वर्षेनि घट्दै यार्चा संकलन
![](https://www.karobardaily.com/wp-content/uploads/2023/08/Yarchha-Sankalan-1.jpg)
रुकुम पूर्वका पाटनहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्वा पछिल्ला वर्षहरुमा घट्दै गएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २ र ३ का बुकी पाटनमा यार्सागुम्वा पाइने गरेको छ ।
हरेक वर्ष वैशाखको दोस्रो हप्ताबाट असार अन्तिम हप्तासम्म यार्सागुम्वा संकलन हुने गरेको छ । यस क्षेत्रका स्थानीयहरुको प्रमुख आयश्रोतको रुपमा रहेको बहुमूल्य जडिबुटी यार्सागुम्वा वर्षेनि कम संकलन हुन थालेपछि आम्दानीसमेत घट्दै गएको छ ।
रुकुम पूर्व पुथाउत्तरंगा गाउँपालिका १, का विक्रम बुढा चार/पाँच पटक बहुमूल्य यार्चागुन्वा संकलनका लागि रन्मामैकोटको पाटन पुगेका छन् । कुनै पटक केहि आम्दानी त कुनै पटक यार्चाको आम्दानी आउने जानेमा ठिक्क पारेका उनी अघिल्लो पटकको यार्चा संकलनको कामले उल्टै घाटा भयो । जसले गर्दा यार्चा खोजी यात्रा यस पटकदेखि उनले बन्द गरे ।
उनी मात्र होईन यार्चा पाईने क्षेत्रकै स्थानीय शिव बुढा पनि यसपटक यार्चा संकलनका लागि गएनन् । पहिले पहिले यार्चा संकलनबाट राम्रो आम्दानी भएको भएपनि पछिल्ला वर्षहरुमा यार्चा पाइन छाडेपछि उल्टै घाटा ब्यहोर्नुभन्दा उनी यसपटक यार्चा खोज्न नगएका हुन् । बरु उनी यसपटक आफ्नो घोडामार्फत गाउँमै व्यापारीहरुको समान सार्न व्यस्त छन् ।
शान्त र शिव त केही प्रतिनिधि पात्र मात्र हुन् । यस वर्षको यार्चा सिजनमा यसरी नै यार्चा संकलनप्रतिको वितृष्णा जगाउने र सुनाउने धेरै छन् । यार्चाप्रतिको वितृणा जाग्नका पछाडीको सबैभन्दा मुख्य कारण भनेको यार्चा कम पाइनु नै हो । जसका कारण यार्चा सिजन शुरु हुँदा पनि यार्चा संकलनका लागि जानेहरुको उत्साह भएन । हजारौंको संख्यामा लामलस्कर हुने रन्मामैकाटको दुले क्षेत्र यसपटक खासै भरिभराउ भएन ।
पाइनै छोड्यो यार्सा
बिगतका वर्षहरुमा जसरी संकलन स्थलमा यार्चा पाइन्थो त्यस्तो अवस्था अहिले छैन । रन्मामैकोटका शिव बुढा ४ वर्षअघि यार्चा संकलनमा पाटन जाँदा एक महिनाको अवधीमा गरेको यार्चा संकलनबाट एक लाख रुपैयाँ कमाएका थिए । ‘पहिले पहिले त यार्सा संकलनबाट राम्रो आम्दानी हुन्थ्यो, एक डेढ लाख पनि कमाई भयो एक महिनाको तर पछिल्लो वर्षहरुमा यार्चा नै पाइदैन’ उनले भने ।
बेलाबेला यार्चा संकलनका लागि पाटन पुगेका तथा यार्चा पाइने स्थानीय क्षेत्र रन्मामैकोटका बासिन्दाहरु जलवायु परिवर्तनका कारण कम यार्चा पाइन थालेको, मानवीय चाप बढ्नुसँगै सिजन खुल्नु अघि नै चोरी हुनु पनि यसको प्रमुख कारण भएको बताउँछन् । पुथा उत्तरगंगा गाउँपालिका-१ का सदस्यसमेत रहेका विक्रम पुन यार्चा कम पाइनुमा धेरै कारण रहेको बताउँछन् ।
‘जलवायु परिवर्तनले कम हिँउ पर्दा उत्पादन कम मात्र होइन त्यहाँ संकलनमा जाने संकलकहरुले पनि यार्चा कसरी टिप्ने भन्ने बारेमा जानकारी नै नभएका करण उत्पादन बढेको छैन’ उनले भने, ‘तालिम प्राप्त नभएका संकलकले यार्चा खोज्दा केही उमेर नपुगेका सानै यार्चा टिप्नु, त्यहाँ जाने घोडा खच्चर तथा मानिसको पैतलाका कारण कुल्चिएर समेत बिगतका वर्षहरुमा उत्पादन नभएको हो की भन्ने हाम्रो अनुमान छ ।’
यार्चा कसरी कम उत्पादन भएको भन्ने विषयमा राज्यले विज्ञहरुको टोली खटाएर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
कम आम्दानी, दुखकष्ट धेरै
बहुमूल्य जडिबुटी जति महंगो छ त्यो टिप्न पनि ज्यानकै बाजी थापेर जानुपर्छ । संकलन स्थलमा हुने निकै चिसोदेखि लेक लागेर पनि केहिको ज्यान जाने गरेको छ । रुकुम सदरमुकाम खलंगाबाट रन्मामेकोटको पहिलो दुले बेसक्याम्पमा पुग्न १ दिनको गाडी र ३ दिनको पैदल यात्रा गर्नुपर्छ ।
त्यस्तै उक्त स्थलबाट यार्चा संकलन गर्ने ठाउँ पाटनसम्म पुग्न अझै २ दिनको कष्टपूर्ण पैदल यात्रा गर्नुपर्छ । रन्मामैकोटको दुले बेसक्याम्पमा संकलकहरुले यार्चा टिप्न अनुमति पत्र लिएपछि दोस्रो बेसक्याम्प स्याङखोलासम्म पुग्न सकिन्छ ।
दुलेमा अनुमति लिई दोस्रो बेसक्याम्प स्याङखोला पुगेका यार्चा संकलकलाई त्यहाँ बसेका यार्चा सिजन व्यवस्थापन समितिका युवा स्वयमसेवकले अनुमति पत्र चेकजाँच गरेर मात्रै यार्चा संकलनका लागि पुपालमा जान दिने व्यवस्था मिलाइएको हुन्छ । यार्चा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको बुकी, पुपाल र पाटन लगायतका क्षेत्रमा पाइने गरेको छ ।
स्थानीय महिनौका लागि बस्दोबस्ती सामान लिएर यार्सा सिजनको शुरु भएलगतै डेढ महिनाका लागि बुकिपाटन जान्छन् । यार्चा संकलनबाट आएको कमाइले त्यहाँको बसाई व्यवस्थापनसँगै वर्षभरीको घरखर्च पनि टार्ने लक्ष राख्ने गरेको रन्मामैकाटकी माया बुढा बताउँछिन् । उनका अनुसार संकलन स्थलमा दैनिकजसो हिउँ पर्ने गरेका कारण चिसोले वृद्धवृद्धा, बालबालिका र महिलाहरु बढी प्रभावित हुने गरेका छन् ।
कम संकलन हुन थालेपछि मूल्य बढ्यो
चारपाँच वर्षअघि डेढ क्वीन्टलसम्म यार्सा संकलन हुने यस क्षेत्रमा हाल २५ देखि ३० केजीसम्म मात्र संकलन हुने गरेको छ ।
अघिल्ला वर्षहरुमा एउटा यार्सागुम्वाको मूल्य गुणस्तर अनुसार पाँचदेखि सात सय रुपैयाँसम्म पर्ने गरेकोमा यस वर्ष सात सयदेखि एक हजार रुपैयाँसम्म मूल्य परेको छ ।