लुम्बिनी आउने चिनियाँ पर्यटक बढे

लुम्बिनीमा गत जनवरीसम्म चिनियाँ पर्यटकको आगमन न्यून रहेकोमाम फेब्रुअरिपछि उत्तरी छिमेकी मुलुकका पर्यटक बढन् थालेका छन् । फेब्रुअरिमा ११५, मार्चमा २३६ र अप्रिलमा ४१६ चिनियाँ पर्यटन लुम्बिनी आएका छन् । गर्मी र वर्षा यामका कारण मे महिनामा लुम्बिनीमा अन्य मुलुकका पर्यटकको आगमन घटेको छ । तर चिनियाँ पर्यटकको आगमनमा कुनै कमी आएको छैन ।
मे महिनामा ४२३ चिनियाँ लुम्बिनी आएकोमा जुनमा केही घटेर ३९३ मा झरेको थियो । तर जुलाइमा पुन: बढेर ४०४ चिनियाँ पर्यटक आएको लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांकले देखाएको छ । कोषले नेपाली, भारतीय र तेस्रो मुलुकका गरी पर्यटक आगमनको तथ्यांक राख्ने गर्छ । मे, जुन र जुलाइमा लुम्बिनी आउने तेस्रो मुलुकमध्ये सबै भन्दा बढी चिनियाँ पर्यटक रहेका छन् । सन् २०२३ सुरु भएयता ७ महिनामा लुम्बिनीमा २ हजार ५ चिनियाँ पर्यटक आइसकेको कोषले जनाएको छ ।
सन् २०१९ को अन्त्यबाट कोरोना संक्रमण सुरु भएदेखि चिनियाँ पर्यटक आगमन ठप्प जस्तै थियो । अघिल्लो वर्ष सन २०२२ मा जम्मा ४३२ चिनियाँ लुम्बिनी आएका थिए । तर यो वर्षको मध्यसम्म त्यसको ४ गुना बढी चिनियाँ आइसकेका छन् । चिनले गतमार्च १५ तारिखदेखी लागु हुने गरी पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समावेश गरेको थियो । सोहीकारण नेपाल आउने चिनियाँको संख्या बढ्न थालेको हो । तर चिनिया पर्यटकको आगमन कोभिड अगाडिको अवस्थामा जस्तो अझै रहेको छैन । सन् २०१९ को जुलाइमा एक हजार ९ पर्यटक लुम्बिनी आएका थिए ।
नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले चिनियाँ पर्यटकको आगमनले केही आशा लाग्दो देखिएको तर पर्याप्त मान्न नसकिने बताए । ‘कोरोनाकाल पछि यती बेला पर्यटक बढ्नु स्वभाविक हो । यसले पर्यटक व्यवसायीलाई झिनो आशा जगाएको छ ।’ उनले भने, ‘आउँदो सिजनमा चिनियाँ पर्यटकको आगमन अझ केही बढ्न सक्छ ।’ थापाले भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदासम्म आशा गर्ने ठाउँ नभएको बताए ।
बुटवल–नारायणगढ सडक विस्तारमा ढिलाइ हुँदा पनि लुम्बिनीको पर्यटन आगमनलाई असहज बनाएको उनको भनाइ छ । लुम्बिनीमा गर्मी र वर्षा याममा भारतीयसँगै आन्तरिक पर्यटकको आगमन दर घटेको छ । मे महिनामा २७ हजार, जुनमा २१ हजार र जुलाइमा १० हजार भारतीय लुम्बिनी आएका छन् । गत अप्रिलमा नेपाल भित्रैबाट ९९ हजार जना लुम्बिनी घुम्न आएका थिए । मे मा ४९ हजार, जुनमा ३१ हजार र जुलाइमा साढे २३ हजार आन्तरिक पर्यटक आएको कोषले जनाएको छ ।