Logo

टारी खेतमा अझै रोपाइँ हुन सकेन

पर्याप्त वर्षा नभएकाले तनहुँका टारी खेतमा अझै रोपाइँ हुन सकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । तर अझै पनि टारी खेतमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

उनले भने, ‘आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अझै पनि रोपाइँ हुन सकेको छैन । कुलो, नहरबाट पानीको व्यवस्था भएका अधिकांश ठाउँमा रोपाइँ सकिएको छ ।’ टारीखेतमा पानीको असुविधा भएकाले वर्षा नहुँदासम्म रोपाइँ गर्न कठिनाइ भएको तिवारीको भनाइ छ । उनले भने, ‘यस वर्ष जिल्लामा रोपाइँ पनि ढिला भएको हो । समयमै पानी नपर्दा धानको बीउ राख्नै समस्या भयो ।’

तिवारीका अनुसार यस वर्ष समयमै पानी नपरेका कारण धेरै ठाउँमा कृषकले समयमै बीउ राख्न पाएनन् भने कतिपय ठाउँमा भने कृषकले रोपाइ गर्ने आँट नै गरेनन् । कुलो, बाँधबाट पानीको व्यवस्था भएको ठाउँमा रोपाइँ सुरु भए पनि मुल नफुटेका कारण अन्यत्र ठाउँमा रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ । तिवारीका अनुसार भानु नगरपालिकामा अन्यत्रभन्दा छिटो रोपाइँ भएको छ ।

भानु नगरपालिकास्थित चुँदीफाँटमा यही वर्ष निर्माण गरिएको कुलोका कारण पानीको सहज व्यवस्था भएपछि त्यहाँ रोपाइँ सहज भएको छ । कृषि ज्ञान केन्द्र र सिंचाइ तथा जलस्रोत कार्यालयको दुई लाख सहयोगमा एक सय मिटर कुलो निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिका–८ भुङभुङेका सबै भू–भागमा रोपाइँ सकिएको स्थानीय लोकनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार साउनको पहिलो सातामै यस ठाउँमा रोपाइँ सकिएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका १० हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये एक हजार ८९० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धानखेती हुने गरेको छ ।

गत वर्ष जिल्लामा ३३ हजार २८० मेट्रिक टन वर्षे र सात हजार ९३८ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ ।

तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार ५५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुविधा पुगेको छ भने सात हजार २३६ हेक्टर क्षेत्रफलमा मौसमी सिँचाइको सुविधा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्