Logo

दक्षिण कोरियामा पानीजहाज निर्माणको रोजगारी

दुई दिनमै सात हजारको आवेदन

कोरियाको पानीजहाज निर्माण (सिप बिल्डिङ) क्षेत्रमा रोजगारीका लागि २ हजार ५०० छनोट गर्ने गरी शनिबारबाट खुला गरिएको भाषा परीक्षाका लागि २ दिनमा ७ हजारभन्दा बढीले आवेदन दिएका छन् । ईपीएसअन्तर्गत शनिबारबाट सुरु भएको कोरियन भाषा परीक्षाको आवेदन २४ साउनसम्म लिन सकिने भएपनि २ दिनमै ७ हजारभन्दा बढी युवाले आवेदन दिएको ईपीएस शाखा नेपालले जनाएको छ ।

कोरियाले एक वर्षमा एक क्षेत्रमा मात्र आवेदन दिन मिल्ने नियम बनाए पनि सिप बिल्डिङ क्षेत्रमा २ दिनमा नै ७ हजारले आवेदन दिएका छन् । शाखाका अधिकृत शोभाकर भण्डारीले ५ दिनमा २५ देखि ३० हजारसम्मले आवेदन दिन सक्ने अनुमान गरिएको बताए । पानीजहाज निर्माण नेपालका लागि नयाँ भएकाले अन्य क्षेत्रजस्तो आवेदकको संख्या यकिन गरेर भन्न नसकिने उनको भनाइ छ । ‘आवेदकको संख्याका आधारमा परीक्षाको मिति तय गरिन्छ,’ उनले कारोबारसँग भने ।

कोरियाको एचआरडीले सिप बिल्डिङ क्षेत्रमा आवेदन दिने युवाले सोही वर्ष कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने नियम भर्खरै बनाएको छ । यसअघि एकै वर्षमा सबै क्षेत्रमा परीक्षाको आवेदन दिन सक्ने प्रावधान थियो । अब भने एक वर्षमा एकै क्षेत्रमा मात्र आवेदन दिन पाउने नियमले परीक्षा तथा अन्य व्यवस्थापनमा सहज हुने भएको छ भने सबैले समान अवसर पाउनेछन् । कोरियाले सन् २०२३ का लागि १६ वटा ईपीएस राष्ट्रमध्ये नेपालबाट करिब ३ हजार युवा लैजान चाहेको छ ।

यसअघि हाल उत्पादनमूलक क्षेत्रका लागि छनोट भएर रोष्टरमा नाम भएका ८९२ युवालाई रोष्टर परिवर्तन गरी पानीजहाज क्षेत्रमा लगिएको थियो । यसरी क्षेत्र परिवर्तन गरेकामध्ये २३८ जना कोरियाका रोजगारदातासँग श्रम सम्झौता भई जाने तयारीमा छन् । ईपीएस शाखाले यो महिनामा आवेदन माग गरेर असोज १ गतेबाट क्रमश: यूविटी भाषा परीक्षा गर्ने भएको छ । भाषा परीक्षामा आवेदन दिन १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

कोरियाले उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि १३ वर्षदेखि नेपाली युवालाई रोजगारी दिँदै आएको छ । पानीजहाज निर्माणमा भने यो वर्षबाट नेपाली लैजाने लागेको हो । कोरियाका विभिन्न सिप निर्माण कम्पनीमा बढ्दै गइरहेको श्रमिक अभावलाई पूरा गर्न पहिलो चरणमा नेपालसहित अन्य देशबाट यो वर्ष ५ हजार जना लैजाने कोरियाको योजना छ । कोरियाले त्यहाँका विभिन्न सिप बिल्डिङ क्षेत्रमा यो वर्ष चरणबद्ध रुपमा ३ हजार नेपाली लैजाने आश्वासन दिएको छ ।

असोजमा हुने भाषा परीक्षापछि छनोटमा परेका युवाले कोरियाको पानीजहाज निर्माण क्षेत्रतर्फ स्काफोल्ड, इन्सुलेसन, ग्रेण्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्यावलिङ गरी ५ क्षेत्रमा काम गर्न पाउने शाखाले जनाएको छ । कम्पनीअनुसार तलबसहित एकदेखि दुई महिनाको तालिमसमेत दिइनेछ । साथै कार्य स्थल परिवर्तन गर्न चाहेमा अर्को त्यस्तै कम्पनीमा मात्र परिवर्तन गर्न पाउनेछन् । पानीजहाज निर्माण क्षेत्रको रोष्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको जस्तै दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्