पोखराको सार्वजनिक सवारीमा विद्युतीय टिकट «

पोखराको सार्वजनिक सवारीमा विद्युतीय टिकट

पोखरामा विद्युतीय टिकट प्रणाली सुरु भएको छ । पोखराको छोटो दूरीका यात्रुवाहक बसमा भदौ १ गतेदेखि सुरु हुन लागेको ई–टिकेटिङ सिस्टमको शुक्रबार सफल परीक्षण गरिएसँगै शनिबारदेखि उक्त सिस्टम सुरु भएको हो ।
पोखराका बस कम्पनीले उक्त सिस्टम पोखरामा पहिलो पटक सुरु गरेको कम्पनीका सञ्चालक अमृत तिमिल्सिनाले बताए । पोखरा १ सिम्पानीदेखि पोखरा, १७ आँखा अस्पतालसम्मको रुटमा चल्ने पोखरा बस कम्पनी प्रालिका १३ वटा बसमा उक्त सिस्टमको परीक्षण शुक्रबार गरिएको थियो । शनिबार भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङले संयुक्त रूपमा उक्त सिस्टमको उद्घाटन गर्दै सिमपानीदेखि जिरोकिलोमिटरसम्मको यात्रा गरेका हुन् । मेयर, उपमेयरको साथमा विभिन्न बस कम्पनीका अध्यक्ष एवं सञ्चालक टोली सहभागी थिए ।
उक्त सिस्टम लागू भएसँगै आर्थिक रूपमा पारदर्शी, भाडाको विषयमा हुने विवादको अन्त्य हुने सञ्चालक तिमिल्सिनाले बताए । यात्रुहरूले कार्ड प्रयोग गर्दा उनीहरूको रेकर्डसमेत हुने हुँदा छुट भएको यात्रुले यदि सामान बसमा छुटाएको अवस्थामा हराउने कम सम्भावना हुने सञ्चालक तिमिल्सिनाले बताए । उक्त कार्ड प्रयोगकर्तालाई पोखरा बस कम्पनीले चढ्नासाथ न्यूनतम १३ रुपैयाँ तथा अन्यका हकमा नगद भाडा १४ रुपैयाँ लिने सञ्चालक तिमिल्सिनाले जनाए । उक्त कार्ड प्रयोगकर्तालाई भने २० रुपैयाँ भाडा लाग्ने ठाउँमा भने २ रुपैयाँ छुट, ४० रुपैयाँसम्मकोमा ४ रुपैया छुट र ५० रुपैयाँसम्म भाडा लाग्ने ठाउँमा ५ रुपैयाँ छुटको व्याबस्था गरेको उनले जनाए । ज्येष्ठ नागरिकलाई दुई आरक्षण सिटसहित विद्यार्थीहरूलाई ४५ प्रतिशतसम्मको छुटको समेत व्याबस्था गरिएको उनले जनाए । सय रूपैया ब्यालेन्स भएको कार्डमा सुरुमा भने एक सय रुपैयाँ धरौटी राख्नुपर्ने छ । कार्डमा एक सयदेखि अधिकत्तम १ हजार रुपैयाँसम्मको ब्यालेन्स हुनेछ ।
ओम डेभलपमेन्ट बैंकसँग सहकार्य गरिएको उक्त योजनामा पहिलो चरणमा १० हजार कार्ड वितरणको तयारी भइरहेको बैंकका सीईओ विश्वमोहन अधिकारीले जानकारी दिए । उनले भने, “पहिलो चरणमा १० हजार प्रति कार्ड निःशुल्क रूपमा वितरण गर्ने छौं, ३ लाखसम्म कार्ड वितरण गर्ने योजनामा हामी छौं ।”
कुनै कार्ड लिनु परेमा वा रिचार्ज गर्नुपरेमा ओमका कुनै पनि शाखा तथा पोखरा महानगरका कुनै पनि वडा तथा बस कम्पनीका काउण्टरबाट समेत सेवा लिन सकिने व्यवस्था मिलाइएको सीईओ अधिकारीले जनाए । मेट्रो कार्ड आइतबारदेखि पोखरा महानगरपालिकाका अधिकांश वडा कार्यालय, ओम बैंकका शाखा, बस कम्पनीका कार्यालयबाट वितरण हुने जनाइएको छ । यस्तो कार्ड एनक्लाउड कम्पनीले जारी गरेको हो । पोखराका हाल ७ वटा बस कम्पनी प्रालिले उक्त सिस्टम लागु गर्ने अन्तिम तयारी गरेका छन् । पोखरा महानगरभित्र आउँदो असोज ३ गतेसम्म सम्पूर्ण सवारी साधनहरूमा प्रविधि जडान नभए महानगरले उक्त सवारी साधन सञ्चालनमा स्थानीय शासन सञ्चालन ऐनअन्तर्गत रोक लगाउन सक्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्