किसानसँग लाखौं उठाएर फरार «

किसानसँग लाखौं उठाएर फरार

भोजपुर-फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने भन्दै भोजपुरका १३ सय किसानसँग लाखौं रकम उठाएको एसोसियसन अफ एग्रिकल्चर नेपालले फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस्थाले कृषकसँग १९ लाख ८ हजार रूपैयाँभन्दा बढी रकम उठाएर संस्था नै सम्पर्कविहीन भएको हो । एग्रिकल्चरले कृषकलाई उन्नत जातका विरुवा र तरकारीको बीउबिजन सहयोग गर्ने नाममा कृषकको लाखौं रूपैयाँ उठाएर फरार भएको हो ।
संस्थाले करारमा काम गर्दै आएका कर्मचारीकोसमेत चैतदेखिको तलव दिएको छैन । चार महिनाको तलव नपाउँदा कर्मचारीकोसमेत विचल्ली भएको छ । कर्मचारीले गाउँगाउँ गएर विभिन्न जातका फलफूल तथा रुखका विरुवा दिने सर्तमा यो रकम संकलन गरेका थिए । रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरू फरार भएको कर्मचारी चासुम राईले बताए ।
भोजपुर नगरपालिका–७ को च्यांविनी चोकमा कार्यालय स्थापना गरेर संस्था सञ्चालनमा थियो । संस्थाले वन संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका बीउबिजनहरू निःशुल्क वितरण, पशुपालनमा ५० प्रतिशतमा निब्र्याजी ऋण उपलब्ध गराउने बजार व्यवस्थापनसम्बन्धी सहजीकरण जस्ता कार्यक्रम गर्ने बताउँदै समूह गठन गरेर यो रकम उठाउन काममा पठाएको कर्मचारीहरूले बताएका छन् । संस्थाले भोजपुर नगरपालिका, पौवादुम्मा गाउँपालिका, रामप्रसाद राई, आमचोक, र साल्पासिलिछो गाउँपालिकामा कृषक समूह गठन गरेर प्रतिकृषक ५ सयदेखि २ हजारसम्म उठाएको थियो ।
कर्मचारीले संकलन गरेकोे रकमसमेत लिएर फरार भएपछि पीडित कर्मचारीले कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भोजपुरमा निवेदन दिएका छन् । कर्मचारीहरू चासुम राई, अञ्जना कटुवाल, सोमित खत्री, मनोज गिरी, वम प्रसाद राई, मनिका मगर, मिना कार्कीले निवेदन दिएका हुन् ।
निवेदनमा ४ महिनाको तलबसमेत नदिइ कृषकको रकमसहित लिएर फरार भएको उल्लेख छ । एसोसियसन अफ एग्रीकल्चर नेपालको केन्द्रीय अध्यक्ष गणेशदत्त भोजपुरका शाखा प्रमुख सुरजबहादुर थापा र कार्यक्रम संयोजक सुरजबहादुर थापाकी श्रीमती भद्रा खत्रीलगायत माथि छानबिन गर्न जाहेरीमा माग गरिएको छ । कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको संस्था जेठ २६ देखि बन्द छ । शाखा प्रमुख सुरजबहादुर थापाले श्रीमती बिरामी भएको र उपचार गराउन जानुपर्ने भनेर गएपछि कार्यालयमा नफर्केको कर्मचारी अञ्जना कटुवालले बताइन् । भाडामा लिएको घरको ५ महिनाकोे ७८ हजार रूपैयाँ लिन बाँकी रहेको घरधनी मीनकुमारी श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालयले पत्र प्राप्त भएकाले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सम्पर्क समन्वय गर्ने काम भइरहेको छ चाँडै परिणाम आउने बताए ।

प्रतिक्रिया दिनुहोस्