‘अर्थतन्त्र बलियो बनाउन कडा कर नीति’ «

‘अर्थतन्त्र बलियो बनाउन कडा कर नीति’

स्याङ्जा- आन्तरिक राजस्व कार्यालय पोखराका वरिष्ठ कर अधिकृत केशवराज उप्रेतीले अर्थतन्त्र बलियो बनाउन कर नीतिलाई कडा बनाउनु परेको बताएका छन् । उनले अर्थतन्त्र बलियो नबन्दासम्म दिगो विकासको परिकल्पना गर्न नसकिनेसमेत बताए । स्याङ्जास्थित उद्योग वाणिज्य संघले गरेको एक दिने कर शिक्षा कार्यक्रममा बोल्दै कर अधिकृत उप्रेतीले कर नीति कडा बनाउनु सरकारको रहर नभएर बाध्यता भएको बताए ।
वर्तमान समयमा हाम्रो राजस्वको क्षमता झन्डै साढे १६ खर्ब छ, तर बजारबाट करिब ९ खर्ब मात्रै उठ्ने गरेकोमा चिन्ता जनाउँदै उप्रेतीले करमा कडाई नगर्दासम्म राजस्व गुम्ने क्रम जारी रहने बताए । विगतमा जस्तै राजस्व गुम्ने क्रम रहे देशले विकासमा फड्को मार्न नसक्ने उनको जिकीर थियो । “करको दायरामा आउनुहोस्, सरकारका तर्फबाट हामी सहकार्य गर्न तयार छौं,” उनले भने, “करका नाममा व्यवसायीलाई त्रसित बनाइए आर्थिक सूचांकको सकारात्मक पक्ष होइन ।” उनले व्यवसायीले आवश्यक ठाने जहाँ जतिबेला पनि कर शिक्षा तालिम दिन राजस्व कार्यालय तयार रहेको बताए ।
कर शिक्षामा सहभागी व्यवसायीले भने हरेक आर्थिक वर्षको शुरुवातमा प्रस्तुत हुने बजेटले व्यवसायी त्रसित बन्ने गरेको बताए । उनीहरूले व्यवसायीका बीच कर नीतिलाई स्पष्ट पारेर मात्रै सरकारले नयाँ कर नीति लिनुपर्ने आवश्यकता औंल्याए । नयाँ बनाउने नीतिका विषयमा व्यवसायीबीच सहकार्य गरे राजस्व नगुम्ने उनीहरूको भनाइ थियो ।
“आवश्यक तयारी नहुँदा र नपुग्दा कर कार्यालय डर कार्यालय बनेको छ,” जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले भने, “सरकारको कर नीति व्यवसायी मैत्री बन्न नसक्दा कर कार्यालय डर कार्यालय बनेको छ ।” उनले सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्