्यांकनको मापनबिन्दु मान्दै रोजगारीको क्षेत्रमा समाहित गर्ने क्षमताको विकासले सामाजिक अपराधीकरणमा बेरोजगारीको जोखिमको मात्रा न्यून गर्न सकिने अवस्था प्रारम्भ हुने देखिन्छ ।
यसका अतिरिक्त विद्यालय तथा महाविद्यालय तहमा अध्ययनरत समूहलाई बेरोजगारी समस्याले समाजमा पार्ने सामाजिक दुष्प्रभावका बारेमा सही ज्ञान प्रदान गर्न सकियो भने पक्कै पनि अपराधकर्मबाट सम्बद्ध पक्ष विमुख रहनेछन् । परिणामतः उनीहरूमा रोजगारीका लागि भौंतारिए मानसिक तनावमा जकडिँदै अपराधकर्ममा लाग्नुभन्दा स्वरोजगारजन्य संस्कृतिलाई बढावा दिनुपर्छ भन्ने ज्ञानको सम्प्रेषणले यस क्षेत्रमा सकारात्मक ऊर्जाको विकास गर्दै रोजगारीका लागि सरकारको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनेछ ।
नेपाललगायत समस्त दक्षिण एसियाका विभिन्न मुलुकको साझा समस्याका रूपमा रहेको बढ्दो बेरोजगारी तथा सामाजिक अपराधको अभिवृद्धि हुने प्रमुख कारक तत्वविशेषमा गरिबी, अशिक्षा तथा खुला सीमा व्यवस्थापनमा भएको अभावका कारण सहजै यी क्षेत्रमा आपराधिक समूहको बाहुल्यताको उग्रताले समस्या समाधानमा जटिलता प्रदान गरेको मात्र हो ।
अझ नेपालको सन्दर्भमा भन्ने हो भने बढ्दो जनसंख्या वृद्धिका कारण शैक्षिक बेरोजगारीको दरमा उच्चतम वृद्धि हुन गई युवा समूह कामका लागि बाह्य मुलुकमा पलायन हुने डरलाग्दो अवस्था पैदा भएको छ । किनकि ग्रामीण क्षेत्रमा कृषिश्रम नगर्ने तर मुलुकबाहिर सोही व्यवहारमा रमाउन चाहने आजका युवा समूहले निश्चय पनि स्वदेशमा हात बाँधेर बस्नुपर्ने अवस्था सिर्जना हुनेछैन, किनभने मुलुकभित्रै कृषिश्रममा रमाउने परिस्थितिको निर्माणले उक्त अवस्थाको अन्त्य गर्नेछ ।
यदि स्वदेशभित्रै स्वदेशी श्रमलाई आत्मसम्मानका साथ औद्योगिक तथा कृषिक्षेत्रहरूमा व्यवस्थापन गर्न सकिने हो भने बाह्य श्रमको आयातलाई स्वदेशी श्रमले अवश्य पनि प्रतिस्थापन गर्नेछ । प्रस्तुत क्रियाकलापको विकासबाट सस्तो ज्यालादरमा स्वदेशी मानव पुँजीलाई बिनाअवरोध श्रमबजारमा परिचालन गर्न पाइने हुँदा सम्बद्ध क्षेत्रको लागत खर्च न्यून रहन जाने कुरामा हामीहरू कसैको पनि दुईमत रहनेछैन । विपरीत अवस्था पैदा भई स्वदेशी श्रमको सट्टा बाह्य श्रमबजारबाट आयातित परनिर्भरता कायम रहे मुलुकको श्रमबजारमा बेरोजगारीको भयावह अवस्था तयार भई अपराधजन्य अनुत्पादक कार्यक्षेत्रमा नेपाली श्रमको बाहुल्यता अभिवृद्धि हुनेछ ।
आयातित श्रमको ऋणात्मक असर भन्नु नै स्वदेशी श्रम पलायन गर्नुका साथै प्राप्त आम्दानीलाई परिवत्र्य वैदेशिक मुद्रा अमेरिकी डलर वा सो नभए पनि निश्चित रूपमा भारतीय मुद्रामा सटही गर्दै सम्बद्ध श्रमपक्षले मुद्रा बहिर्गमनको दरलाई अख्तियार गर्ने अवस्था पैदा हुनेछ । तसर्थ ढिलो नगरीकन बेरोजगारी समस्या समाधानार्थ आवश्यक बेरोजगारीमैत्री औद्योगिक नीति वा कृषिश्रम व्यवस्थापनका लागि कृषिमैत्री रणनीतिक योजनालाई सम्बोधन गर्न राज्यपक्ष कुनै पनि हालतमा चुक्नु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्ने हुन्छ, जसले रोजगारी तथा बेरोजगारी समस्याको सन्दर्भमा हुन आउने अन्तरसम्बन्धको विभिन्न कोणबाट अध्ययन गर्दै नागरिक समाजमा यसको दुष्प्रभावस्वरूप उत्पन्न हुने सामाजिक अपराधीकरणको सन्दर्भमा ज्ञात गराउँदै आत्मसम्मानका साथ आफूले प्राप्त गरेको रोजगारीको क्षेत्रमा रमाउन सिकाउनेछ भन्दा फरक नपर्ला ।