२० वर्षअघि नै लारीको सम्पत्ति छानबिनमा अवरोध

चरेस तस्करी अभियोगमा पक्राउ परेका भारतीय नागरिक मस्कुर अहमद लारीको सम्पत्ति छानबिनमा २० वर्षअघि नै विभिन्न पक्षबाट अवरोध आएको प्रहरीले बताएको छ । संगठित अपराधबाट आर्जन गरेको सम्पत्ति होटलको आवरणमा शुद्धिकरण गर्ने गरेको भेटिएपछि २०५५ सालमै नेपाल प्रहरीले लारीको आर्थिक कारोबारमाथी सुक्ष्म अनुसन्धान थालेको थियो ।
तर दरबार, प्रहरी प्रशासनभित्रैको ठूलो समूहदेखि सरकार र प्रतिपक्षमा रहेका दलका नेता लगायतले उनको सम्पत्ति छानबिनम अवरोध पु¥याएको नेपाल प्रहरीका तर्फबाट त्यतिबेला अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
“लारीले एभरेस्ट होटललाई ‘फ्रन्ट अफिस’को रूपमा देखाएर अपराधका अन्य धन्दा सञ्चालन गर्ने गरेको त्यतिबेला नै देखिन्थ्यो,” उनको कसूरमा २०५४ सालमा अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, “दरबारदेखि राजनीतिक दल र सुरक्षा निकायकै केही उच्च अधिकारीको संरक्षणमा उनका अवैध धन्दा एकपछि अर्को हुँदै फस्टाएको स्पष्ट छ ।”
२०५४ साल ताका नेपाल प्रहरीको लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइका एसपी रहेका रविराज थापा लारीको आर्थिक कारोबार त्यतिबेलै संकाको घेरामा रहेको बताउँछन् । सशस्त्र प्रहरी बल गठनभएसँगै प्रहरीबाट स्थानान्तरण भई एआइजीबाट अवकास पाएका थापा लारीको सम्पत्ति छानविनको दायराम ल्याउनुपर्ने बताउँछन् ।
चरेस पार्टी, अवैध ग्याम्लिङ, हतियारको अवैध कारोबारजस्ता अपराधमा उनीमाथि त्यसबेला सुक्ष्म निगरानी गरिएपनि ‘माथीको आदेश’पछि प्रहरीले त्यो फाइल त्यत्तिकै छाडेको थियो ।
पूर्व एआइजी थापा पनि चरेस तस्करी, ग्याम्लिङ, अबैध मदिराको बिक्री जस्ता अपराधमा लारीलाई ‘बंगलादेशी गिरोह’ले साथ दिएको बताउँछन् ।
२०५४ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तत्कालिन शाही नेपाल वायुसेवा निगमको जहाज जर्मनको फ्रयांकफर्ट विमानस्थल अवतरण गर्ने क्रममा २ सय ५० केजी चरेस भेटिएपछि लारी फरार थिए । त्यसयताको २० वर्ष शक्ति केन्द्रकै आडमा उनी लुक्दै आएका थिए ।
यो अभियोग र लागूऔषध तस्करको कनेक्सनबारे सहयोगका लागि जर्मन सरकारले तत्कालिन एसपी थापालाई बोलाएको थियो । तर प्राविधिक कारण देखाँउदै उनी त्यसबेला गएका थिएनन् ।
“म लारीको चरेस तस्करी अभियोगमा अनुसन्धान अधिकृत नभएपनि नजिकबाट उनको धन्दाबारे अध्ययन गरीरहेको थिएँ,” थापा भन्छन्, “हामीले पाएका प्रमाणका आधारमा के स्पष्ट हुन्छ भने लारीको एभरेस्ट होटल फ्रन्ट अफिसमात्रै हो, अन्य अपराधलाई यसले ढाकछोप गर्न मद्दत पुर्याएकै हो ।” अब सरकारले लारीको सम्पत्ति छानविन गर्नुपर्ने उनी बताउँछन् ।
बिहीबार काठमाडौंबाट पक्राउ परेका लारीको चरेस तस्करी मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान जारी छ । आइतबार पुनः बयानका लागि उपस्थित गराउन अदालतले आदेश दिइसकेको छ । प्रहरीका अनुसार उनी विरुद्धको अभियोजन भने २० वर्षअघिकै प्रमाणका आधारमा पेश गरिने छ । जर्मनीमा बरामद भएको चरेस सम्वन्धि अनुसन्धान प्रतिवेदनमा प्रहरीले लारी होटलको आबरणमा चरेस विदेश पठाउने मूख्य तस्कर भएको उल्लेख गरेको छ । त्यसमा एभरेस्ट होटलका मजदुर, गाडी चालक र एयरलाइन्सका केही कर्मचारीलाई समेत मतियार र भरियाको रुपमा राखिएको थियो ।