१ करोड २२ लाख राजस्व संकलन «

१ करोड २२ लाख राजस्व संकलन

५ निर्माण कम्पनी कारबाहीमा 


पाँचथर-समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला मध्यपहाडी लोकमार्गको पूर्वीखण्डमा काम गर्दै आएका पाँचवटा निर्र्माण कम्पनीलाई आयोजनाले कारर्बाही गरी १ करोड २२ लाख राजस्व संकलन गरेको छ ।
समयमा काम गर्न नसकेका ५ वटा निर्माण कम्पनीलाई कारबाही गरिएको आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए । मध्यपहाडी लोकमार्गको पूर्वीखण्डमा काम गर्दै आएका ५ वटा निर्माण कम्पनी कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने निर्माण कम्पनी पाँचथरसहित पूर्वका विभिन्न जिल्लामा सडक र पुल निर्माण तोकिएकै समयमा काम नसकेको भन्दै कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा पुल निर्माणमा रहेको कोसी एन्ड न्यौपाने कन्ट्रक्सन प्रालिलाई ५९ लाख ६९ हजार १ सय ६५ रुपैयाँ छ । उक्त कम्पनीले भोजपुर जिल्लामा पुल निर्माण गरिरहेको थियो । सोही क्षेत्रमा काम गरिरहेको इलाइट कन्ट्रक्सन प्रालि पनि कारबाहीमा परेको छ । उसलार्ई आयोजना कार्यालयले ७ लाख ७३ हजार ३ सय रुपैंयाँ जरिवाना गरेको छ । उता तेह्रथुममा काम गरिहेको हिम्दुङ एन्ड थोकर कन्ट्रक्सन प्रालिलाई आयोजनाले ५४ लाख ५३ हजार २ सय २६ रुपैयाँ जरिवाना तिराएको छ । यता पाँतथरको च्याङथापु क्षेत्रमा काम गरिरहेको गौरा त्रिशूली जेभी कन्ट्रक्सन प्रालिलाई १ लाख ७५ हजार १ सय ५२ रुपैंयाँ जरिवाना गराएको छ । उता भोजपुरमा रहेको एरीमा कन्ट्रक्सन प्रालिलाई १ लाख १९ हजार ८ सय २० रुपैंयाँ जरिवाना गरिएको छ ।
कारबाहीमा पर्ने सबै कम्पनी मध्यपहाडी पुष्पलाल लोकमार्ग पूर्वीखण्डमा कार्यरत हुन् । पूर्वीखण्ड पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुरलगायतका जिल्लालाई हेर्ने गरी पाँचथरमा स्थापना भएको हो । गत पुसमा स्थापना भएको कार्यालयले ठाउँठाउँमा शाखा राखेर मध्यपहाडी सडक निर्माणकार्य तीव्र विस्तार गरिरहेको आयोजनाले जनाएको छ ।
पूर्वीखण्ड पाँचथरको चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवासम्म ३ सय ८६ किलोमिटर पर्छ । उक्त खण्डमध्ये १ सय ८२ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डका लागि काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । कालोपत्रे भइसकेको खण्डमध्ये आयोजनाले नै गरेको ६० किलोमिटर हो । भोजपुरमा २२ किलोमिटर, तेह्रथुममा १८ किलोमिटर र पाँचथरमा २० किलोमिटर मध्यपहाडी लोकमार्ग आयोजनाले नै बनाएको हो । कालोपत्रेमध्ये अरु यसअघि नै निर्माण भइसकेका सडक प्रयोग गरिएको छ ।
लोकमार्ग निर्माणसँगै मध्य पहाडको जीविकोपाजर्नका साथै आर्थिक कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ । लोकमार्गको निर्माण सुरु भएदेखि नै पाँचथरको च्याङथापु, ओयाम, थर्पुलगायत साना बजारमा बजारीकरण सुरु भएको छ । यता तेह्रथुमको चुवानडाँडा, सङक्रान्ती बजार, वसन्तपुरलगायत क्षेत्रमा पनि बजारीकरण हुन थालेको छ । सरकाले यसअघि नै मध्यपहाडी लोकमार्गले छोएका १० सहरलाई नमुना सहरको रूपमा विकास गर्ने लक्ष्य लिएर सोही अनुरुप पाँचथरको फिदिम र तेह्रथुमको वसन्तपुरमा कार्यक्रम सुरु गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्